
पोखरा/सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा आउँदो शुक्रबारदेखि प्रतियोगिता हुँदैछ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विगत ४ वर्षदेखि हुँदै आएको प्रतियोगिताको यो चौथो संस्करण हो । प्रतियोगिताको तयारी स्वरुप अहिले टिम दर्ताको काम अन्तिम चरणमा पुगेको आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
टीम दर्ताको काम सकिएलगत्तै बुधबार नै टाइसिट निकालिने सृजना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिए । भलिबलको जग मानिने सामुदायिक विद्यालयमा भलिबल खेलमा पुनःजागरण ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउनेछन् । कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमले सहभागिता जनाउन सक्ने संघका अध्यक्ष पराजुलीले बताए । ५० टिमले सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।
प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई एक÷एक लाख, उपविजेतालाई ५०÷५० हजार र तृतीय हुने विद्यालयलाई ३०÷३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५÷५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १÷१ थान भलिबल प्रदान गरिने छ दुई उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति, १० जनालाई ३ महिने डाइट सामग्री प्रदान गरिने पनि उनले जनाए ।





