आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिका जिल्लाका अन्य स्थानीय तहभन्दा धेरै चर्चामा छ । सत्ता गठबन्धन र नेकपा एमालेबाट यसअघिकै चुनावी मैदानमा रहेर हारजीत व्यहोरेका दुवै जना उमेद्वार चुनावी मैदानमा छन् । हिजो हारजीत पछि दुवै जनाले गरेका कामको मुल्यांकन गरेका मतदाता मतदानका लागि आतुर छन् ।
यसअघिको निर्वाचनमा एमालेको तर्फबाट उमेद्वार भएर निर्वाचन जितेका जनकराज पौडेल आफूले गरेको कामका प्रभावले फेरी जनताको मत पाउने दाबी गर्छन् भने पराजित भएका गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार वसन्त कुमार श्रेष्ठ सहानुभति बटुल्न र योजनाको फेहरिस्त सुनाउन छोडेका छैनन् ।
दुबै जना बीचको चुनावी रस्साकसी निकै पेचिलो बनिरहेका बेला उमेद्वारहरुका एजेण्डा के हुन् । हारजीतको आधारहरु के के छन् । किन दिने त यीनै उमेद्वारलाई मत ? यी र यस्तै विविध बिषयमा हामीले उत्तर खोज्ने प्रयास गरेका छौं । प्रस्तुत छ ढोरपाटनकर्मी तारानाथ आचार्यले केही समान प्रश्नहरुसहित उमेद्वार वसन्त कुमार श्रेष्ठसँग गरेको छोटो संवादको सम्पादित अंशः
बागलुङ नगरमा यस अघीको निर्वाचनमा पराजित हुनुभएको थियो । फेरि पनि हजुर नै मेयरमा कसरी योग्य हुनुभयो ?
– अवश्य पनि हो । हिजो म पराजित भएको कुरा साँचो हो । हिजो सबै दल एकातर्फ हुँदा नेपाली कांग्रेस एक्लै निर्वाचनमा थियो । अर्को तर्फको गठबन्धनका कारणले मैले हार व्यहोर्न पर्यो । आज राष्ट्रिय राजनीतिले कोल्टो फेरेको छ । हिजो जितेको पार्टी एक्लै हुँदा राष्ट्रिय राजनीतिकै कारण हामी गठबन्धनमा छौं । मैले हिजो उमेद्वारी दिने बेला बागलुङ विकासको सपना देखेको थिएँ, योजना बनाएको थिएँ । ती सपना र योजनाहरु अधुरै छन् । तिनै सपना र योजना पुरा गर्नका लागि अहिले पाँच दलीय गठबन्धन हुँदा पार्टीले मलाई विश्वास गरेर पठाएको छ । म चुनाव जित्छु र ती सपनाहरु पुरा गर्छु ।
तपाईं जत्तिकै योग्य अरू व्यक्ति पार्टीमा थिएनन् र ?
– नेपाली कांग्रेस जस्तो पार्टीमा मभन्दा एकसय एक नेताहरु योग्य हुनुहुन्छ । अरु नेताहरु योग्य नभएकाले होईन हिजो पनि हार व्यहोरेको र काम निरन्तर गरिरहेको भएकाले नै हो पार्टीले मलाई विश्वास गरेको । म पार्टी र नेताहरुलाई धन्यवाद भन्छु ।
बागलुङ नगरपालिकामा तपाईंको मुख्य तीन प्राथमिकता के–के हुन् ?
– सबैभन्दा महत्वपूर्ण कुरा सुशासन हो । सुशासन कायम गर्नका लागि मैले पहिलो प्रयास गर्नेछु । विकासका पूर्वाधारमा महत्वपूर्ण कुरा सडक हो । सडकको स्तरोन्नती र विकासका लागि काम गर्ने योजनामा छु । सुन्दर नगर हो बागलुङ नगरपालिका तर अहिले त्यस्तो छैन् । बागलुङ नगरलाई सुन्दर बनाउनका लागि मेरो प्राथमिकता रहने छ । समय सुहाउँदो विकास गर्न प्रतिबद्ध छु । मौलिक हक स्थापित गराउन गर्नुपर्ने काममा मेरो जोड रहने छ । एक वर्षभित्रै घर घरमा खानेपानी, सुशासनयुक्त समाज, कृषि, पर्यटन, शिक्षा र प्रविधिमा समय सुहाउँदो विकासको सुरुवात गर्ने योजना छ ।
तपाईं निर्वाचित हुनुभयो भने पाँच वर्षपछि बागलुङ नगरबासीले के–के फरक पाउलान् त ?
– बागलुङ बजार सरसफाईयुक्त र सुन्दर हुनेछ । ट्राफिक व्यवस्थापन भएको हुने छ । पानीका धारा घर घरमा हुने छन् । मुख्य सडक कालोपत्रे र सहायक सडक स्तरोन्नती भएका हुने छन् । प्रविधियुक्त नगर बनेको हुनेछ । बागलुङ बजारमा जिल्लाको मुकाम पनि हो । त्यसैले अन्य पालिकासँग पनि जोडिने गरी पर्यटन क्षेत्रमा नगरले फड्को मारेको हुने छ । सभाहल निर्माण, खेलमैदान निर्माण भएका हुने छन् । भ्रष्टाचारको गन्ध समेत जनताले थाहा पाउने छैनन् । सुशासनमा अब्बल नगर हुने छ ।
कार्यकर्ताहरूले भोट दिन्छन् नै होला, पार्टी बाहिरकाहरूले तपाईंलाई किन मत दिने ?
– जनता सचेत छन् । विगतमा गल्ती गरेका कारण नगरपालिका पछि परेको कुरा राम्रोसँग जनताले थाहा पाएका छन् । जनता नभई दास हुनुपरेको तितो अनुभव यसअघि जनताले गरे । बागलुङको समृद्धि र विकास रोकिएको महसुस जनताले गरेका छन् । सबल नागरिक बन्न सकेनन् । समृद्ध बागलुङ बन्नका लागि नेतृत्व परिवर्तन आवश्यक छ भन्ने जनताले बुझेका छन् । विगतको पीडाले मेरो पक्षमा मत आउने छभने हामी गठबन्धनमा भएकाले जनतामा रहेको उत्साहले मेरो जीत सुनिश्चित छ ।





