नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा शनिबार र आइतबार एसिया ट्रायथोलन कप तथा दक्षिण एसिया च्याम्पियनसिप भयो । यति ठूलो प्रतियोगिता हुँदासमेत स्थानीयलाई जानकारी समेत थिएन । कारण थियो, संघको समन्वयमा कमजोरी ।
शनिबार यातायात कम चल्ने भएकाले त्यति असर गरेन । तर, आइतबार भने खेलाडीहरुलाई सडक सुरक्षा मुख्य चुनौति भयो । खेलाडी सडकमा साइकल दौडाइरहँदा सवारीको चाप समेत उत्तिकै थियो । त्यसमाथि पनि बढी सवारी चाप हुने समयमा खेलाडीले पाउनु सकस पाए ।
विद्यालयको बसदेखि विद्यार्थी हिँड्ने, कर्मचारी हिँड्ने र काममा जाने समय । त्यतिञ्जेल न त प्रहरीलाई थाहा थियो नत ट्राफिक प्रहरीलाई नै ! बिना सुरक्षा नै आयोजकले त्यसै प्रतियोगिता आयोजना गरेको भान देखिन्थ्यो ।
त्यसको प्रत्यक्ष असर खेलाडीलाई परेको थियो । उदाहरण हुन् नेपाली दुवाथोलन खेलाडी इन्द्रकला नेम्वाङ । महिला एसियन च्याम्पियनसिपमा सहभागी भएकी उनी दोस्रो स्थानमा थिइन् । साइकल दौड हुँदै गर्दा उनी सडकमा सवारीबाट जोगिन पटकपटक रोकिन बाध्य भइन् । जेब्रा क्रसमा व्यक्ति हिँड्दा पर्खिनु प¥यो, त्यही समयमा उनी पछि पर्न पुगिन् ।
पाँचथरकी उनी धरान बस्दै आएकी उनी अल्ट्रा दौड धाविकासमेत हुन् । हालै भोजपुरमा भएको अन्तराष्ट्रिय अल्ट्रा दौडमा प्रथम भएर उनी पोखरा आएकी थिइन् । शनिबार नै भएको ट्रायथलनको राष्ट्रिय स्पर्धामा प्रथम भएकी थिइन् । तर, आइतबारको आयोजकको व्यवस्था देख्दा तीन छक्क परिन् ।
उनले आयोजकले उचित स्वयंसेवक नखटाउँदा समस्या झेल्न बाध्य भएको सुनाइन् । ‘पहिलो घुम्ती मोडिएपछि दोस्रो घुम्तिमा पुग्दा अचानक स्कुलको बस आयो । त्यहाँ दुर्घटना हुनबाट जोगिएँ,’ नेम्वाङले भनिन्, ‘अनि मैले बसचालकलाई रोकेर प्रतियोगिता चलिरहेको छ भन्नुप¥यो ।’
प्रतियोगितामा जापानकी हिराकु फुकुओका १ घन्टा १ मिनेट १०.६५ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम हुन पुगिन । नेम्वाङ उनी भन्दा ७ मिनेटले पछि परिन् । उनीभन्दा पछि रहेको भारतकी स्नेहा जोशीले १ घण्टा ६ मिनेट ५६.८४ सकेन्डमा दूरी पूरा गर्दै रजत हात पारिन् ।
प्रशासनले बेवास्ता ग¥योः संघ
आयोजकको कमजोरी भएको साउथ एशियन ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ स्वयं स्वीकार्छन् । उनले खेलबारे आफूहरुले जिल्ला प्रशासन कार्यालय, कास्कीलाई पत्राचार गरेपनि वेवास्ता गरेको आरोप लगाए ।
‘हाम्रो तर्फबाट पनि कमजोरी छ । संघ काठमाडौंमा रहेकाले पनि यहाँ समन्वय हुन सकेन । तर, कुनै कार्यालयहरुले जानी जानी प्रतियोगितालाई महत्व नदिएर असहयोग गरे,’ श्रेष्ठले भने । स्थानीयकै असहयोगका कारण सुरक्षा चुनौती भए पनि कुनै ठूलो घटना नघटेको भन्दै उनले कमजोरी ढाकछोप गर्न खोजे ।
‘हामीले आयोजना गरेको प्रतियोगिता साउथ एसियामा एक मात्र हो,’ उनले भने, ‘ट्राइयाथोलनमा रोडबाइक पनि हुन्छ । रोड बाइकको स्पिड भनेको मोटरसाइकलको जस्तै हुन्छ त्यो रिक्स हुन्छ । रिक्स भएपनि कुनैपनि ठूलो घटना नभइ सम्पन्न भएको छ ।’
प्रतियोगितामा ८० खेलाडी सहभागी थिए । यो प्र्रतियोगिता सामान्य भने होइन, भारत तथा नेपालका खेलाडी एसियन च्याम्पियनसिपमा छनोट समेत यही प्रतियोगिताको नतिजाले निर्धारण गरेको छ । विजेता खेलाडीहरु एसियन गेमका लागि छनोटसमेत भइसकेका छन् ।
संघका उपाध्यक्षलाई नै जानकारी छैन !
पोखरामा भएको अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा यति लापरवाही भएको छ कि संघ उपाध्यक्षलाई समेत जानकार थिएनन् । नेपाल ट्रायथलन संघका उपाध्यक्ष तथा गण्डकी प्रदेश सांसद दीपक कोइराला आफूलाई प्रतियोगिता हुँदैछ भननेबारे नै नभएको दाबी गरे ।
‘सूचना ढिला भएको कुरा सत्य हो । हिजो (शनिबार) सूचना भइसकेपछि आज (आइतबार) प्रतियोगिता हो कि होइन भन्ने दोधार भएको रहेछ । हिजो सकिएपछि आज छैन भन्ने भएको रहेछ,’ उपाध्यक्ष कोइरालाले भने, ‘पछि म नै यहाँ ७ बजे आइसकेपछि कुराकानी गरेर व्यवस्थापन गरेको हो ।’ अघिल्लो प्रतियोगिता राम्रो भएपनि यो वर्षको प्रतियोगितामा समस्या आएको उनले बताए ।
दुवाथोलन पुरुषतर्फ तीन वटै पदक नेपाललाई
दुवाथोलनको एशियन च्याम्पियनसिपको पुरुष तर्फको तिन पदक नै नेपालले हात पा¥यो । नेपालका हिमाल टमाटाले ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र २.५ किलोमिटर रनिङको दुरी ४५ मिनेट ५४.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जिते । मानबहादुर थापा मगरले ५५ मिनेट १.०७ सेकेन्डमा र वसन्त थारुले ५८ मिनेट २५.३१ सेकेन्डमा दूरी पार गर्दै क्रमशः रजत र कास्य पदक हात पारे । तीनै जना खेलाडी त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । उनीहरु एसियन गेमका लागि समेत छनोट भएका छन् ।
उता महिला तर्फ जापानकी हिराकु फुकुओका १ घन्टा १ मिनेट १०.६५ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जित्दा भारतकी स्नेहाल जोशीले १ घण्टा ६ मिनट ५६.८४ सेकेन्ड र नेपालकी इन्द्रकला नेम्वाङले १ घन्टा ७ मिनट ३३.९४ सेकेन्डमा दूरी पार गर्दै रजत र कास्य प्राप्त गरे । नेम्वाङ पनि एसियन गेमका लागि छनोट भएकी छिन् ।





