बागलुङका दश स्थानीय तहमध्ये आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गलकोट नगरपालिकाको निर्वाचन पेचिलो बन्दैछ । पाँच दलीय गठबन्धन र नेकपा एमालेका बीचमा हुने प्रतिस्पर्धामा केही बागी उमेद्वार र गठबन्धनभित्रको असन्तुष्ट पक्षका कारण जिल्लाभर जस्तै गलकोटमा पनि चुनावी परिणामको आँकलन कसैले गर्न सकिरहेका छैनन् ।
गलकोटमा दुई पक्ष बीचमा हुने प्रतिस्पर्धाका लागि गठबन्धनको तर्फबाट निवर्तमान नगरप्रमुख भरत शर्मा गैरे नगरप्रमुखको उमेद्वार छन् । निर्वाचनमा होमिँदा उनका एजेण्डा के हुन् । हारजितको आधारहरु के–के छन् । किन दिने त यिनै उमेद्वारलाई मत ? विविध विषयमा हामीले खोज्ने प्रयास गरेका छौं । प्रस्तुत छ ढोरपाटनकर्मी तारानाथ आचार्यले गैरे सँग गरेको छोटो संवादको सम्पादित अंश ।
मेयरबाट राजीनामा दिएर त्यहीं पदको प्रतिस्पर्धामा हुनुहुन्छ । तपाईं नै फेरि यो पदमा कसरी योग्य ?
–पाँच वर्षअघि हामी आउँदा गलकोट नगरपालिका सबै नयाँ थियो । शुन्यबाट काम सुरु गरेका हामीले पाँच वर्षको बीचमा कोभिड महामारीले काम गर्न दिएन् । यो बीचमा धेरै काम भएका छन् । हामीले देखेको सपना अनुसारका काम सुरु भए तर पुरा हुन पाएनन् । ती काम पुरा गर्नका लागि म उमेद्वार हो । हिजो स्रोतसाधन, जनशक्ति आदिको अभाव थियो । सबै जुटाउने बेला छोडेर हिँड्नुपर्ने भयो । अब बनेका आधारहरुमा टेकेर सपना पुरा गर्ने, समृद्ध गलकोटको आकांक्षा पुरा गर्नका लागि मेरो उमेद्वारी हो ।
संसारभर हेर्नुस् न एक पटक जनप्रतिनिधि भएकाहरुले दोहोराएका कयौं घटना छन् । अमेरिकाको राष्ट्रपतिकै कुरा गरौं । त्यहाँ अपबादबाहेक दोहोरिन्छन् । एक कार्यकाल मात्रै काम गर्नेका लागि पर्याप्त छैन भनेरै होला कानुनी रुपमा पनि दोस्रो पटक उठ्न पाउने व्यवस्था भएको छ । म मात्रै होईन देशभर धेरै दोहोरिँदै हुनुहन्छ । गलकोट समृद्ध बनाउने सोच समय अभावका कारण सम्भव रहेन् । अब पुरा गर्न म उमेद्वार हो ।
तपाईं जत्तिकै योग्य अरू व्यक्ति पार्टीमा थिएनन् र ?
–पार्टीमा धेरै साथीहरु योग्य हुनुहुन्छ । राजनीतिमा प्रतिस्पर्धामा हुन्छ, हामी ११ जना प्रतिस्पर्धामा थियौं । अरुले अरुका लागि र मैले मेरा लागि राजनीति गर्ने हो । यो वैयत्तीक अधिकार हो । यसअघि गलकोट सुशासन र आर्थिक पाटोमा देशमै सातौं र गण्डकी प्रदेशमा दोस्रो भएका छौं । त्यहिं छवि भएको निष्ठाको राजनीति गर्ने भएकाले होला पार्टीले मलाई योग्य ठान्यो र म उमेद्वार बनेको छ ।
गलकोट नगरपालिकामा तपाईंको मुख्य तीन प्राथमिकता के–के हुन् ?
–गलकोटमा हामीले पाँच वर्षको बीचमा पूर्वाधारको क्षेत्रमा बेस तयार गरेका छौं । पूर्वाधारलाई आधार बनाएर सामाजिक, आर्थिक, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा मुख्य ध्यान केन्द्रित गर्ने छौं । पुरा हुन नसकेका पूर्वाधार पुरा गर्ने हाम्रो प्राथमिकता रहने छ । प्रशासनिक भवन नै निर्माणाधिन छ त्यो भवन सुविधासम्पन्न बनाएर पुरा गर्ने छौं । भ्रष्टाचार न्युनिकरण गर्ने मेरो पहिलो प्राथमिकता हो । अनुभवले धेरै सिकाएको छ । म सदाचारमा विश्वास गर्छु । सदाचारयुक्त गलकोट बनाउन मेरो विशेष समय खर्च हुनेछ ।
निर्वाचित हुनुभयो भने पाँच वर्षपछि गलकोट नगरबासीले के–के फरक पाउलान् ?
–अबको पाँच वर्षमा गलकोट नगरपालिका पूर्वाधार तयार भएको नगरपालिका हुनेछ । स्रोत साधनले युक्त नगरपालिका हुनेछ । भ्रष्टाचार मुक्त र सदाचार युक्त नगरपालिका बनेको हुनेछ ।
अघिल्लो चुनावमा पनि तपाईको पार्टीको यस्तै प्रतिबद्धता थियो । तर चुनावपछि चुपचाप बस्नुभयो ?
–त्यो पनि हो । हामीले गरेका प्रतिबद्धता पुरा भएका छैनन् । स्रोत साधनले हुने जनताका काम समेत यो बीचमा गर्न पाएनौं । दैविक प्रकोप र कोभिड महामारीको मार खेप्नुपर्यो । आधारहरु तयार गर्दा नै हाम्रो समय सकियो । अब बल्ल काम गर्ने बेला भएको छ । आकाश फाँड्ने, धर्ती फुटाउने भन्न सक्दैनौ, गर्न सकेनौं तर हामीले आधारभुत जनताका लागि आवश्यक सबै काम अब गर्ने वातावरण बनाईसकेका छौं ।
कार्यकर्ताहरूले भोट दिन्छन् नै होला, पार्टी बाहिरकाहरूले तपाईंलाई किन मत दिने ? फेरी हजुरको त बागी पनि हुनुहुन्छ ।
–म निष्ठाको राजनीति गर्ने मान्छे हो । भरत गैरे भ्रष्टाचार गर्दैन्, इमान्दार र सक्षम छ भन्ने धेरैलाई थाहा छ । त्यसैले अरु उमेद्वारको कटाक्ष गरेर होईन मेरो योग्यता, क्षमता, निष्ठा र आचरणका कारण म नै योग्य उमेद्वार हो ।
राजनीतिमा विधि र विधान हुन्छ । आचरणभन्दा बाहिर गएर राजनीति गर्न सकिँदैन् । पार्टी पद्धति छोड्ने व्यक्ति अराजक र अराजनीतिक हो । बागीको विषयमा मैले यत्ति भने । जहाँसम्म प्रतिस्पर्धिहरुको कुरा छ । हामी पाँच दलिय गठबन्धन बनाएर चुनावी मैदानमा उत्रेका छौं । प्रतिगमनको बिरुद्धमा हामी एकै ठाउँ भएका हौं । एमालेका अध्यक्ष ओलीको प्रवृत्तिको विरुद्धमा बनेको गठबन्धन र त्यसको उमेद्वार भएकाले अरुलाई नदिएर मलाई भोट दिनुपर्छ भन्छु ।





