पोखरा /गण्डकी प्रदेशको राजधानी पोखरामा आउँदो जेठ २२ गतेदेखि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषदले जिल्लागत खेलका लागि खेल र स्थलको प्रारम्भिक रुपमा प्रस्ताव अघि सारेको छ । गण्डकी प्रदेशले आयोजनालाई तीव्रता दिइरहँदा प्रतियोगिताको मिति सर्ने सम्भावना पनि उत्तिकै देखिएको छ ।
खेलाडीहरुले प्रतियोगिता हुनेमा आशंका गरिरहँदा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले तोकिएकै समयमा प्रतियोगिता हुने बताएका थिए । केही हप्ता अघिमात्रै पोखरामै आएर उनले प्रतियोगिता कुनै पनि हालतमा सम्पन्न हुने बताउँदै टिम तयारी गर्न समेत भनेका थिए । यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले पनि प्रतियोगिता समयमै हुने प्रतिक्रिया दिएका थिए । तर, अहिले भने प्रतियोगिको मिति सार्ने तयारी भइरहेको छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङले एक दुई दिनमै मिति सरेको सुचना आउनसक्ने बताए । उनले नवौंको मिति सार्ने तयारी भइरहेको जानकारी दिए ।
यसअघि पनि गुरुङले पटक–पटक नवौंको लागि मिति अनुकुल नभएको प्रतिक्रिया दिँदै आएका थिए । उनको समर्थनमा गण्डकीका समग्र खेलाडी, प्रशिक्षक तथा खेल प्रतिनिधिहरु रहेका थिए ।
राखेप सदस्य सचिव टंकलाल घिसिङले आफूलाई मिति सर्ने सम्बन्धि कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘हामीलाई त्यस्तो जानकारी छैन् । अब मन्त्रिपरिषद्को निर्णयले के गर्छ हामीलाई थाहा भएन’, उनले भने,‘निर्देशिका र बजेटको कुरा हो त्यो भनेको मन्त्रिपरिषद्को कुरा हो हामीले सबै कुरा बुझाएका छौँ अब निर्णय गर्ने पाटो वहाँहरुको हो ।’ उनले मन्त्रिपरिषद्को बैठक बसेर मिति सर्ने वा नसर्ने भन्ने निर्णय हुने बताए ।
उता गण्डकीमा खेल हुनेभएपछि खेलकुद परिषद् गण्डकीले गरेको प्रस्तावित खेल तथा खेल स्थल अनुसार पोखरामा २२ खेल हुनेछ । विभिन्न कास्कीबाहेक अन्य जिल्लामा भने १४ खेलको प्रस्ताव गरिएको छ । प्रस्तावित खेल अनुसार पोखरामा पुरुष फुटबल, एथ्लेटिक्स, बक्सिङ,भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्यान्डबल, हक्की, स्क्वास, सुटिङ, जिम्न्याष्टिक, लन टेनिस, सफ्ट टेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायोथोलन रहेको छ ।
स्याङ्जामा महिला फुटबल, फुल कन्ट्याक्ट कराते, बागलुङमा तेक्वान्दो, मुस्ताङमा टेबल टेनिस, नवलपुरमा कुस्ती, खो खो, गोरखामा जुडो, सेपाकताक्रो, तनहुँमा बास्केटबल, मनाङमा बुद्धिचाल, म्याग्दीमा आइटिएफ तेक्वान्दो र पर्वतमा फेन्सिङ गर्ने प्रस्ताव गरिएको छ ।
गण्डकी प्रदेशको परम्परासंग जोडिएको ठेलो खेल र साहसिक खेलको रुपमा लिइने क्यानोइङलाई भने प्रदर्शनी खेलको रुपमा राखिने भनिएपनि गण्डकीले भने प्रस्तावित खेलको रुपमा दोहोरी गीतलाई समेत प्रदर्शनी खेलकुदको रुपमा अघि बढाउने भएको छ । प्रतियोगितामा सातै प्रदेश,३ विभागीय टोलीसँगै गैरनेपाली संघ (एनआरएन) गरी ११ टोलीको सहभागिता रहने छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएपछि युवा तथा खेलकुद मन्त्रालयमा राखेपको बोर्ड बैठक ३ वर्ष पछि बसेको थियो । लुम्बिनी प्रदेशमा २०७५÷०७६ मा आठौं राष्ट्रिय खेलकुद आयोजना हुनु अघि राखेपको १११ औं बैठकयता बैठक बस्न सकेको थिएन ।
प्रतियोगितामा ६ हजार आठ सय जना खेलाडी, एक हजार जना प्रशिक्षक, पाँच सय जना व्यवस्थापक, एक सय १४ जना संघका प्रतिनिधी र एक हजार जना निर्णायकको भुमिकामा रहने राखेपको अनुमान छ । सरकारले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म सञ्चालन गरिने योजना थियो । तर, खेलाडीका लागि तयारी समय नपुग्ने भन्दै ठुलो गुनासो समेत आएको थियो । राखेपले विभिन्न कारण देखाउँदै प्रतियोगिताको मिति सार्ने तयारी गरेको हो ।





