हामी विगत लामो समयदेखी कोरोना महामारीको चपेटीमा छौँ । कोरोना महामारी मानव प्रजातीकै दुस्कृत्यको एक उपज हो । अनि मानव लार्पवाहीले गर्दा जलवायु परिवर्तन र वायु प्रदुषण असरले ओजन तहमा क्षय भएको कारणले गर्दा वर्षेनी तीव्र रुपमा गर्मी बढ्दै गइरहेको छ । यो गर्मी मौसम भन्नेबित्तिकै रोगहरूको मौसम पनि मानिन्छ । यो मौसममा विशेषगरी सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । पछिल्लो समय विश्व तापमानमा आएको परिवर्तनले हाम्रो देशमा पनि वातवरणीय प्रभाव परेको छ ।
जस्तो कि गर्मी या जाडो महिना लम्बिनु, बेमौसमे गर्मी या जाडो हुनु, पानी पर्नुजस्ता कारणले सरुवा रोगको संक्रमण हुने गरेको पाइन्छ । विगतको अनुभवमा भदौदेखि कात्तिकसम्म देखिने गरेकोमा यो वर्ष तराईका केही जिल्लामा पहिले नै देखिइसकेको छ । यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिस आदि रोगबाट बढी सक्रिय हुन्छन् । साथै, लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सोप्लाइटिस, कीट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रवटाइफस, कालाजार पनि यहीं मौसममा सक्रिय हुन्छन् । गत वर्षको तुलनामा यो वर्ष कोरोना भाइरस पनि अझै सशक्त र प्रभावित भएर परिमार्जित भई विश्वलाई हल्लाईरहेको छ । कोरोनाको प्रतिकारको लागि लामो अनुसन्धानपछि उत्पादित खोप पनि नयाँ स्ट्रेन कोकोराना भाइरसको सामु बेकार जस्तै भइरहेको छ ।
दूषित पानी तथा खानाको कारण टाइफाइड, हेपाटाइटिस ‘ई’ र ‘ए’ झाडापखाला, हैजा र आउँजस्ता रोग लाग्छन् । गर्मी मौसममा सडेगलेका, झिंगा भन्केका, राम्रो सफाइ नभएको ठाउँमा खानाले र आफ्नो पनि सफाइ राम्रोसँग नगरेको
अवस्थामा यी रोग सर्छन् । ती सरुवा रोग यस प्रकार छन्ः
झाडापखाला
दूषित पानी तथा खानाले झाडापखाला लाग्छ । दूषित खाना तथा पानीमा कोलिफर्म तथा इकोलाई भिब्रियो कलेरा, कलेरालगायत संक्रमण गराउने जीवाणु हुन्छ । खाना तथा पानीको प्रयोग गर्ने क्रममा यो पेटभित्र प्रवेश गर्छ र झाडापखाला लाग्छ ।
झाडापखाला लागेपछि बारम्बार पातलो दिसा लाग्नुका साथै पेट दुख्छ । पखालाको समयमै उपचार नभए शरीरमा पानी र नुनको मात्रा कम भई जलवियोजन हुन्छ । जलवियोजनका कारण बिरामीको मृत्युसमेत हुन सक्छ । सडेगलेका खाना र दूषित पानीका कारण यो रोग लाग्ने भएकाले गर्मी मौसममा स्वच्छ पानी तथा खाना खाए यो रोगबाट बच्न सकिन्छ ।
घरबाहिर खाजा तथा खाना खाने जागिरे र मजदुर बढी मात्रामा झाडापखालाको संक्रमणमा पर्ने गरेको पाइन्छ । बिभिन्न सहरहरूमा प्युरीफाइंग गरेर वितरित जारको पानीसमेत असुरक्षित रहेको र खानेपानीको पाइपमा ढल मिसिनु तथा यस्तो पानीको प्रयोग गरेको अवस्थामा पनि झाडापखालाको संक्रमण भएको देखिन्छ । यो रोग संक्रमित हाले सक्दो धेरै मात्रामा जीवनजल र नरम झोलपदार्थ सेवन गर्नुपर्छ । यदि झाडापखालाको साथै वान्ता पनि छ भने अस्पताल जानु पर्छ ।
हैजा
दिसा मिश्रित पानी या खानामा पाइने भिब्रियो कलेरा नामक जीवाणु पानी या खाना प्रयोगको क्रममा पेटमा पुगेपछि हैजाको संक्रमण हुन्छ । मनसुनको कारण पानीका स्रोत जमिनमुनिका पाइप, धारा तथा कुवा दूषित हुने र त्यस्तो पानी प्रयोग गरे यो जीवाणु हाम्रो पेटमा प्रवेश गर्छ । पेटमा पुगेपछि पेट दुख्ने, बारम्बार पातलो दिसा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिन्छन् । वान्ता र पातलो दिसा पटक–पटक हुँदा शरीरमा भएको नुन तथा पानीको मात्रा बगेर जान्छ र जलवियोजन हुन्छ । हैजा भइहाले जीवनजल बढी खाने र स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गर्नुपर्छ । नेपालमा यो रोगको संक्रमण बर्सेनी हुने गरेकाले सरसफाइमा सचेत भए यो रोग लाग्नबाट बच्न सकिन्छ ।
लक्षणहरू
–दिनमा तीन पटकभन्दा बढी दिसा लाग्ने
–वान्ता हुने
–दिसा गर्दा सजिलै आउने
–शरीर कमजोर हुने
–शरीरको मांसपेशी बाउँडिने
कसरी बच्ने
–दूषित खाना तथा पानी नपिउने
–पानी उमालेर या शुद्ध गरेर मात्र पिउने
–खाना खानुअघि अनिवार्य रूपमा हात धुने
–शौचालय या सार्वजनिक स्थलबाट आएपछि अनिवार्य हात धुने
–बाहिर खानै परे भरपर्दो ठाउँमा मात्र खाने
–सडेगलेको तथा बासी खाने कुरा नखाने
–व्यक्तिगत सफाइमा बिशेष ध्यान दिने
हेपाटाइटिस (जन्डिस)
दूषित पानीमा बस्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ भाइरस कुनै पनि माध्यमबाट मानिसको पेटमा प्रवेश गरे यो हेपाटाइटिस ए र ई को संक्रमण हुन्छ । हेपाटाइटिस कलेजोमा हुने रोग हो । अन्य कारणले पनि हेपाटाइटिस रोग लाग्छ तर पानीमा पाइने हेपाटाइटिस ए र ई भने गर्मीमा बढी सक्रिय हुने रोग हो । गर्मी तथा मनसुनमा पानीको स्रोत दूषित हुने र सफाइमा कमी भए यो भाइरस मानिसको पेटमा प्रवेश गर्छ । दिसा मिश्रित पानी या खानाको कारण नै यो रोग लाग्छ । रोग संक्रमण भएपछि एक÷दुई महिनामा आफैं निको भएर जान्छ । तर हेपाटाइटिस ई भाइरस गर्भवती महिलालाई संक्रमण भएको खण्डमा ३० प्रतिशत मृत्यु हुने सम्भावना रहन्छ । गर्भवती महिलाले भने यी लक्षण देखिए तुरुन्त उपचार गराउनुपर्छ ।
लक्षणहरू
–आँखा पहेँलो हुने
–शरीर पहेंलो हुने
–पेट दुख्ने
–खान मन नलाग्ने
–वाक–वाक लाग्ने
कसरी बच्ने ?
–सफा पानी पिउने
–सफा खाना खाने
–व्यक्तिगत सफाइमा ध्यान दिने
मलेरिया
–पानी पिउँदा सँधै उमालेर पिउने ।
सुदूरपश्चिम, कञ्चनपुरसम्मको क्षेत्रमा मलेरिया देखिन्छ । लामखुट्टेले टोकेर फाल्सिफारम भन्ने परजीवी शरीरमा संक्रमण भएपछि मलेरिया हुन्छ । यसले टोकेको १२ देखि १४ दिनभित्र मलेरियाको लक्षण देखिन्छ । समयमै उपचार नभए यसले स्नायु प्रणालीमा असरगर्ने तथा मस्तिष्क ज्वरो पनि हुन्छ । समयमै उपचार नभएमा विरामीको मृत्युसमेत हुन सक्छ ।
साथै, यो रोगले मिर्गौला तथा कलेजोसमेत बिगार्छ । यो रोगको संक्रमण भएमा काम ज्वरो आउने, पसिना आउनेजस्ता लक्षण देखिन्छन् । मलेरिया हुन ज्वरो आउनै पर्छ भन्ने मान्यता पनि छ । यो रोगमा ज्वरो आउनु मुख्य लक्षण हो । यो रोगमा नेपाल सरकारले आफ्नो स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधि दिन्छ ।
लक्षणहरू
–काम ज्वरो आउने
–पसिना आउने
–जिउ दुख्ने
कसरी बच्ने ?
–लामखुट्टेको टोकाइबाट बच्ने
–घरवरिपरिको वातावरण सफा राख्ने
–ज्वरो आउनेबित्तिकै मलेरिया परीक्षण गराउने
–झुल लगाएर सुत्ने
–पूरा बाहुलायुक्त कपडा लगाउने
डेंगु ज्वरो
डेंगु गर्मी मौसममै देखिने रोग हो । ‘एडिस एजिप्टाई’ नामक प्रजातिको लामखुट्टेले टोक्दा डेंगु सर्छ । यो जमेको पुरानो तथा सफा पानी, एसी, गमलाको पानी, गाडीको टायर, खुल्ला भाँडालगायत ठाउँबाट फैलिने गर्छ । संक्रमित लामखुट्टेले टोकेको ५ देखि १० दिनभित्र बिरामीमा लक्षण देखिन्छ ।
संक्रमित लामखुट्टेले एउटै व्यक्तिलाई दोहोर्याएर टोकेयसले जटिल रूप लिन्छ । यो लामखुट्टे बिहान र दिउँसो बढी सक्रिय हुन्छ । डेंगुको संक्रमण भएपछि रक्तश्राव भई शरिरको प्रतिरक्षा क्षमता कम भएकाहरूको मृत्युसमेत हुनसक्छ ।
ज्वरोमा सिटामोल दिने, जलवियोजनमा स्लाइन र रगत बढी बगे रगत दिनुपर्छ । माथि उल्लेख भएकामध्ये कुनै पनि लक्षण देखिए बिरामीले चिकित्सकको सल्लाहमा मात्र उपचार गर्नुपर्छ । प्रशस्त झोल कुरा खाने र पानी पिउने गर्नु पर्छ ।
डेंगुका लक्षणहरू
–शरीर धेरै दुख्ने
–कडा ज्वरो आउने
–कसैलाई ज्वरो नआउने पनि हुनसक्छ
–शरीरमा रातो र नीलो धब्बा देखिने
–वान्ता हुने
–आन्तरिक रक्तश्राव हुने
–शरीरमा पानीको मात्रा कम हुने
कसरी बच्ने ?
–शरीर छोप्ने गरी लुगा लगाउने
–लामखुट्टेलाई असर गर्ने लोसन शरीरमा लगाउने
–सफा पानी जम्ने भाँडाहरू खुला नराख्ने
–बेलैमा लामखुट्टेको लार्भा नष्ट गर्ने
स्क्रवटाइफस
झाडीमा बस्ने परजीवी (कीर्ना)भित्र हुने ‘ओरेन्सिया सुसुगामोसी’ नामक जीवाणु मानिसको शरीरभित्र प्रवेश गरेपछि यो रोग लाग्छ । किर्नाले टोकेको ५ देखि ६ दिनमा व्यक्तिलाई ज्वरो आउने, शरीरमा रातो बिमिरा आउने, शरीर दुख्ने, ग्रन्थी सुन्निनेलगायत लक्षण देखिन्छन् । परजीवीले टोकेको भागमा कालो दाग देखिन्छ र कतिपयमा भने नदेखिन पनि सक्छ ।
यो ‘ओरेन्सिया’ जीवाणु छालाबाट शरीरभित्र पसेपछि रगतको माध्यमबाट अन्य भागमा सर्छ । समयमै उपचार नभए यो शरीरका अन्य अंग मुटु, कलेजो, फोक्सो, मिर्गौलामासमेत फैलिएर बिरामीको मृत्यु हुनसक्छ । विगतका वर्षमा यो रोग लगातार देखिएकाले यो वर्षपनि सचेत हुन सबैमा आग्रह गर्दछु ।
लक्षणहरू
–ज्वरो आउने
–शरीरमा रातो बिमिरा आउने
–शरीर दुख्ने
–ग्रन्थी सुन्निने
कसरी बच्ने ?
–झाडी या बारीमा जथाभावी नबस्ने र नांगो खुट्टाले नटेक्ने
–घरवरिपरि सफा राख्ने
–चौर या झाडीमा नसुत्ने
–खेतबारीमा जाँदा पन्जाको प्रयोग गर्ने
कालाजार
विगतमा तराईका जिल्लामा देखिएको कालाजार पछिल्लो वर्ष पहाडदेखि हिमालसम्मका जिल्लामा फैलिएको पाइएको छ । सेनफ्लाई भनिने भसुनाले टोके मानिसमा कालाजारको संक्रमण हुन्छ । शरीरमा प्रवेश गरेपछि यसले कलेजो, फियो हुँदै रगतका सेलहरू समेत नष्टगर्छ ।
सलफ्लाई भुसुनाले लेसमिनियाँसिस नामक परजीवी सार्छ । यो भुसुना गोबर, चिरा परेको पर्खाल, ओसिलो ठाउँ, मुसा बस्ने प्वाल, गाईगोठ, गुइँठा, कच्ची घर, गाईबस्तु र मान्छेसँगै बसेको घरमा बस्छ । यो भुसुनाले टोकेको २ देखि ६ महिनाभित्रमा लक्षण देखिन्छ । यो भुसुना १६ देखि ३० डिग्री तापक्रममा फैलिन्छ । यो फागुनदेखि असार÷साउनसम्म बढी सक्रिय हुन्छ । यो रोगको समयमै उपचार नभए जटिल समस्या आई मृत्युसमेत हुन सक्छ ।
यो रोग लागिसकेपछि नियमित औषधिको सेवन गरे निको हुन्छ । तर चिकित्सक र नर्सको निगरानीमा मात्र औषधि सेवन गर्नुपर्छ । हाल नेपालका अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल र मेडिकल कलेजहरूमा कालाजारको उपचार हुने गरेको छ ।
लक्षणहरू
–दुई साताभन्दा बढी ज्वरो आउने
–मान्छे दुब्लाउँदै जाने
–भित्री अंग फियो र कलेजो सुन्निँदै जाने
–दायाँ पेट ठूलो हुने
–थोरै खाए पनि अघाए जस्तो हुने
कसरी बच्ने ?
–भुसुनाको टोकाइबाट बच्ने
–गाईबस्तु तथा माटाको प्वाल भएको घरका प्वाल टालेर भुसुना बस्न नदिने
–घरवरिपरि सफा राख्ने
अन्तमाः नियमित रूप सफा पानीलाई उमालेर प्रसस्तै पिउने गरौँ । कोरोनालगायत विभिन्न सरूवा रोगहरू आफनै लार्पबाहीको कारणले आफु संक्रमित हुने भएकोले आफ्नो सुरक्षा आफै गरौं, बाहिरबाट फर्किएपछि वा कुनैपनि वस्तु छोएपछि राम्रोसंग साबुनपानी हत सफा गर्ने गरौँ । आफु पनि बाँचौ र अरूलाई पनि बचाऔँ ।




