पोखरा\कोभिड महामारीसँगै गण्डकीका सबै जिल्लामा अक्सिजन प्लाण्ट स्थापना अभियान अघि बढ्यो । अक्सिजन प्लाण्ट जोडियो पनि । तर, दक्ष प्राविधिक नभएका कारण धेरै जिल्लाका प्लाण्ट त्यत्तिकै थन्किए । त्यसो त, स्वास्थ्य संस्थामा उपकरण जडान गर्ने तर बिग्रिएपछि त्यत्तिकै मिल्काउने प्रचलन नौलो चाहिँ हैन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमै सिटी स्क्यान लगायतका मेसिनहरुको वर्षौंसम्म थन्किने र सेवाग्राही निजीमा धाउनुपर्ने बाध्यता छ ।
एनेस्थेसिया, सिटीस्क्यान, एमआरआई, एयरकण्डिसन, आइसीयू, भेण्टिलेटर लगायतका सामान थन्किएका छन् । ती सामान मर्मत गरेर चलाउन सकिन्छ । तर, भएका उपकरणलाई मर्मत गर्नेतर्फ अस्पताल प्रशासनले ध्यान नै दिँदैन । कतिपय उपकरण मर्मतको जनशक्ति नै बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । मेसिन हुने तर प्राविधिक नहुँने पीडा अर्कोतिर छँदैछ । उपकरणहरुको जडान, मर्मत र प्राविधिक सहयोगको जिम्मा बायोमेडिकल इञ्जिनियरको हुन्छ । तर, नेपालमा बायोमेडिकल इञ्जिनियरको संख्या नै कम छ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल अस्पतालमा समेत बायोमेडिकल इञ्जिनियर छैनन् । अस्पताल विकास समितिले स्वास्थ्य मन्त्रलायसँग इञ्जिनियरको माग गरेको छ तर इञ्जिनियर पठाइएको छैन ।
‘बायोमेडिकल इञ्जिनियरको ठूलो आवश्यकता छ’, अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले भने, ‘अहिले एकजना इञ्जिनियर र ओभरसियर राखेका छौं तर उहाँहरुले मात्रै सबै काम भ्याउनुहुन्न ।’
गण्डकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि केही समय अगाडि बायोमेडिकल इञ्जिनियरको माग ग¥यो । तर, त्यसमा कसैको निवदेन परेन । मन्त्रालयका प्रवक्ता डाक्टर नारायण श्रेष्ठका अनुसार गण्डकी सरकारसँग अहिले २ जना मात्र बायोमेडिकल इञ्जिनियर छन् । उनीहरुले नयाँ उपकरण चाहिँदा योजना बनाउँछन् । मर्मतको लागि चाहिने जनशक्तिको त्यहाँ पनि अभाव छ । उनका अनुसार जनशक्ति नभएकै कारण धेरै जिल्लामा बनाइएको अक्सिजन प्लाण्ट संचालनमा आउन सकेको छैन भने बिग्रिएका उपकरण थन्किएका छन् ।
अक्सिजन प्लाण्ट संचालनमा नआउनुमा चाहिँ प्राविधिक पक्षसमेत कारक रहेको उनले प्रष्टयाए । ‘अक्सिजन प्लाण्ट २ हजार घण्टा चलाएपछि त्यसको फिल्टर फेर्नुपर्ने रहेछ’, उनले भने, ‘तर, ५ लाख पर्ने रहेछ । मन्त्रालयसँग बजेट सीमित हुन्छ । आर्थिक वर्षको बीचमा मागे पनि पाइँदैन, त्यसैले पनि समस्या पारेको छ ।’ उनले जिल्लाहरुमा बिग्रिएका उपकरण मर्मतको समस्या बेग्लै भएको पनि बताए । म्याग्दीको बेनीमा लामो समय एक्सरे मेसिन बिग्रिएको दृष्टाष्टसँगै उनले भने, ‘त्यहाँबाट त नयाँ माग्नुभएको छ तर कतिपय ठाउँमा मर्मत हुन्छ कि हुँदैन भन्ने थाहा पाउन पनि समय लाग्ने अवस्था छ ।’
उनका अनुसार बायोमेडिकल इञ्जिनियरको अभाव कम गर्न अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुमा बायोमेडिकल टेक्निसियन विषयको पढाइ सुरु गरेको छ । प्लस टु सकेपछिका विद्यार्थीहरुको लागि दिइने तालिम १८ महिने भएको उनले बताए ।
समस्या समाधानको लागि गण्डकीकी स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले प्रदेशका अस्पतालहरुमा बायोमेडिकल इञ्जिनियरको व्यवस्था गरिने घोषणा गरेकी छन् । उनले अस्पताल र अस्पतालमा उपकरणमा मात्र जोड दिने तर उपकरण बिग्रिएपछि बनाउन वर्षौं लाग्ने अवस्थाको अन्त्य गर्न जरुरी देखिएको पनि बताइन् ।





