शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

गोठमा बास, छैन खाने गास

गोठमा बास, छैन खाने गास


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७८, शनिबार

म्याग्दी/भनिन्छ– ‘८४ वर्ष पार गरेका वृद्धवृद्धा देवता स्वरुप हुन्छन् ।’ सांसारिक मोह,माया,प्रलोभन र प्रपञ्चबाट पर भइ भगवानको स्मरण,ध्यान र आराधनामा लाग्नुपर्ने उमेरका म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र उनकीश्रीमती खिरकुमारी थापा एक गास खानका लागि अरु कसैको आश गर्दै दाजुभाइको भंैसी बाँध्ने गोठमा बास बसेर मृत्युको प्रतीक्षा गर्न वाध्य भएका छन् ।
समयले ९६ वटा वसन्त पार गरेपनि जीवनमा कहिल्यै वसन्त (सुख) को महशुस गर्न नसकेका थापाले विरक्तिएर पटकपटक आत्महत्या गर्ने सोंच बनाए पनि श्रीमती खिरकुमारीले नमानेपछि अहिलेसम्म बाँचेको बताए ।
‘बुढेसकालमा सहाराविहीन भएर बाँच्नुपर्दा निकै ठूलो पीडा हुँदोरहेछ’, थापाले भने “यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौं भनेर श्रीमतीलाई भनें तर, उनी मान्दैमानिनन् र अहिलेसम्म बाँचिएको छ ।’
बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो अनुहारमा देखिने ९६ वर्षीय थापाको मनभित्र पीडा र दुःखको खहरे नै गड्गडाइरहेको महशुस गर्न सकिन्छ । लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न,तरकारी,दूध,दही ल्याएर खाने गरेका थापाको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर सहाराको बन्धन (श्रीमती) आफूभन्दा पहिला छुट्लिन कि भन्ने चिन्ताले थापा पिरोलिइरहन्छन् ।
सम्पतिका नाममा थापाको न बास छ, न खाने गास (अन्न) । आफ्नै भाइको गोठमा बूढेसकालका दिनहरु विताइरहेका थापा दम्पत्तिका सन्तान छैनन् । विवाह भएर गएकी एउटी छोरी पनि मुख नबोल्ने (अपाङ्ता भएकी) छन् । विरामी हुँदा र साह्रो गाह्रो पर्दा दाजुभाइका छोराहरु दुर्गाबहादुर थापा र हिराबहादुर थापाले हेर्ने गर्छन । ३८ वर्षअघि २०४० सालमा आफ्नो छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पत्तिको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो । त्यतिबेला त जनतन सहेर बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) उकुच बनेर चहराइरह्यो ।
३८ वर्षअघिको अवस्था सम्झदै थापाले भने,‘घर पनि थियो,कमाइ खान अलिअलि सम्पत्ति पनि थियो तर छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदिएँ अनि झारेगैरा (तराई) गएँ, त्यहाँ पनि वस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आएँ,अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौं ।’
थापा दम्पत्तिले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा भत्ताको रकम पाउँछन् । सोही रकमले घरको केही खर्च चल्ने गर्दछ। ‘अहिलेसम्म विरामी परेर उपचारका लागि खर्च गर्न परेको छैन,विरामी पर्ने हो भने यो रकमले के भ्याउथ्यो र?’,थापाले भने ।
सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा वस्ने भएकाले थापा दम्पत्तिलाई समय समयमा बेनीमा रहेका संघसंस्था र व्यक्ति अनि गाउँलेहरुबाट पनि लत्ता कपडा,खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ ।श्रीमती खिरकुमारीले पनि ८० वसन्त पार गरेकी छन् । शारीरिक रूपमा थापा भन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम श्रीमती खिरकुमारीले नै गर्छिन् ।‘शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौँ’खिरकुमारीले भनिन्,‘बुढेसकालले छोपेपछि जीवन जिउन निकै सकस भएको छ। हात खुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ।’
खिरकुमारीले गहभरि आँसु पार्दै भनिन्,‘निकै कष्टकर जीवन बिताउनु परेको छ। यस्तो कसैलाई पनि नपरोस् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->