पोखरा/ पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पदाधिकारीहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । मञ्चको हालै सम्पन्न अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीलाई समितिले एक समारोहका बिच पोखरा रंगशालामा आइतबार स्वागत तथा बधाई ज्ञापन गरेको हो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश गुरुङ र पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले मञ्चका अध्यक्ष दीननाथ बरालसहितको पदाधिकारीहरुलाई टीका र खादा लगाएर स्वागत तथा बधाई ज्ञापन गरेका हुन् ।
उनले नवौं राष्ट्रिय खेलकुदको कुम्भ मेलाका रुपमा अर्थाउँदै ३६ खेलको प्रतियोगिताबाट बढाएर अझै केही खेलहरु थप गर्ने विषयमा आफूहरु छलफलमै रहेको बताए । प्रतियोगिता आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा लगायत अन्य जिल्लामा कम्तिमा एक खेल सञ्चालन गर्ने तयारी भइरहेको छ ।
कार्यक्रममा मञ्चका अध्यक्ष बरालले खेल, खेलाडी र खेलसंघहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।





