बागलुङ\धौलागिरि बहुमुखी क्याम्पसको परीक्षाफल खस्कदै गएको छ । क्याम्पसका अधिकांस तहमा परीक्षा उत्तिर्ण गर्ने दर घटेर १६ प्रतिशतमा सिमित भएको हो ।
कतिपय संकायमा २० प्रतिशत भएपनि अधिकासमा त्यो भन्दा कमी रहेको क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । कतिपय संकायमा त पहिलो दोश्रो बर्षको परीक्षाफल सन्तोषजनक छैन ।
अन्तिम बर्षमा आइपुग्दा मात्रै उनीहरुले उत्तिर्ण दर केही सुधारेको देखिन्छ । ‘केन्द्रीय क्याम्पसमै उत्तिर्ण दर घटेको छ भने हाम्रो घट्नु स्वभाविक हो’ उपाध्यायले भने, ‘राज्यको लगानी बढाउने, विद्यार्थीलाई अनुसन्धान क्षेत्रमा लगाउने र पढाइको गुणस्तर सुधारे मात्रै उत्तिर्ण दर बढ्ने देखिन्छ । यो क्याम्पसमा अधिकांस आंशिक शिक्षकको भरमा पढाई गरिएको छ ।
दरबन्दी अभावले शिक्षण क्षेत्रमा व्यापक असर परेको उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार शैक्षिक शत्र २०७५ मा २ सय ८२ बिद्यार्थी उत्तिर्ण गरेको क्याम्पसले २०७६ मा २ सय २५ र २०७७ सालमा जम्मा ८८ जना बिद्यार्थी मात्रै उत्तिर्ण भएका छन् । व्यवस्थापन संकायको स्नातक पहिलो बर्ष ५ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् ।
यस्तै, शिक्षा संकायमा ६ प्रतिशत, विज्ञान संकायको पहिलो बर्ष १६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् । विद्यार्थी संख्या पनि हरेक बर्ष घट्दो दरमा छ । मानविकी र शिक्षा संकायमा विद्यार्थी संख्या न्युन भएको हो । ‘कक्षामा उपस्थित भएरै पढ्ने त चारपाँच जना मात्रै हुन्छन्, तर उनीहरु उत्तिर्ण पनि भएका छन्’ उपाध्यायले भने, ‘उच्च शिक्षामा पनि कक्षा छाड्ने दर ४० प्रतिशत बढी छ ।’ भर्ना भएकामध्ये फारम नभर्ने र भरेकाले परीक्षा नदिने बढीरहेको उनले बताए ।
स्नातकोत्तर तहमा एमविएस, एमएड, मानविकीको समाजशाष्त्र र नेपाली कक्षा छन् । तर ती कक्षामा पनि अत्यन्त न्युन संख्याको उत्तिर्ण दर छ । एमबिएसमा गत बर्ष १ जना मात्रै उत्तिर्ण भएका थिए । सबैभन्दा धेरै एमएडमा १२ जना र एमएमा ७ जना मात्रै उत्तिर्ण भएको क्याम्पसको तथ्यांक छ । बिज्ञान संकायतर्फ त कोर्ष नसकी परीक्षामा जानुपरेको एक बिद्यार्थीले गुनासो गरे । उनीहरुले ६० देखि ७० प्रतिशत पढाइबाटै परीक्षा दिनुपर्ने बाध्यता भएको बताएका हुन् । आंशिक शिक्षकको भरमा पढ्नुपर्ने र तोकिएको समयसम्म पढाइ नहुने अवस्थाले बिद्यार्थीले कोर्स नसक्दै परीक्षा दिन बाध्य भएका हुन् ।
१२ वर्षअघि स्थापना भएको विज्ञान संकायमा अहिलेसम्म एक जना पनि दरबन्दीका प्राध्यापक छैनन् । सबै आंशिक शिक्षकले संकाय धानेका छन् । विज्ञान संकायका प्रमुख प्रकाश प्रसाद सापकोटाले भने बिद्यार्थीहरु जागिरे भएकोले छिटै फर्कंदा कोर्ष केही नसकिएको बताए । ‘९ बजेपछि बिद्यार्थी हिड्छन्, पढाइ हुँदैन’ उनले भने, ‘सकेसम्म कोर्ष सक्न खोजेका छौं ।’
बिद्यार्थीले भने आंशिक शिक्षकहरु अन्यत्र जागिरको खोजीमा हिंडेर पढाइ नभएको गुनासो गर्छन् । ‘हामी बस्छौं, शिक्षकहरु बिद्यालय चाहर्छन्’ बिएस्सीका एक बिद्यार्थीले भनिन्, ‘बिज्ञान संकायलाई स्थायी शिक्षक दिनुपर्छ ।’ क्याम्पसको रुटिन बिहान ६ देखि १२ बजे सम्मको तोकिएको छ ।
शिक्षक दरबन्दी अभावमै चालु बर्ष ६६ जनाले नाम निकालेर पनि ३३ जना विद्यार्थीले बिविए पढ्न नपाउने अवस्था भएको छ । बागलुङमा परीक्षा दिएर उत्तिर्ण भएर पनि विद्यार्थीले पढ्न नपाउने अवस्था आएको हो । ‘विद्यार्थी चाप भएको संकायमा सबै आंशिकले धानेका छन्, स्थायी शिक्षकको बिषयमा विद्यार्थी नै छैनन्’ आंशिक प्राध्यापक संघका अध्यक्ष बिष्णु चापागाईले भने, ‘न आयोग खुल्छ, न आंशिकलाई करार गरेर पढाउने वातावरण बनाइन्छ ।’ उनले त्रिवि नियमाबलीमा १ वर्ष आंशिक पढाएको शिक्षकको बिषय निरन्तरता दिनुपरेमा करार गर्नुपर्ने प्रावधान भएपनि क्याम्पसले पालना नगरेको टिप्प्णी गरे ।





