बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जैमिनीका सबै गाउँमा आधारभूत स्वास्थ्य सेवा

जैमिनीका सबै गाउँमा आधारभूत स्वास्थ्य सेवा


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०७८, बुधबार

बागलुङ/जिल्लाको जैमिनी नगरपालिकाले सबै टोलमा आधारभुत स्वास्थय सेवा विस्तार गरेको छ । नगरका केही टोलमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर नगरले सर्वसाधारणको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पु¥याएको हो ।
स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका गाउँका लागि स्वास्थ्य सेवा प्रदान गर्ने गरी एकैपटक दुईवटा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याईएको स्वास्थ्य शाखाका प्रमुख गोबिन्द आचार्यले बताए । नगरकै सबैभन्दा ठुलो वडा नं. ८ छिस्तीको मर्नासमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।

त्यस्तै वडा नं. १० राङ्खानीको डाँडाखानीमा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याईएको आचार्यले बताए । शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै नगरका सबै गाउँका लागि आधारभूत तहको स्वास्थ्य सेवा घरदैलोमा पुगेको नगरप्रमुख इन्द्रराज पौडेलले बताए ।
जैमिनीमा एक प्राथमिक स्वास्थ्य केन्द्र, आठ वटा स्वास्थ्य चौकी र चार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएका छन् । ‘हामीले स्थानीय स्रोतबाट एक घण्टाभन्दा टाढाबाट प्राथमिक स्वास्थ्य सेवाका लागि पुग्नुपर्ने ठाउँहरुमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएका हौं’ आचार्यले भने ‘अब कोही पनि सामान्य उपचारको लागि टाढा टाढा पुग्नुपर्ने बाध्यता छैन् ।’

एक अहेब र एक अनमीले सेवा दिने गरी सञ्चालन भएका स्वास्थ्य केन्द्रहरुबाट स्वास्थ्य चौकीमा प्राप्त हुने सबै औषधि उपचार प्रदान गरिने उनले बताए । ‘प्रयोगशाला पनि विस्तार हुन्छ, पहिले कर्मचारीको व्यवस्थापन गरेर मात्रै हामी सेवा विस्तारमा लाग्छौं’ उनले भने ‘नगरको आन्तरिक स्रोतले मात्रै पुग्दैन संघीय सरकारले पनि ध्यान दिनुपर्छ ।’

स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्दै नगरप्रमुख इन्द्रराज पौडेलले नजिकको सरकारले जनताका समस्याको सम्बोधन गर्दै गएको बताए । उनले शिक्षा, स्वास्थ्य, खानेपानी र सडक जस्ता जनताका आधारभुत आवश्यकता पुरा गर्ने चरणमा रहेको बताए ।
राङ्खानी र छिस्तीमा यसअघि स्वास्थ्य चौकीहरु सञ्चालनमा थिए । वडा नं. ७ को जैदी र वडा नं. ३ को नेपानेमा यसअघि नै शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->