आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, पिएनजी ३७ रनले पराजित

लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, पिएनजी ३७ रनले पराजित

करणले ह्याट्रिकसँगै लिए पाँच विकेट ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७८, बिहिबार

काठमाडौं/त्रिकोणात्मक टि–२० अन्तरराष्ट्रिय क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार पिएनजीविरुद्धको दोस्रो खेलमा ३७ रनको जित निकाल्दै नेपाल एक खेल अघि नै फाइनलमा पुगेको हो ।

नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पिएनजी दुई बल बाँकी छँदै १६६ रनमा समेटियो ।

उसका लागि चार्ल्स अमिनीले ९ चौकासहित सर्वाधिक ६२ रनको योगदान गरे । टोनी उराले ४३ रन जोडे भने सेसे बाउ २५ र नोर्मान भनुआ १७ रनमा आउट भए। लेगा साएका र कप्तान असद भाला एकरएक रनमा आउट भए ।

नेपालका करण केसीले ह्याट्रिकसहित ५ विकेट लिए । उनले अन्तिम ओभरमा ह्याट्रिक गरे । सोमपाल कामी र अविनाश बोहोराले २÷२ र सन्दीप लामिछानेले एक विकेट लिए ।

करणले यही खेलमा अन्तर्राष्ट्रिय टि–२० मा ५० विकेट पूरा गरेका छन् । उनी अन्तर्राष्ट्रिय टि–२० मा ५० विकेट लिने दोस्रा नेपाली खेलाडी हुन् । यसअघि सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् ।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो ।

नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले ३३ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा ६६ रन बनाएका हुन् । अन्तर्राष्ट्रिय टि–२० मा उनको यो चौथो अर्धशतक हो ।

रोहित पौडेलले २३ बलमा ४१ रनको योगदान गरे। उनले २ छक्का र ४ चौका प्रहार गरे । २९ बल खेलेका आसिफ शेखले ४ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडे । बिस्फोटक ब्याटिङ गरेका मोहम्मद अदिल आलमले ११ बलमा ३१ रन बनाए। उनले ३ छक्का र १ चौका हाने ।

कुशल भुर्तेलले १७ र करण केसीले एक रन बनाउँदा आरिफ शेख २ रनमा अविजित रहे । नेपालले अन्तिम ओभरमा ३ विकेट गुमाएको थियो ।

हालसम्म शतप्रतिशत जित निकालेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । अहिलेसम्म खेलेका तीन वटै खेल हारेको पिएनजीको फाइनल प्रवेशको संभावना अत्यन्तै न्यून छ ।

दुई खेल खेल्न बाँकी रहेको मलेसिया २ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । मलेसियाले तेस्रो खेलमा शुक्रबार पिएनजी र शनिबार नेपालसँग प्रतिष्पर्धा गर्नेछ । अंक तालिकाको पहिलो र दोस्रो हुने टिमबीच सोमबार फाइनल भिडन्त हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->