पोखरा\गण्डकी प्रदेशमा खेलकुद क्षेत्रका लागि खेलकुद मन्त्रालय र अन्तर्गतराष्ट्रिय खेलकुद परिषद् पनि छ । गण्डकीका युवा तथा खेलकुमन्त्री हुन्, राजीव गुरुङ (दीपक मनाङे) ।
खेलकुद मन्त्रालयलाई नै चुनौती दिँदैगण्डकी प्रदेशको अर्थमन्त्रालयले १९ वर्ष मुनिका खेलाडीहरु सहभागी (यु–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोलीलाई आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रालयमा आइतबार आयोजित खेलाडी सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा खेलाडीहरुलाई सम्मान गर्दै अर्थमन्त्री रामजी प्रसाद बराल (जीवनले) प्रदेशको नाम उचो राख्न खेलाडीहरुले पुराएको योगदानको प्रशंसा गर्दै उक्त टोलीमा आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।
प्रदेश सरकारले सहभागी खेलाडीलाई प्रारम्भिक चरणमा जनही ५० हजार रुपैयाँ सहयोग गर्न चाहेको बरालले बताए । खेलाडीको प्रोत्साहन स्वरुप केही न केही गर्नुपर्छ भन्ने मान्यताले प्रदेश सरकारले प्रारम्भिक चरणमा रकम दिने सोच बनाएको मन्त्री बरालले जानकारी दिए । ‘राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गरी विजेता हुनुभएको तपाईं सम्पूर्ण खेलाडी, अफिसियल, खेल संघलगायतलाई विशेष धन्यवाद दिन चाहन्छु, यो जितले गण्डकी प्रदेशको गौरव र सान बढेको हामीले महशुस गरेका छौं ।’ खेल क्षेत्रले व्यक्तिलाई स्वस्थ्य राख्ने, आफ्नो जिल्ला, प्रदेश र देशको पहिचान बनाउने हुदाँ आगामी दिनमा खेल क्षेत्र प्रबद्र्धन गर्न प्रदेश सरकारको ध्यान केन्द्रीत हुने भएको मन्त्री बरालले बताए ।
प्रदेशका आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्माले जितले गण्डकी प्रदेशलाई ठुलो खुसी प्रदान गरेको बताउदै खेल क्षेत्रमा लाग्नेहरुको जीवनको भविष्य ग्यारेन्टी गर्नुपर्ने धारणा राखे । सम्भावना भएका खेलाडीहरु पलायन हुने अवस्थालाई अन्त्य गर्नुपर्ने उहाँँको धारणा थियो ।
गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङले बजेटको हिसावले खेलकुदलाई बढी प्रथामिकता दिनुपर्ने माग गरे ।
कैलालीको धनगढीमा हालै सम्पन्न सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जितेको हो ।
गण्डकीको यु—१९ महिला क्रिकेट टोलीमा अन्जली बिश्वकर्मा (उ.क), सिमाना केसी, ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जिटी, सेरिना थापा मगर, मनिषा उपाध्याय (क), सिर्जना पौडेल, जेनिसा खत्री, आङ पेम ल्याम्बु शेर्पा र प्रिति पराजुली रहेका छन् । उक्त टोलीको टिम प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यवस्थापकमा एलिसा लामिछाने रहेका थिए ।





