अरु सबै युद्धजस्तै युक्रेन युद्ध पनि पाप हो। यो भयानक कुकर्मले अहिलेसम्म हजारौँको ज्यान लिइसकेको छ, सिंगै सहरहरु ध्वस्त पारिसकेको छ र दसौँ लाखलाई विस्थापित पारिसकेको छ । विश्वको सुरक्षामा अकथनीय असर पारेको छ ।
तर, यो पाप कसको हो ? निश्चय नै यो युक्रेनको पाप होइन । युक्रेनका अनुभवहीन राष्ट्रपतिको नेटो सदस्य बनिछाड्ने ढिपी मूर्खता हुनसक्छ, तर यो अपराध होइन । पक्कै पनि यो रुसको अपराध हुनुपर्छ । कि अमेरिकाको ? वासिङ्टन र उसका विश्लेषकहरु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनलाई सम्पूर्णको पापको स्रोत मान्छन् । उनीहरु १९ औँ शताब्दीको रुसी साम्राज्य सम्झाउने गरी पुटिनले निरंकुशता र साम्राज्यवादी महत्वाकांक्षा पालेको अनि सार्वभौम मुलुक युक्रेनलाई टुक्राटुक्रा पार्न रक्तपातपूर्ण युद्ध सुरु गरेको आरोप लगाउँछन् । यो प्रक्रियामा पुटिनले पुरै युरोपलाई अस्थिर बनाइरहेको र विश्व व्यवस्था नै परिवर्तन गरिरहेको उनीहरुको दाबी छ ।
काफी सत्य ।
अर्कोतिर मस्को र उसका विश्लेषकहरु वासिङ्टनलाई सबै अन्तर्राष्ट्रिय दुष्ट्याइँको स्रोत मान्छन् । अमेरिकाले युक्रेनको राजनीतिमा हस्तक्षेप गरेको र रुसको सुरक्षालाई कमजोर बनाउन किभलाई प्रयोग गरेको आरोप लगाउँछन् । आफ्नो सीमासम्मै नेटो विस्तार भएपछि पश्चिमा समर्थित ‘युक्रेनी नाजीहरु’बाट रुसी नागरिकलाई बचाउन हस्तक्षेप गर्नुको विकल्प आफूसँग नभएको उनीहरुको दाबी छ ।
काफी बढाइचढाइ ।
उसोभए यहाँनेर को सही र को गलत छ त ? यसको उत्तर खोज्न एउटा पुरानो किस्सा सम्झिनुपर्ने हुन्छ । एक पटक एक व्यक्ति आफ्नो छिमेकीबारे गुनासो गर्न मुखियाकहाँ गएछन् । उनको कुरा सुनेपछि मुखियाले भनेछन्, ‘तिम्रो कुरा सही हो ।’ केही समयपछि छिमेकी चाहिँ त्यस्तै गुनासो लिएर उनीकहाँ आएछ ।
मुखियाले फेरि भनेछन्, ‘तिम्रो कुरा सही हो ।’
ऊ गएपछि मुखियाको छोराले विरोध गरेछ, ‘दुई जनै कसरी सही हुन सक्छन् ?’
‘तिम्रो कुरा पनि सही हो छोरा,’ मुखियाले भनेछन् ।
म मुखिया होइन, तैपनि दुवै पक्ष सही हुनसक्छन् भन्ने म स्वीकार्छु र मेरो कुरा पनि सही होला भन्ने आशा गर्छु । रुसले निश्चय नै झुठो बहाना बनाएर युक्रेनमाथि आक्रमण गरेको छ । किभ वा वासिङ्टनसँग साँच्चै उसलाई गुनासो थियो भने त्यसलाई उसले संयुक्त राष्ट्रसंघ वा अन्तर्राष्ट्रिय अदालत लैजान सक्थ्यो । त्यो गर्नसक्ने क्षमता उसको थियो । तर, उसले युद्ध रोज्यो– कच्चा र पुरानो भइसकेको परम्परागत युद्ध । क्रेमलिनलाई राम्रोसँग थाहा छ, युक्रेनका समस्यामध्ये थुप्रै ऊ आफैँले जन्माएको हो । २०१४ मा क्रिमिया टुक्रयाएर र पूर्वी प्रान्तहरुलाई टुक्रयाउन उक्साएर उसले अहिलेको संकट निम्त्याएको हो ।पुटिनले पटकपटक स्पष्ट पारेका छन्– रुसको मनमा खासगरी युक्रेनले विशेष ठाउँ लिएको छ । र, त्यसलाई जानदिने पक्षमा उनी छैनन् ।
अघिल्लो गर्मीमा प्रकाशित एउटा लेखमा पुटिनले भनेका छन्, ‘रुसी र युक्रेनीहरु एकै हुन् । एउटा सिंगो ।’ मनमा साम्राज्यको मोह नभएको भए यो भावना एकदमै प्रिय हुने थियो । छोटकरीमा भन्नुपर्दा रुसी साम्राज्यको पुनरोत्थानका लागि युक्रेन अपरिहार्य छ । युक्रेनमा जे भइरहेको छ, त्यो एउटा ढाँचाको हिस्सा मात्र हो। रुसले सोभियत संघबाट टुक्रिएका गणतन्त्रहरु जर्जिया, मोल्दोभा र कजाकस्तानमा यही साम्राज्यवादी महत्वाकांक्षाका कारण हस्तक्षेप गरेको थियो । पुटिन भने आफ्नो प्रभावक्षेत्रमा अमेरिकाले हस्तक्षेप गरेपछि रुसले रक्षात्मक कदम मात्र चालेको दाबी गर्छन् । उनले पश्चिमा नेतृत्वको ‘नियममा आधारित विश्व व्यवस्था’, अझ भन्दा अमेरिकाले निरन्तर रुपमा गरेको अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र विश्वभरका राज्यहरुको आन्तरिक मामिलामा हस्तक्षेपका कारण उत्पन्न अव्यवस्थाको आलोचना र भत्र्सना गरेका छन् । २००८ मा अमेरिकाले युक्रेन र जर्जियालाई तुरुन्तै नेटो सदस्य बनाउन खोजेको र २०१४ मा रुसको समर्थनप्राप्त भिक्टर यानुकोभिचको सत्ता पल्टाउने कथित मैदान क्रान्ति भड्काएको पुटिनको आरोप छ । अहिले युक्रेनलाई हतियार दिएर रुसलाई कमजोर बनाउन अमेरिकाले छद्म युद्ध लडिरहेको र युद्धलाई लम्ब्याइरहेको उनको आरोप छ । सोभियत संघका पूर्व सदस्य मुलुकहरुमा सत्ता पल्टाउने क्रान्तिहरुविरुद्ध पुटिन अडिग छन् ।
ठीक यही विन्दुमा पुटिनले चीनका शासक सी चिनफिङमा रणनीतिक मित्र फेला पारेका छन् । लोकतन्त्र र मानवअधिकारको नाममा चिनियाँ र समग्र एसियाको राजनीतिक तथा सुरक्षा मामिलामा अमेरिकाको निरन्तर हस्तक्षेप र उक्साहटबाट सी पनि क्रुद्ध छन् । बदलामा अमेरिकाले अरुलाई गरेजस्तो रुसले अमेरिकी चुनावमा हस्तक्षेप गर्यो। फलस्वरुप डोनाल्ड ट्रम्पको विजयपछि पश्चिमा लोकतन्त्रहरु रक्षात्मक बने । अर्को शब्दमा भन्दा पुटिनले अमेरिकालाई जेजस्ता आरोप लगाइरहेका छन्, ती सबै काम उनी आफैँ पनि गरिरहेका छन् । अझ कच्चा तरिकाले । हो, अमेरिकाले अत्यन्त कुटिलतापूर्वक युक्रेनलाई रुसविरुद्ध प्रयोग गरेको छ । तर, मलाई के लाग्छ भने त्यो रुसले युक्रेनमाथि आक्रमण गर्ने कारण होइन, बहाना मात्र थियो ।
तसर्थ, अमेरिका र रुस दुवैको भनाइमा केही सत्य र ज्यादा बढाइचढाइ छन् । यसले अहिलेको एकदमै विभाजित र सैन्यकृत वातावरणमा सञ्चारमाध्यमको भूमिकामाथि प्रश्न उठाउँछ । आखिर स्वतन्त्र प्रेसले मात्रै राज्यको शक्तिलाई प्रश्न गर्न सक्छ र युद्धको तथ्यलाई प्रचार गर्न सक्छ । निरंकुशतन्त्र भएको रुसमा सरकारले युद्धका आलोचकहरुलाई धम्क्याएर चुप लगाएको छ– यसबाट म अलिकति पनि चकित छैन । तर, अमेरिकी विदेश नीतिको आलोचकहरुलाई पत्रकार र नागरिकहरुले नै गरेको विषाक्त आक्रमणबाट भने म स्तब्ध छु । तिनले उनीहरुलाई ‘पुटिनको पैसा खाएर देशद्रोह गरेको’ आरोप लगाएका छन् ।
पत्रकारहरुलाई सरकारी लाइनअनुसार बोल्नलेख्न बाध्य गराइनु वा पत्रकारहरुले वासिङ्टन वा लन्डनमा अरुभन्दा अगाडि हुन स्वेच्छाले अझ जोसपूर्वक सरकारी लाइनको प्रचार गर्नुमध्ये कुन खराब हो, मलाई थाहा छैन । दुर्भाग्यवश, दुई दशकअघिको विनाशकारी खाडी युद्धमा जे भएको थियो, त्यसकै पुनरावृत्तिको साक्षी हामी बसिरहेका छौ । त्यतिबेला धेरैजसो प्रभावशाली एंग्लो–सेक्सन मूलधारका सञ्चारमाध्यमले अन्धतापूर्ण र मूर्खतापूर्ण तरिकाले सरकारी लाइन प्रचार गरेका थिए । तिनै युद्धोन्मादी ‘आर्मचेयर’ पत्रकार र संग्रामी विश्लेषकहरु, जो विनाशकारी इराक युद्धमा सर्वथा गलत साबित भएका थिए, ले फेरि कुनै कारणवश पश्चिमा संस्थापनलाई उक्साउने र तिनलाई सैन्य ज्ञानले प्रबुद्ध तुल्याउनुपर्ने आवश्यकता महसुस गरे । तर, सैन्य र गुप्तचर निकायले दिएका सूचना अझ भन्नुपर्दा मिथ्या सूचना यी ‘विचार निर्माताहरु’ले किन फैल्याइरहेका छन् ? बारम्बार ?
किन कुनै पत्रकारले युक्रेनमा रुसविरुद्ध फलाना हतियार चाहिएको छ भनेर सल्लाह दिन्छ ? जबकि जारी युद्धको सैन्य पक्षबारे हरेक पत्रकारले जानेका सबै कुरा अमेरिकी र पश्चिमा सैन्य तथा गुप्तचर निकायले नै दिएका हुन् । तिनै निकायले ‘इराकको आणविक हतियार’ बारे भ्रम फैल्याएका होइनन् ? यसको कारण हाम्रो नजरबाट लुकेको छ । उनीहरु जनतालाई सम्बोधन गरिरहेका छन्, जर्नेल वा कुनै निर्णयकर्तालाई होइन । उनीहरु युद्धप्रति अमेरिकी समर्थनलाई सामान्यीकरण गरिरहेका छन् र सोही अनुसार जनधारणा निर्माण गर्ने काम गरिरहेका छन् । यो पत्रकारितामाथिको आत्मघाती अपराध हो । यसले उदार लोकतन्त्रमाथिको जनविश्वासलाई कमजोर तुल्याउँछ । जब पश्चिमा सरकारहरु नैतिक आक्रोश व्यक्त गर्छन्, यी ‘विचार निर्माताहरु’ रुसप्रति अझ बढी आक्रोश व्यक्त हुनुपर्ने माग गर्छन् । अमेरिकी सरकारले जब पछिल्लो पटक युक्रेनलाई ३३ अर्ब डलरको सैन्य र आर्थिक सहयोग ग¥यो, तब एउटा प्रभावशाली सञ्चारमाध्यमले आणविक युद्धको खतरालाई जान्दाजान्दै अमेरिकाले अझ ठूलो योगदान र अझ ठूलो जोखिम मोल्नुपर्ने माग राख्यो ।
त्यसैगरी, जब राष्ट्रपति जो बाइडेनले पुटिनलाई युद्ध अपराधी भन्दै उनलाई सत्ताच्यूत गर्नुपर्ने बताए, तब सञ्चारमाध्यमका विश्लेषकहरुले बाइडेनभन्दा एक कदम अघि बढेर पुटिनलाई दुष्ट भने र रुसमा सत्ता परिवर्तन गर्ने बाइडेनको टिप्पणी फिर्ता नलिन ह्वाइट हाउसलाई आग्रह गरे । यसको अर्थ विश्लेषकहरुले प्रतिरोध, मुक्ति र न्यायको वकालत गर्नुहुँदैन भनेको होइन । उनीहरुले त्यसको वकालत गर्नैपर्छ । युद्धका दुखान्तहरुलाई सार्वजनिक गर्ने विषयमा पत्रकारहरु पछि परेका छन् पनि भन्न खोजेको होइन। थुप्रैले यो काम गरेका छन् । जब युद्धको कुरा आउँछ, तब सत्यमाथि प्रकाश पार्न सञ्चारमाध्यम आनिवार्य छ। तर, आफूले चाहेको नतिजा निकाल्न दबाब दिने काम सञ्चारमाध्यमको होइन । प्रचार होइन, बढीभन्दा बढी तथ्य उपलब्ध गराउने, युद्धमैदानको रणनीति होइन, युद्धको विश्लेषण पस्किने र हिंसा भड्काउने होइन, शान्ति प्रबद्र्धन गर्ने काम सञ्चारमाध्यमको हो । सञ्चारमाध्यमलाई हतियारजसरी प्रयोग गर्ने काम लोकतन्त्रलाई होइन, निरंकुशतन्त्रलाई बढ्ता सुहाउँछ । यसले कूटनीतिको सम्भावनालाई कमजोर तुल्याउँछ र समय आएपछि शान्तिपूर्ण सम्झौतामा पुग्न वा त्यसलाई स्वीकार्न कठिन बनाउँछ । जबकि शान्तिपूर्ण सम्झौता अनिवार्य हो, सारा युक्रेनीको हितका लागि, हामी सबैको हितका लागि । (अल जजिराबाट)





