बेनी/ नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बुधवार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा ११ पिन्ट रगत संकलन भएको छ । रक्तदानको महत्व र आवश्यकतालाई थप प्रचार प्रसार गर्नका लागि स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ ।
कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष प्रकाश पौडेल, प्रमुख अतिथि रेडक्रस सोसाइटी म्याग्दीका उपसभापति एवम् महासंघका संस्थापक अमर बानियाँले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै बानियाँले स्थापना दिवसको अवसरमा रक्तदान जस्तो महत्वपूर्ण र पुन्यको काम गरेकोमा आयोजकलाई धन्यबाद दिए । कार्यक्रममा बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदी, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, गैर सरकारी संस्था महासंघका पूर्व अध्यक्ष हरि प्रसाद पौडेल सहित महासंघका पूर्वअध्यक्षहरु समेतको सहभगिता रहेको थियो । महासंघका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिब गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





