पोखरा/ कास्की जिल्ला फुटबल संघको अध्यक्षमा उज्ज्वल रञ्जित विजयी भएका छन । बुधबार भएको दोस्रो चरणको मतदानमा उज्ज्वल रन्जितले १४ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी विनोद गुरुङको ७ मत मात्रै रह्यो भने १ मत बदर हुन पुग्यो । अध्यक्ष पद बाहेक सबै पदमा सर्वसम्मत भएको हो ।
अध्यक्षका लागि विनोद गुरुङ, उज्ज्वल रञ्जित र नवीन पुनले उम्मेदवारी दिएका थिए । २२ मत रहेको कास्कीमा नवीन पुनले पाँच मत मात्र प्राप्त गरे । पहिलो चरणमा विनोद गुरुङले ७ र उज्जवल रञ्जितले ९ मत प्राप्त गरेका थिए । एक मत कसैलाई नहाल्दा बदर हुन पुगेको थियो । एन्फा विधान अनुरुप मतदानमा विजयी हुनेले कुल मतको ५० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । उक्त मापदण्ड पूरा नहुँदा दोस्रो चरणको मतदान गर्नु परेको थियो । दोस्रो चरणमा उज्ज्वल र विनोद बीच मतदान हुँदा उज्जवले बाजी मारेका हुन् ।
उपाध्यक्षमा पाँच जनाले आकांक्षा देखाए पनि विष्णु कुमार गुरुङ र खेमराज बरालले उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत भएको हो । उपाध्यक्षमा जगतबहादुर थापा, नरप्रसाद गुरुङ र सुरेन गुरुङ सर्वसम्मत भए । सदस्यहरुमा सुनिल गायक, शोभा बानियाँ, राजेश त्रिपाठी, सन्तोष कार्की, विकास गुरुङ, योगेस गुरुङ, हितमान गुरुङ, विकास गुरुङ, सुविन श्रेष्ठ, ओम गुरुङ र टंकप्रसाद गुरुङ सर्वसम्मत भएको निर्वाचन अधिकृत केशव राज बरालले जानकारी दिए । निर्वाचित पदाधिकारीको सपथ ग्रहण समेत भएको छ ।
नवनिर्वाचित अध्यक्ष उज्ज्वल रञ्जितले फुटबल प्रतियोगिता तथा गतिविधि गर्न आजको आवश्यकता रहेको औंल्याए । उनले संघमा रहेर सबैसंग सहकार्य गरी चार गाउँपालिका र महानगरपालिकामा ग्रास रुट फुटबल विकास गर्ने उनले बताए । रञ्जितले पोखरामा एकेडेमी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विभिन्न क्लबलाई एन्फामा आबद्ध फराउन पहल गर्ने कार्ययोजना रहेको उनले सुनाए ।
निर्वमान अध्यक्ष भन्छन्ः फुटबलमा लागेर धेरै गुमाएँ
कास्की जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष मिलन गुरुङले आफू फुटबलमा लागेर धेरै कुरा गुमाएको दुखेसो गरेका छन् । संघको ७ औं महाधिवेशनको उद्घाटन सत्रमा उनले आफू अध्यक्षमा निर्वाचित भएर आइसकेपछी केन्द्रले रकम नदिँदा जेलसम्म जान बाध्य भएको सुनाए ।
मुख्यमन्त्री कपको आयोजना गर्दै गर्दा प्रदेश सरकारले दिने रकम नदिदा ७ दिन जेल बस्नु परेको गुरुङको भनाइ थियो । उनले एन्फाले चार वर्षको अन्तरालमा ८, ९ लाख रुपैयाँ मात्र जिल्लालाई दिएको सुनाउँदै आफूलाई ठूलो घोटलाको आरोप लगाइएको दाबी गरे ।
‘केन्द्रले बजेट दिएको भए पो हामीले गतिविधि गर्न सक्छौ । केन्द्रले यो चार वर्षको अवधिमा जम्मा ८,९ लाख रुपैयाँ पायौ त्यसले के गर्ने ? मुख्यमन्त्री कपमा प्रदेश सरकारले दिने ४० लाख रुपैयाँ आएको थिएन त मैले कसरी तिर्ने ?’ गुरुङले भने, ‘पदमा बसेपछि मैले खल्तीमा भएको रकम मात्रै सकिनँ । धेरै गुमाएँ त्यो पीडा मलाई मात्र थाहा छ ।’
उनले आफू निर्वाचित हुदाँ देखि नै चलखेल हुँदै हटाउने षड्यन्त्रसमेत रचिएको दाबी गरे । कास्की जिल्लाको फुटबल विकासका लागि क्लबलाई बल दिने, दक्षिण एसियाकै नमुना भेडाबारी परियोजना, प्रशिक्षक÷रेफ्री प्रशिक्षण गराउनु अरुका लागि गलत भएको बताए । आफूले निस्वार्थ भावनाले लाग्दा समेत केही व्यक्तिले त्यसलाइ गलत तरिकाले प्रचार गर्दै आएको आरोप लगाए । आउने पदाधिकारीलाई फुटबलको विकासमा लाग्न र राजनीति नगर्न आग्रह गरे ।
गुरुङले पोखरा रंगशालामा आर्टिफिसियल मैदान बनाउने भनी अघि बढिरहँदा प्राकृतिक मैदान नै बनाउने अडान लिएको कारण आज प्राकृतिक मैदान देख्न पाएको बताए । आर्टिफिसियल मैदान बनाए आफूलाई ठूलो रकम दिने प्रस्ताव आउँदा समेत फुटबलकै लागि लागेको उनले सुनाए ।





