आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

व्यास अल्ट्रा म्यारथनको उपाधि वेदबहादुरलाई

व्यास अल्ट्रा म्यारथनको उपाधि वेदबहादुरलाई


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०७८, आइतबार

तनहुँ/ पाँचौँ संस्करणको व्यास अल्ट्रा म्याराथनको उपाधि वेदबहादुर सुनुवारले जितेका छन् । शनिबार व्यास नगरपालिकाले आयोजना गरेको म्याराथनको निर्धारित दुरी दुई घण्टा ५८ मिनेट ७ सेकेन्डमा पार गर्दै सुनुवारले उपाधि जितेका हुन् । उनले उपाधिसँगै नगद ८५ हजार ७८ रुपैयाँ प्राप्त गरेका छन् ।

सुनुवार गत संस्करणमा तेस्रो स्थान हासिल गरेका धावक हुन् । सुनवारले तीन घण्टा १० मिनेट ५ सेकेन्डमा दुरी पार गर्दै गत बर्ष तेस्रो स्थान हासिल गरेका थिए ।

व्यास नगरपालिका–५ मानहुँकोटबाट सुरु भएको म्याराथन दमौली, कलेस्ती, वगुवा, रिस्ती हुदैँ व्यास नगरपालिका–८ पुलिमराङ शहिद गाउँमा पुगेर टुंगिएको हो । ४४ किलोमिटर दुरीमा धावकहरु धौडिएका हुन् ।

तीन घण्टा पाँच मिनेट ५१ सेकेन्डमा दूरी पार गर्दै मोहनदेव जोशी दोस्रो भए । नवराज साउदले तीन घण्टा नौ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । दोस्रो र तेस्रोले क्रमश ः नगद ६५ हजार ७८ रुपैयाँ र ५५ हजार ७८ रुपैयाँ प्राप्त गरे ।

सुमन कुलुङ राईले तीन घण्टा १८ मिनेट ५७ सेकेन्ड, गोपाल तामाङले तीन घण्टा २४ मिनेट १५ सेकेन्ड, दुर्गाबहादुर बुढाले तीन घण्टा २५ मिनेट १३ सेकेन्डमा, शेरबहादुर थारुले तीन घण्टा २५ मिनेट २६ सेकेन्ड र प्रमिश गुरुङले तीन घण्टा २६ मिनेट १ सेकेन्डमा ४४ किलोमिटर दुरी पार गर्दै सान्त्वना स्थान हासिल गरे । सान्त्वना स्थान हासिल गरेका पाँच जनाले जनही नगद १६ हजार ७८ रुपैयाँ पाएका छन् ।

गत वर्ष चौथो संस्करणको व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महताराले तीन घण्टा तीन मिनेट ५१ सेकेण्डमा पार गर्दै जितेका थिए । सुमन कुलङ राईले तीन घण्टा आठ मिनेट एक सेकेन्डमा दुरी पार गर्दै दोस्रो भएका थिए । राई व्यास अल्ट्रा म्याराथनको तेस्रो संस्करणको उपाधि विजेता पनि हुन् । म्यारथनमा विदेशी सहित १७३ जना धावक दौडिएका थिए ।

व्यास नगरपालिकाले हरेक बर्ष १६ माघ शहिद दिवसको दिन आयोजना गर्दै आईरहेको व्यास अल्ट्रा म्याराथन कोरोनाको तेस्रो लहरको संक्रमण तिब्र गतिमा फैलिएपछि स्थगीत गरेर शनिबार गरेको हो । २४ फागुनमा नारी दिवसमा अवसरमा व्यास नगरपालिको दोस्रो महिला हाफ म्याराथन आयोजना गरेको थियो । कान्छीमाया कोजुले हाफ म्याराथनको उपाधि जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->