पोखरा/ कास्की जिल्लामा रहेको सामुदायिक विद्यालयहरुबीच भलिबल प्रतियोगिता हुने भएको छ ।
कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरा रंगशालामा चौथो कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो । भलिबल खेलको विकास ग्रासरुटबाटै हुनुपर्छ भन्ने मान्यताका साथ दुई संघको आयोजनामा विद्यालयस्तरीय प्रतियोगिताको आयोजना हुन लागेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
आइतबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पराजुलिले नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि यसरी विद्यालय स्तरबाट प्रतियोगिता हुन निकै आवश्यक रहेको बताए ।
आगामी चैत ४ गतेदेखि सञ्चालन हुने प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिताको विजेता विद्यालयले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाभरबाट करिब ५० टिमको सहभागिता रहने अनुमान गरिएको छ ।सृजना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले लामो इतिहास बोकेको क्लबले शिक्षाका साथसाथै खेलकुदको विकासमा समेत कदम चाल्न सुरु गरेको बताए ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि कक्षा ९ देखि कक्षा १२ मा अध्ययन गर्दै गरेका विद्यार्थी हुनुपर्नेछ । प्रतियोगितामा विद्यालयले बाहिरी खेलाडी हाल्न सक्ने भन्दै कडा नियमसमेत बनाएको खेल अनुशासन तथा टिम छनोट समितिका संयोजक योगेन्द्र बस्नेतले जाकारी दिए । ‘
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई समान ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भरलाई १÷१ थान भलिबल प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च लाग्ने र १० लाख ५० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ भने प्रतियोगिताबाट बचत हुने ५० हजार रुपैयाँ भलिबल खेलक विकास र विस्तारमा खर्च गरिने प्रथम उपाध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिए । प्रतियोगिता चैत ४ गतेदेखी ७ गतेसम्म सञ्चालन हुनेछ ।





