रोग जस्तोसुकै होस कमजोर वा बलियो क्षति त अवस्य गर्छ । आईएचयू नयाँ भेरियन्टको हल्ला चलिरहेको अवस्थामा ओमिक्रोनलाई पनि साधारण सोचेर बेवास्ता गर्ने भुल हामी कसैले पनि नगरौँ ।
विश्वभर अहिले कोभिड–१९ ले जनजीवन प्रभावित भैरहेको छ । बेला बेला कोभिड–१९ सुरूवाती अवस्था बिभिन्न (SARS–CoV–2), डेल्टा, डेल्टा प्लस भेरिएन्टहरु देखिने यो भाईरसको हालसालै निस्केको ओमिक्रोन पश्चात्त पुनः नयाँ भेरियन्ट फेला परेको छ ।
वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू)बारे पत्ता लगाएको खुलासा गरेका छन् । वैज्ञानिकहरुका अनुसार नयाँ भेरियन्ट आईएचयूले ४६ पटक रुप फेरिसकेको छ । यो मूल कोभिडको तुलनामा खोप प्रतिरोधी र निकै संक्रामक हुनसक्ने अनुमान गरिएको छ ।
आईएचयू भेरिएन्ट फ्रान्सको मारसेलमा भेटिएको हो । त्यहाँ अहिलेसम्म यो भेरिएन्टबाट १२ जना संक्रमित भएका छन् । ती १२ जनाअफ्रिकी देश क्यामरुनबाट फर्किएका थिए । हाल आईएचयू कति घातक र संक्रामक हुनेछ भनेबारे स्पष्ट भइसकेको छैन ।
हाल फ्रान्समा कोरोनाबाट संक्रमितको हुने संख्याको ह्वात्तै बढेको छ । नयाँ संक्रमितमध्ये पनि ६० प्रतिशत ओमिक्रोनबाट संक्रमित छन् । अमिक्रोन ले जस्तै (आईएचयू) ले पनि नेपाल अछुतो रहन भने पक्कै नसक्ला ।
मौसम पनी अनुकुल भएकोले अहिले विश्वभर कोभिड–१९ को ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ र वैज्ञानिकहरूले यो हालसम्मकै सबैभन्दा संक्रामक भेरियन्ट भएको संकेत गरिरहेका छन् । तर कोरोना भाइरसको यो प्रकारले विगतका भेरियन्टभन्दा मध्यम खालका लक्षणहरू देखाइरहेको छ र कोभिड–१९ लाई रुघाखोकी वा फ्लुसँग मिल्दोजुल्दो बनाएको छ ।
यद्यपि तिब्र गतिमा ओमिक्रोन फैलिरहेकाले यसले स्वास्थ्य प्रणालीमाथि दबाव कायमै राखेको छ । खोप नलगाएका र उच्च जोखिममा रहेका समूहहरूका लागि यो चिन्ताको विषय रहिरहेको छ । तर हामीले कोभिड–१९ र श्वासप्रश्वास सम्बन्धी अन्य संक्रमणबीच कसरी फरक पत्ता लगाउन सक्छौँ त ?
ओमिक्रोनका लक्षण
किङ्गस कलेज लन्डनका जो कभिड स्टडी नामक संस्थाको नेतृत्व गरिरहेका इपिडिमियोलोजिष्ट डाक्टर टिम स्पेक्टरका अनुसार खोप लगाएका मानिसहरूमा देखिएका डेल्टा भेरियन्टसँग मिल्दोजुल्दो रूपमा ओमिक्रोनलाई ठान्न सकिन्छ ।
स्पेक्टर र उनका सहकर्मीहरूले एउटा एपमा आफूलाई देखिएका लक्षण उल्लेख गरेका हजारौँ मानिसहरूबाट तथ्यांक संकलन गरिरहेका छन् । उनीहरूले डेल्टा भेरियन्ट र ओमिक्रोन भेरियन्टका लक्षणहरूको विश्लेषण गरेका छन् ।
अहिलेसम्म पाँचवटा आम र समान लक्षणहरू यस्ता छन्ः
–नाकबाट पानी बग्ने
–टाउको दुख्ने
–शरीर गल्ने (मध्यम वा गम्भीर)
–हाच्छिउँ आउने
–घाँटी दुख्ने
मध्यम खालको लक्षण देखिनुको कारण मुख्य रूपमा अधिकांश मानिसहरूले खोप लगाएका वा अरू कारणले रोग प्रतिरोधी क्षमता हासिल गर्नाले हो ।
अहिले नै ओमिक्रोनले खोप नलगाएका र प्रतिरोधी प्रणाली कमजोर रहेका व्यक्तिहरूमा कस्तो प्रभाव पार्छ भन्नु हतार हुन्छ । अहिले भन्ने गरिएका ओमिक्रोन भेरियन्टका लक्षणहरू रुघाखोकीसँग मिल्दोजुल्दो भएकाले धेरै मानिसहरूलाई आफूलाई कोभिड–१९ नभएको लाग्न सक्छ । यसको अर्थ ओमिक्रोन द्रुत रूपमा फैलिरहेको क्षेत्रमा हाल संक्रमण उच्च देखिएको सामान्या रुघाखोकीको लक्षण भएका व्यक्तिमा कोभिड–१९ संक्रमण भइरहेको हुनसक्छ ।
तपाईँलाई आफू भाइरसबाट संक्रमित भएको लागेमा सबैभन्दा महत्वपूर्ण कुरा तुरुन्तै परीक्षण गराउनु हो । मध्यम वा कुनै पनि लक्षण नभएका व्यक्तिले पनि अरूलाई जोखिममा पार्न सक्छन् । यसअघि कोभिड–१९ का भेरियन्टहरूका लक्षण ज्वरो, रुघाखोकी र स्वाद तथा गन्ध हराउने रहेका थिए । तर अधिकांश मानिसहरूले नयाँ संक्रमणमा ती ‘परम्परागत लक्षण’ नरहेको बताइरहेका छन् ।
कुन लक्षणलाई लिएर चिन्तित हुनुपर्छ ?
ब्रिटिश न्याश्नल हेल्थ सर्भिसेज एनएचएसले सबैलाई निम्न लक्षणहरूबारे सचेत रहन सुझाव दिएको छ ।
–अकस्मातको निरन्तर खोकी
–ज्वरो वा उच्च तापक्रम
–स्वाद वा गन्ध हराउनु वा परिवर्तन हुनु ।
तर कतिपयका लागि कोभिड–१९ ‘नराम्रो रुघाखोकी’ जस्तो बन्न सक्छ जसमा टाउको दुख्ने, घाँटी दुख्ने र नाकबाट पानी बग्ने लक्षण हुन्छन् ।
के ज्वरो कोरोना भाइरसको अकाट्य लक्षण हो ?
३७ दशमलव ८ डिग्रीभन्दा माथिको जुनसुकै अवस्थालाई उच्च तापक्रम मानिन्छ । ज्वरो मानिसले कोभिड–१९ मात्रै नभएर जुनसुकै संक्रमणसँग जुझिरहँदा पनि देखापर्न सक्छ । थर्मोमिटरको प्रयोग गर्नु सबैभन्दा उपयुक्त हो । तर यदि तपाईँसँग छैनभने आफ्नो छाती वा शरीरको पछाडिको भाग तातो छ कि छैन भनेर छाम्नुहोस् । रुघाखोकीका कारण ज्वरो आउने सम्भावना कम हुन्छ । त्यही भएर यदि तपाईँलाई ज्वरो आएको छ भने परीक्षण गराउनुहोस् ।
खोकी लक्षण हो ?
यदि तपाईँलाई फ्लु भएको छ वा चिसो लागेको छ भने तपाईँमा खोकी र अन्य लक्षणहरू देखा पर्न सक्छन् । अधिकांश अवस्थामा फ्लु एकाएक देखिन्छ । पीडितहरूको मांसपेशी दुख्ने, जाडोले शरीर काँप्ने, टाउको दुख्ने, शरीर गल्ने, घाँटी दुख्ने र नाकबाट पानी बग्ने वा नाक बन्द जस्तो हुने लक्षण खोकीसँगै देखिन्छन् ।
रुघाखोकी बिस्तारै बढ्दै जान्छ र कम गम्भीर हुन्छ । यद्यपि त्यसले बिरामी भएको महसुस गराउनसक्छ । खोकीसँगै हाच्छिउँ आउने, घाँटी दुख्ने वा नाकबाट पानी बग्ने भएपनि ज्वरो, जाडोले शरीर काँप्ने, मांसपेशी दुख्ने वा टाउको दुख्ने लक्षण हतपत देखा पर्दैन । कोभिड–१९ मा खोकी लाग्दा एक घण्टामा धेरै पटक खोकी लाग्छ । चौबिस घण्टाको अवधिमा तीन वा त्योभन्दा बढी पटक अनियन्त्रित किसिमको खोकी देखापर्छ । यदि तपाईँलाई नयाँ र निरन्तर खोकी देखियो भने तपाईँले परीक्षण गराउनुपर्ने हुन्छ ।
तपाईँले स्वाद वा गन्ध गुमाउनुभयो भने त्यसको अर्थ के हुन्छ ?
स्वाद वा गन्ध गुम्नु कोभिड–१९ को प्रमुख लक्षण हो र यसको अर्थ तपाईँले परीक्षण गराउनुपर्छ । तपाईँलाई सामान्य रुघाखोकी मात्रै भएको पनि हुनसक्छ । तर संक्रमण अरूमा फैलन नदिन तपाईँले परीक्षण गराउनैपर्छ ।
हाच्छिउँ आउनुको अर्थ कोरोना भाइरस लाग्नु हो ?
हाच्छिउँ आउनु कोरोना भाइरसको मूल लक्षण होइन । तपाईँलाई ज्वरो, खोकी वा स्वाद गुमेको र शरीर कमजोर भएको जस्तो महसुस भएको छैन भने त्यसबाट कुनै समस्या नहुनु सक्छ । तर हाच्छिउँले संक्रमण सार्न सक्छ त्यही भएर खोक्दा टिस्युको प्रयोग गर्नुस् र त्यसपछि आफ्नो हात धुनुहोस् ।
नाकबाट पानी बग्यो वा नाक बन्द भयो भने के गर्ने ?
यो कोरोना भाइरसको एउटा प्रमुख लक्षण हैन तर विभिन्न अनुसन्धानहरूले संक्रमित देखिएका मानिसहरूले यस्तो लक्षण महसुस गरेको संकेत गरेका छन् । स्वास्थ्य सम्बन्धी मापदण्डमा नाकबाट पानी बग्ने वा नाक भरिएको अवस्थालाई कोरोना भाइरसको सम्भावित लक्षणका रूपमा उल्लेख गरिएको पाइन्छ ।
के म ओमिक्रोनका कारण गम्भीर बिरामी बन्न सक्छु ?
प्रारम्भिक तथ्याङ्क र अध्ययनले ओमिक्रोन भेरियन्ट विगतका भेरियन्टहरूभन्दा कम घातक रहेको देखाएको छ । आंशिक रूपमा भाइरसको उत्परिवर्तनका कारण यस्तो भएको हो । तर मूल रूपमा खोपबाट प्राप्त भएको सुरक्षा र प्राकृतिक रूपमा रोगप्रतिरोधी क्षमता देखा पर्दा यो अवस्था आएको हो ।
तर जुन गतिमा अहिले ओमिक्रोन संक्रमण फैलिरहेको छ त्यो चुनौती हो र धेरैजना विशेष गरी विगतमा निश्चित समस्या देखिएका बिरामीहरू जोखिममा पर्न सक्छन् । कोरोना भाइरस भएका मानिसहरूलाई मध्यमदेखि गम्भीर प्रकारका लक्षणहरू देखा पर्न सक्छन् । कतिपयलाई कुनै पनि लक्षण नदेखिएपनि उनीहरूमा संक्रमण भइरहेको हुन्छ । कोरोना भाइरस भएका व्यक्तिसँग सम्पर्क भएको दुई हप्तापछिसम्म पनि लक्षण देखिन सक्छन् तर अधिकांश अवस्थामा करिब पाँच दिनबाट लक्षण देखिन्छ ।
सास फेर्न अप्ठेरो हुनु गम्भीर प्रकारको संक्रमणको लक्षण हो । ओमिक्रोनको तेस्रो लहरको करिब करिब मुखैमा छौँ हामी । रोग जस्तोसुकै होस कमजोर वा बलियो क्षति त अवस्य गर्छ । आईएचयू नयाँ भेरियन्टको हल्ला चलिरहेको अवस्थामा ओमिक्रोनलाई पनि साधारण सोचेर बेवास्ता गर्ने भुल हामी कसैले पनि नगरौँ । सुरक्षित होऔँ, सुरक्षित रहौँ, भइपरि आउने अवान्छनिय दुर्घटना र क्षतिबाट तपाईँ पनि बच्नुस् र अरूलाई पनि बचाउनुस् ।





