शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरा महानगरको १० औं नगरसभा : ४ संशोधनसहित ५ विधेयक पारित

पोखरा महानगरको १० औं नगरसभा : ४ संशोधनसहित ५ विधेयक पारित

पोखराका मेयर जिसीले रुँदै भने– ‘तपाईँहरुलाई यो अन्तिम मौका हो मन लाएर काम गर्नुहोस्’


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७८, शनिबार

पोखरा\पोखरा महानगरपालिकाको १० औं नगरसभाले ५ विधेयक पारित गरेको छ ।
शुक्रबार पोखरा सभागृहमा सम्पन्न सभाले ५ वटा विधेयक पारित गरेको हो । सभाले ४ विधेयक संशोधन गरेको हो भने १ नयाँ विधेयक पारित गरेको हो । शुक्रबारको सभाले कर्मचारी सेवा विधेयक २०७८ पारित गरेको हो । यस्तै बालिबालिका अधिकार व्यवस्थित गर्न बनेको ऐनको दोस्रो संशोधन, खेलकुद विकास समिति खर्च निर्देशिका प्रथम संशोधन, पोखरा प्रज्ञा प्रतिष्ठान ऐनको प्रथम संशोधन, आर्थिक वर्ष कार्यक्रम संशोधन गरिएको छ । नगरसभाले आ.वं ०७८÷७९ को चालु वार्षिक विनियोजित वजेटबाट अत्यावश्यक योजनामा वजेट रकमान्तर गर्न उपप्रमुख मञ्जुदेवी गुरुङबाटसभा समक्ष संशोधन प्रस्ताव पेश भएकोमा नगरसभाले सो संशोधन प्रस्तावलाई पनि पारित भएको छ ।
यसअघि नगरसभालाई संवोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पोखराको विकासका लागि प्रदेश सरकार र महानगर मन खुलेर समन्वय गर्नुपर्ने खाँचो रहेको बताए । उनले स्थानीय तहको निर्वाचन मितिको घोषणासँगै जनप्रतिनिधिहरुलाई आफूहरु कार्यकालको अन्तिम कालखण्डमा रहेको स्मरण पनि गराए । कार्यकाल सकिँदै गर्दा आग्रह–पूर्वाग्रह नराखी समीक्षासहित दस्तावेज तयार गर्न उनले आग्रह पनि गरे । दस्तावेजहरु आउँदा दिनमा निर्देशिका बन्ने उनको भनाइ थियो । पोखरा महानगरलाई औपचारिक रुपमा नै नेपालकै पर्यटकीय राजधानी बनाउनका लागि केन्द्र सरकारसमक्ष कुरा गरिरहेको सुनाउँदै मुख्यमुन्त्री नेपालीले पोखराको सुन्दरता र पर्यटकलाई पोखरामा सुरक्षित महशुस गर्ने किसिमले सुरक्षा दिन प्रदेश र महानगरले हातेमालो गर्नुपर्नेमा जोड दिए । शिक्षा स्वास्थ्यमा गण्डकी प्रदेश अघि रहे पनि आर्थिक कारोबारमा भनेपछि नै रहेको सुनाए । गण्डकी प्रदेशलाई सम्मुनत प्रदेश बनाउन पोखरालाई आर्थिक कारोबार केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको छ । गण्डकी प्रदेशमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य रहे पनि कोभिड महामारीका कारण नसकिएको छैन् । प्रदेशले अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारीका लागि पहल गरेता पनि पोखराको डम्पिङ क्षेत्रको व्यवस्थापन नहुँदा चुनौती खेप्न परेको मुख्यमन्त्री नेपालीले सुनाए । उनले फेवाताल मापदण्डको विषयलाई उठाउँदै प्रतिपक्षी हुँदा आफुहरुले पनि प्रश्न गरेको र अहिले सत्तामा जाँदा अर्को पार्टीले पनि त्यही प्रश्न गरेका कारण महानगर र प्रदेश मिलेर यसको समाधान गर्नुपर्ने बताए । ‘समस्या जहाँको त्यहीँ छ । हामी प्रतिपक्षमा हुँदा पनि प्रश्न गरेका थियौँ, अहिले सरकारमा हुँदा पनि प्रश्न सुन्न परेको छ । फेवातालको मापदण्डमा परेका जग्गा त्यसै राख्न हुँदैन’, उनले भने,‘यसलाई व्यवस्थापन गर्न ३४ करोड रुपैयाँ लाग्छ । यसका लागि प्रदेश र महानगर सहकार्यमा जाऔँ समाधान हुन्छ । जबसम्म महानगर र प्रदेशबीच दिल खुलेर समन्वय हुँदैन, तबसम्म विकास हुँदैन ।’
महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले नयाँ शासन व्यवस्था र ऐनका कारण प्रतिबद्धता गरेका सबै काम गर्न नसकिएको बताइन् । उनले पहिलो एक वर्ष अवसर र चुनौतीका बीच कार्यक्रमको योजना बनाउँदै गएको सुनाउँदै दोस्रो वर्षमा कानून निमार्ण गरेर जादाँ तेस्रो वर्ष लाग्दा कार्यान्वयन गर्न खोज्दा कोरोना महामारीले विथोलिदिएको बताइन् । महानगरले बनाएको विधेय मास्टर विधेयकको रुपमा हुनुपर्नेमा सबैको साथ र सहयोगको आवश्यक रहेको सुनाइन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक तथा वडा ८ का वडाध्यक्ष रामराज लामिछानेले विधेयकहरु हतारमा बन्दा बारम्बार संशोधन गर्नुपर्ने बाध्यता आइलागेको बताए । उनले महानगरमा जनप्रतिनिधिको अन्तिम कार्यकाल रहेको अवस्थामा ५ वर्ष यसै बितेको सुनाए । उनले पोखराको विकासमा जनप्रतिनिधि चुकेको बताए । कानून बनाएर मात्र केही नहुने र त्यसलाई कार्यान्वयमा ल्याएमा मात्र त्यसको औचित्य रहने उनको भनाई थियो । लामिछानेले गरीब विद्यार्थीका लागि ल्याइएको छात्रवृत्तिमा महानगरका केही व्यक्तिले आसेपासेलाई मात्र दिँदा वास्तविक गरीब विद्यार्थीले नपाउँदा धनीका छोराछोरीले मात्र पाएको आरोप लगाए । उनले महानगरको विकास नभई कमिशन खाने खेल हुँदा विकास निर्माणमा महानगर चुकेको आरोपसमेत लगाए । महानगरले परिकल्पना गरेको स्मार्ट सिटी, हरियो र सफा सहर, बसपार्कजस्ता योजनामा असफलता हात परेको बताए । पोखरालाई केही जनप्रतिनिधिले कमिसन खाने क्षेत्रको रुपमा लिँदा कुरुप बनेको आरोप लगाए । उनले महानगरको नभई केही व्यक्तिको मात्र विकास हुने काम भएको बताए ।
विधायन समिति सचेतक तथा वडा १९ का वडाध्यक्ष शोभा मोहन पौडेलले भने महानगरले धेरै विकास गरेको बताए । उनले महानगरले ४ वर्षमा १२३ विधेयक निर्माण गरेको सुनाए । उनले ४४ ऐन, २२ नियमावली, ३१ कार्यविधि, २२ निर्देशिका र ४ नीति निर्माण गरेको जानकारी दिए । उनले पोखरालाई समृद्ध बनाउनका लागि रिङ रोडको आवश्यक रहेको बताउँदै प्रदेश सरकारलाई आवश्यक सहयोगका लागि आग्रहसमेत गरे । उनले फेवातालको मापदण्ड निर्धारण नहुँदा समस्यामा परेका जग्गा धनीको समस्याको सधैँ लागि समाधान हुने कार्यपालिकाको बैठकले निर्णय गरेको सुनाए । उनले फेवातालको संरक्षण गर्ने र निकास दिने बैठकले निर्णय गरेको बताए ।
पोखराका मेयर जिसीले रुँदै भने– ‘तपाईँहरुलाई यो अन्तिम मौका हो मन लाएर काम गर्नुहोस्’
शुक्रबार पोखरा सभागृहमा पोखरा महानगरपालिकाको दशौँ नगरसभाको उद्घाटन चलिरहेको थियो । हिउँदे अधिवेशन भएकाले महानगरले ४ विधेयकमाथि छलफल गरी पारित गर्ने योजनामा रहेको छ ।
नगरसभाको उद्घाटन सत्र समापन गर्ने क्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी भने निकै भावुक हुँदै भक्कानिएर रोए । उनले कोरोना महामारीबाट बच्नु नै सबैभन्दा ठूलो कुरा रहेको सुनाउँदै विषम परिस्थितिमा सबैभन्दा पहिला जनप्रतिनिधि नै कोरोना महामारीविरुद्ध खटिएको भन्दै धन्यवाद दिए । उनले सानो नेतृत्वलाई जनताले ठूलो विश्वास गर्दै कोरोना महामारीको समयमा सबैभन्दा पहिला जनप्रतिनीधिलाई नै सम्पर्क गरेको बताए । उनले अब महानगरमा नेतृत्व गर्ने अवसर सकिन लागेकाले पुनः एकपटक सबैले राम्रो तरिकाले जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘सबैलाई आफ्नो कार्यकालमा केही गरौँ भन्ने अवश्य हुन्छ । हामीले अब एकपटक मौका पाएका छौँ । यसलाई भरपूर प्रयोग गरौँ’, उनले भने,‘यो सभालाई गफ गर्ने थलोको रुपमा नलिऔँ, काम गर्ने थलोको रुपमा लिऔँ । सबैले अन्तरआत्माबाट नै पोखराका लागि काम गर्ने सोचेर उत्कृष्ट योजनाहरु ल्याउनुहोस् हामी सहयोग गर्छौँ ।’ उनले पोखराका सवालमा प्रदेश र महानगरको साझेदारी नै महत्वपूर्ण रहेको बताए । त्यसपछि उनी भावुक हुन्छन् । ‘यहाँ धेरै कुरा नभनौँ होला । किन भन्दा मलाई आज यसैमा खुसी छ म पनि अहिले कोभिड पीडित व्यक्ति भएको कारणले यसै पनि भेटघाट हुन्छ की हुन्न भन्ने लाइराखेको थियो… । त्यसपछि उनी भक्कानिन्छन् । भेट हुन पाइयो । आसुँ रोक्न सक्दैनन् र भन्छन्, यो सभालाई सबैले मिलेर राम्रो र सफल पारौँ । आजका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यूलाई पनि हार्दिक धन्यवाद दिन चाहान्छु । समय निकालेर आइदिनुभयो । संवोधन गरिदिनुभयो धन्यवाद ।’ त्यति भनेर उनी फेरि भक्कानो छाडेर रुन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->