स्थानीय चुनावको लागि मनोनयन दर्ता भएको छ । पोखरामा सबैभन्दा बलियो र साविकको मेयर र उपमेयर जितेको एमालेले यसपटक २०५४ सालका मेयर कृष्ण थापा र हालकी उपमेयर मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । र, यी दुबैसहित वडा र गाउँपालिकाका एमाले उम्मेदवारलाई जिताउने दायित्व एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङको काँधमा छ । के छ, चुनावी रणनीति र जित्ने आधार ? ढोरपाटनले उनीसँगको कुराकानी यहीँबाट सुरु ग¥यो ।
हामी निर्वाचनमा लागि पहिले नै होमिएका हौं । हाम्रो पार्टीको तर्फबाट उम्मेदवार उठाइसकेका छौँ । तयारी सबै पूरा भइसकेको छ ।
मेयरमा पहिला दीपक पौडेलको चर्चा आयो । उम्मेदवारचाहिँ कृष्ण थापालाई बनाइयो नि ?
आधिकारिक हिसाबले मेयर छान्ने कुरा जिल्ला कमिटीले गर्ने होइन, प्रदेश कमिटीले पनि होइन । यो केन्द्रीय कमिटीले गर्ने भएको हुनाले केन्द्रले जे निर्णय ग¥यो त्यही मान्ने हो । जे आधिकारिक रुपमा आउँछ,उही मेयरको उम्मेदवार हो ।
उम्मेदवार छनोटमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुखको स्वार्थले काम ग¥यो भन्ने छ नि ! दीपकविरुद्दमा एउटा समूहले षड्यन्त्र ग¥यो भन्ने छ, कुरा के हो ?
यो सबै वाइयात कुरा हो । हामी सबै केपी ओलीको पार्टीका हौँ । यो कुनै पृथ्वीसुब्बाको पार्टी वा खगराजको पार्टी होइन । नेकपा एमालेको पार्टी हो, लोकतान्त्रिक, प्रजातान्त्रिक पार्टी हो । म गर्वका साथ के भन्छु भने, संघीय लोकतान्त्रिक गणतन्त्र पार्टी नेकपा एमाले भित्र छलफल बहस धेरै हुन्छन् । यो छलफल बहस भै राख्ने हुँदा कसले के विषय ल्याउँछ भन्ने कुरा महत्वपूर्ण कुरा हो । हाम्रो कमिटीले जे निर्णय गर्छ त्यो महत्वपूर्ण कुरा हो । त्यसकारण यो यसको त्यो उसको मान्छे भन्ने नै हुँदैन । सबै नेकपा एमाले हुन त्यो बाहेक केही पनि होइन ।
निर्वाचनमा थापासँगै पुर्व एमालेकै कार्यकर्ता रहेका धनराज आचार्य गठबन्धनबाट उठेका छन् । एमालेको पनि मत काटिन्छ भन्ने छ नि ?
यो कुनै ताका पार्टी एक हुँदाको कुरा होला । हिजो माधब नेपाल, केपी ओली स्थायी कमिटी सदस्य होलान् । आज केपी ओली एकठाउँमा हुनुहुन्छ, माधव नेपाल एकठाउँमा छन् । धनराज पनि त्यही हो । धनराज र कृष्ण थापा पनि नेपाली हुन् नि । दुवै कास्कीकै भएकाले सम्बन्ध हुन सक्छ । तर,दुई वटा पार्टीको भएपछि फरक विचार, फरक धार हुन्छ । त्यसकारण गठबन्धनको उम्मेदवार हो धनराज । एमालेको कृष्ण थापा । व्यक्तिले त जे पनि भन्छन् । नेकपा एमालेको मत कसरी काटिन्छ ? एमाले कार्यकर्ता कमजोर छैनन् । कसैले मत माग्यो भन्दैमा मत दिने कार्यकर्ता बनाएको छैन, एमालेले । संगठनको हिसाबमा प्रशिक्षित छन् ,त्यसकारण एमाले अब्बल पार्टी हो । मत काटिन्छ भन्ने वाइयात कुरा हुन । बाहिर त मान्छेले जे पनि भन्छन् । भोलि मनबहादुरले एमाले छाड्यो भनेर कसैले विश्वास गर्छ ? धनराजको राम्रो छ भन्ने के ग्यारेन्टी छ ? कुनै काल खण्डमा उनी एमाले सदस्य होलान् अहिले एस नै राम्रो भनिदिए हुन्थ्यो नि ! किन, एमालेलाई राम्रो भन्ने ? हामी एसलाई गन्दै गन्दैनाँै । एसलाई नगनेपछि धनराजलाई पनि गन्दैनौं । कृष्ण थापाको तुलना गरिँदैन, हामी ।
कास्कीमा दुई पक्षमा देखिएको कार्यकर्तालाई कसरी सम्हाल्नुहुन्छ ?
मैले अघिनै पनि भनी सके नेकपा एमाले देशको सबैभन्दा अब्बल पार्टी हो, सबल पार्टी हो । हामीले सबैलाई एक गराएका छौँ । केन्द्रको आधिकारीक निर्णय आउनुअघि जे भयो त्योसँग कुनै सरोकार हुँदैन । अब पार्टीले निर्णय गरिसकेको छ । त्यो नै सबैले मान्ने हो । पृथ्वीसुब्बा देशकै उपमहासचिव हो हिजो उहाँ (मनोनयनमा) जानुपर्ने थिएन । खगराज अधिकारी आउनुभयो । हाम्रो स्थायी कमिटी सदस्य जानुभयो, केन्द्रीय समिति सदस्य, जिल्ला अध्यक्ष पुगेकै छौँ । पद्मा अर्याल पनि आउनुभएन । उहाँ पनि इन्चार्ज होला नि । आफ्नै ठाउँमा जानुभयो होला ।
मेयरका उम्मेदवारमाथि जातीय विभेदको आरोप लागेको छ । त्यसले चुनावमा असर गर्दैन ?
यो एक वर्षअघिको कुरा होला । कुनै दिनको कुरा होला । नेकपा एमाले कमजोर बनाउनका लागि त्यो कुरा उठाएको हो । एमाले त्यस्तो पार्टी होइन । नेपाली जनताले चिनिसकेको छ । अरु पार्टीको तुलनामा एमाले जनताको मनमनमा छ । त्यो नेकपा एमालेले गरेको होइन । कुनै व्यक्ति विशेषको कुरा होला । एमालेले विज्ञप्ति निकालेको भए हामी जवाफदेही हुन्थ्यौँ, उसको व्यक्तिगत कुरा हो । अहिले मिलिसकेको कुरा हो ।सकारात्मक सोचौँ ।
तेस्रो पटक पार्टीले कृष्ण थापालाई मेयरको रुपमा अघि बढाएको छ तर पहिलाका जस्तो पुरानो एजेन्डाले त अब देश चल्दैन नयाँ के छ ?
एमालेले कार्यकर्तालाई समय सापेक्ष चल्न सक्ने बनाएको छ । कृष्ण थापा कतिपटक मेयरमा उठे भन्ने कुराले मतलब राख्दैन । कति विचारलाई समय सापेक्ष वनाउने भन्ने वा मुलुक सापेक्ष नेपालको भूगोल अनुसारको विचार गर्न सक्छ कि सक्दैन ? लान सक्छ कि सक्दैन ? भन्ने कुरा महत्वपूर्ण हो । कृष्ण थापालाई अहिलेको समय सान्दर्भिक र आवश्यक ठानेको हुनाले उठाएको हो ।





