वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र छ । मंगलबार राति १२ बजेदेखि शून्य समय सुरु भएकाले दलहरुले आफ्ना प्रचारका काम रोकेका छन् । निर्वाचन आयोगले भने मतदानका लागि आफ्नो तयारीलाई तीव्र बनाएको छ । जिल्लामा निर्वाचन सम्पन्न गर्नका लागि सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर काम थालेको लामो समय भयो ।
अन्तिम चरणमा पुगेको निर्वाचनको तयारी कस्तो छ । जिल्लाभरको अवस्था, कर्मचारी र सुरक्षाकर्मीको खटनपटन, सम्भावित जोखिम, सुरक्षा चुनौती तथा मतदातालाई सुरक्षित हिसाबले मतदान गर्ने वातावरण बनाउनका लागि के–के काम भइरहेका छन् । यी र यस्तै विषयमा ढोरपाटन सहकर्मी तारानाथ आचार्यले बागलुङका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेसँग सम्वाद गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
बागलुङमा स्थानीय तहको निर्वाचनको लागि के–के तयारी भइरहेको छ ?
-हामी निर्वाचनको संघारमा आइपुगेका छौं । अहिलेसम्मको तयारीको बिषयमा कुरा गर्दा कर्मचारीको खटनपटनको काम चलिरहेको छ । मतदान केन्द्रहरुमा मतदान सामग्री पु¥याउने काम भैरहेको छ । टाढा टाढाका मतदान स्थलमा कर्मचारी पुगिसक्नुभएको भने नजिकका मतदान स्थलमा जाँदै हुनुहुन्छ ।
टाढा जानेका लागि नियुक्ति दिइसकिएको छ । नजिक मतदान केन्द्र भएका साथीहरुका लागि नियुक्ति दिने प्रक्रिया चलिरहेको छ । जिल्लाभरका २ सय ३० मतदान स्थलमध्ये अब बाँकी ३० मतदान स्थलका कर्मचारीले मात्रै सामग्री बुझ्न बाँकी छ । एक हिसाबले भन्दा निर्वाचनको अन्तिम तयारीमा हामी छौं ।
बागलुङका मतदानस्थल कति सुरक्षित छन् ?
-हामीले मतदान स्थलको सुरक्षाको विषयमा सुक्ष्म अध्ययन गरेका छौं । हामीलाई प्राप्त जानकारी अनुसार कुनैपनि मतदान स्थलमा सुरक्षाका हिसाबले चुनौती छैन । मतदाता डराउन पर्ने अवस्था छैन ।
राजनीतिक रुपमा पनि समस्या भएको पाएका छैनौं । सबै मतदान स्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको घेरामा मतदान केन्द्रहरु रहने छन् । सुरक्षाको पूर्ण प्रत्याभूत छ । भवितव्य केही भएछ भने बम डिस्पोजल टोलीसमेत हामीले तयारी अवस्थामा राखेका छौं ।
मतदाताले सुरक्षित भएर मत दिने वातावरण बन्यो त ?
अहिले सम्मको वातावरण र सूचनाहरुको स्रोत हेदा अप्रिय घटना भएका छैनन् । मतदाता ढुक्क भएर मत दिने वातावरण बनेको छ । हाम्रो गोप्य सूचना संयन्त्रले पनि तर्सिनुपर्ने कुनै वातावरण नभएको सूचना दिएको छ । निर्वाचन शान्तिपूर्ण हुनेमा हामी ढुक्क छौं ।
बागलुङका सन्दर्भमा मतदान र मतगणना सम्मका चुनौतीहरु के के हुन् ?
-मतदानको समयमा चुनौती भनेको मुख्य चुनौती सुरक्षाको हो । सुरक्षाका हिसाबले हामि ढुक्क छौं । सुरक्षा चुनौती यहाँ छैन् । मतदानको समयमा हुनसक्ने त्रुटीहरु हुन नदिनका लागि हामीले मतदान अधिकृतलाई तालिम दिएका छौं । उहाँहरु पूर्ण तयार रहेर कार्यक्षेत्रमा हुनुहुन्छ ।
मौसमको चुनौती होला भनेर चर्चा भइरहेका छन् । त्यसका लागि समेत हामीले तयारी गरेका छौं । निर्वाचन आयोगले नै स्थानीय तहहरुसँग समन्वय गरेर पानी परेको अवस्थामा त्रिपाल वा प्लाटिस्कको प्रयोग गर्ने भनेको छ । सोही अनुसार स्थानीय तह सहयोग गर्न तयार छन् । हामी मौसमको चुनौतीको सामना स्थानीय तहसँग मिलेर गर्ने छौं ।
मत गणनास्थलमा सिसि क्यामेरा जडान हुन्छ । त्यहाँ सबै कुरा रेकर्ड हुने भएकाले त्यहाँको चुनौती कम हुन्छ । मतपेटिका राख्ने कोठामा समेत सिसी क्यामेरा जडान हुन्छ । मतगणना स्थलमा जाली लगाउने बिषयमा पनि हामीले सोचिरहेका छौं । यो चुनौतीलाई सामना गर्न सल्लाह गरेर अघि बढ्छौं ।
राजनीतिक दलहरु कत्तिको जिम्मेवार भएको देख्नुभएको छ ? आचारसंहिता विपरीतका कामहरु पनि भए भन्छन् नि ?
-हाम्रो जिल्लामा अरु जिल्लाको तुलनामा दल र उम्मेदवारहरु जिम्मेवार नै देखिनुभयो । अन्य जिल्लाको जस्तो छिटफुट बाहेकका आचारसंहिता उल्लंघनका घटना हामीले भेटेनौं । एकाध घटनाहरुको विषयमा मौखिक उजुरीहरु आए । हामीले उहाँहरुलाई ध्यानाकर्षण गरायौं । उहाँहरुको तत्काल ध्यानाकर्षण भएको मैले पाएको छु ।
ऐन, नियम कानूनले दिएको अधिकार मात्रै उहाँहरुले प्रयोग गर्नुभएको छ । समस्या हुँदा हामीसँग सल्लाह र समन्वय गरेर नै उहाँहरु अघि बढ्नुभएको छ । सवारी चलाउने कुरामा नै हेरौं उहाँहरु हामीलाई के के चाहिन्छ, कति पाउने कसरी पास लिने भनेर सोधीखोजी गरेर लाग्नुभएको छ । दलहरुको सहयोगले नै अहिलेसम्म बागलुङले वातावरण शान्त राख्न सकेको हो ।
मत गणना कहिलेबाट होला ? सबै तहको परिणाम आउन कति समय लाग्ला ?
– हामीले बागलुङमा मत कति खस्छ भनेर पनि सूचना संकलन गरिरहेका छौं । प्राप्त सूचनाहरु अनुसार ७० प्रतिशतको हाराहारीमा मत खस्ने अनुमान छ । खसेको मतकै आधारमा मतगणनाको समय कति लाउना भनेर आँकलन गर्ने कुरा हो ।
नजिकै पालिका मुकाम रहेका, निर्वाचन अधिकृतको कार्यालय रहेका पालिकाहरुमा त हामीले सोही दिन मत गन्न थाल्छौं । टाढा टाढाबाट ल्याउनु्पर्ने ठाउँहरुमा भने उही दिन मत गन्न गाह्रो होला । यहाँका हरेक पालिकामा ४२ हजारदेखि ५० हजारसम्म मत रहेको तथ्यांक छ । थोरै भएका ठाउँमा परिणाम छिटो आउँछ । धेरै भएका ठाउँहरुमा बढीमा जेठ ७ गतेसम्म सबै मतगणना गरेर सक्छौं भन्ने लागेको छ ।
मतदान स्थल टाढा भएका गाउँहरु पनि छन् । टाढा रहेका मतदातालाई मतदान स्थलसम्म ल्याउन आयोग र सम्बन्धित निकायको भूमिका के होला ?
– मतदान स्थल तोकिएकै हुन्छ । अहिलेसम्म टाढाका मतदाता ल्याउने बिषयमा आयोगले कुनैपनि कार्यक्रम बनाएको छैन् । त्यसैले हामीले केही गर्नसक्ने कुरै भएन् । आगामी दिनमा टाढा भएका ठाउँमा मतदान स्थल थप गर्ने बिषयमा सबैको सल्लाहमा सिफारिस गर्न सकिएला ।
तर, अहिलेका लागि सबै मतदाता आफंै मतदानका लागि तोकिएको स्थलमा पुग्नुहुने छ । हामीलाई प्राप्त जानकारी अनुसार आधा घण्टाभन्दा बढीको दूरीमा मतदान स्थल छैनन् । सबै टोल घरहरुबाट आधा घण्टामा मतदान स्थल पुग्न सकिन्छ भन्ने छ ।
अन्तमा हजुरको भनाइ के छ ?
– निर्वाचन राष्ट्रिय चार्ड हो । यसलाई सबैले अपनत्व बोध गरौं । हामीले गरेर मात्रै, आयोगले गरेर मात्रै निर्वाचन सफल हुँदैन् । यसमा सबै सरोकारवाला र मतदाताको भूमिका उत्तिकै हुन्छ । यो एक पक्षले गरेर हुने कुरै होइन । सबै क्षेत्रमा सहयोग र साथको आवश्यक छ ।
हामी सबै नेपाली नागरिक एक आपसमा मिलेर यो निर्वाचन सफल बनाउन सहयोग गरौं । सहभागि बनौं । मेरो अपेक्षा बागलुङमा निर्वाचन नमुना होस् भन्ने हो । सोही अनुसार सबै लाग्नुहुन अनुरोध गर्दछु ।





