पोखरामा एमालेबाट मेयरका प्रत्यासी कृष्ण थापाभन्दा गठबन्धनका उम्मेदवार धनराज आचार्य अगाडि देखिएपछि एमालेभित्र अन्तरघात र उम्मेदवार चयन प्रक्रियालाई लिएर आरोप–प्रत्यारोप चलेको छ । आरोपबाट एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि मुक्त छैनन् । यही विषयमा केन्द्रीत रहेर हामीले एमाले उपमहासचिव गुरुङसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ–उनीसँगको कुराकानी ।
एमालेको लागि चुनावको पछिल्लो परिणाम अपेक्षित पक्कै हैन, अनेपेक्षित किन भयो ?
पहिलो कुरा त २६–२७ गते गएपछि परिस्थिति पल्टियो, सत्ताको व्यापक दुरुपयोग भयो । पैसाको खोलो बग्यो । तर सारमा भन्दा त्यत्रो ५ दलले घेराबन्दी गर्दा नेकपा एमालेले जति सिट प्राप्त ग¥यो । त्यो उत्साहजनक छ भन्ने लाग्छ ।
वाम गठबन्धनको २०७० मै लमजुङमा प्रयोग गर्नुभयो, ७४ मा पनि त्यही गर्नुभयो । मुख्यमन्त्रीको रुपमा अन्तिम सयमसम्म पनि वाम गठबन्धनलाई जोड दिनुभयो । चुनावी परिणामले वाम गठबन्धनको आवश्यता पुनः महशुस भएन र ?
सत्ता गठन्धन चाहिँ मुलुकको अहितमा थियो । प्रतिगमनको पक्ष थियो । लोकतन्त्र र संघीयताको पक्षमा थिएन । ९÷१० महिनाको कार्यकालले पुष्टि गरेको छ । त्यो समृद्धि र सुशासनको पक्षमा थिएन । खालि प्रगिगमन भयो भनेर उनीहरुले राजनीतिक स्टण्टबाजीमात्रै गरेको हो । यो गठबन्धन हुनु नै गलत थियो । वामपन्थीले कांग्रेससँग गठबन्धन गर्नुं नै खराब कुरा थियो । यो प्रतिगामी कदम थियो । उनीहरुले पहिचान गुमाएको कदम थियो । अब वाम गठबन्धन गर्ने कुरामा चाहिँ मेरो हिजो पनि विचार थियो, आज पनि विचार छ । मैले भनेका कुराहरु कति सान्दर्भिक रहेछन् भन्ने आज पुष्टि भयो (चुनावी परिणामले ) । त्यसकारण अहिलेको परिणामले वाम गठबन्धनको अझ आवश्यकता र औचित्य पुष्टि गर्छ ।
उपमहासचिव भएको नाताले यो अभियान सुरु गर्नुहुन्छ पार्टीभित्र । यो विचार केन्द्रीय कमिटीको बैठकमा लैजानुहुन्छ ?
म त हिजो त्यही पक्षमा थिएँ, आज पनि त्यही पक्षमा छु । तर, पार्टीमा कहिले–कहिले एउटाको विचार नपुग्न सक्छ । सिंगो पार्टीलाई कन्भिन्स गर्नसक्ने स्थिति बनेन । परमादेशबाट सरकार बनाएपछि हाम्रो अभियानविरुद्ध मान्छेहरु लागे । त्यसले गर्दा, अब फेरि पनि पछिल्लो परिणामले सबैलाई अवसर सिर्जना भएकै हुनुपर्छ । सत्ता गठबन्धनमा लागेको वामपन्थीहरुलाई पनि,अब एक्लो पर्दा अलिकति असजिलो हुँदो रहेछ भन्ने हामीहरुलाई पनि महशुस भएको हुनुुपर्छ । फेरि पनि अभियान अगाडि जानुपर्छ । वाम गठबन्धन हिजो पनि सही थियो तर पार्टीले निर्णय गर्नुप¥यो । पार्टीले निर्णय गरेमा अब त्यो अभियानमा हामी लाग्नुप¥यो नि हामी । तर, उनीहरुको पनि चाहना हुनुप¥यो नि, खासगरी माओवादीका नेताहरुले । उहाँहरु कांग्रेस तर्किन्छ कि भन्नेमा बढी ध्यान केन्द्रीत गरे । सत्ता गठबन्धनको चाहना त बढी उहाँहरुले गरेको हो ।
हजुरमाथि पनि आक्षेपहरु आए त !
पोखरामा त हारको खोजी गरे,अरु महानगरपालिकामा के गर्ने नि ? अरु महानगरपालिकामा कति मत ल्याछ ? कति अपमानजनक मतले हारेको छ ? त्यो सबै जनताको सेन्टिमेण्ट क्याच गर्न नसकेर हाम्रो विरुद्धमा गएको मान्नुप¥यो नि । बुटबल उपमहागरले त्यही देखाउँछ, विराटनगरले त्यही देखाउँछ । भरतपुर डिजास्टर भा’छ, हाम्रो लागि । वीरगञ्जले त्यही देखाउँछ । काठमाडौं झन डिजास्टर भा’छ । आफ्नो मत ल्याएकै छ,ललितपुरले बरु । अध्यक्ष र उपमेयरको मत बराबरजस्तै छ, तुलनात्मक रुपमा । तर, अन्यत्र त्यस्तो देखिएन । लागेकै हो । हामीले ३० वटा जित्छौँ भनेर लागेको ठाउँ( पोखरा) मा १० वटा पु¥याउन गाह्रो भो । हाम्रो वडाहरुमा सदस्यहरु जित्ने वडाध्यक्षहरु हार्ने भयो ।
यसमा तपाईंको पनि दोष छ भन्दै, अर्को नेतासँगको अन्तरद्वन्द्वसँग जोडेर आरोप लगाइरहेका छन् नि त !
मलाई नचिन्नेहरुले भन्ने कुरा हो यो । यही मौका छोपेर मलाई ताछ्न सकिन्छ,कर्नरमा पार्न सकिन्छ भनेर भन्ने कुरा हो । संर्कीण सोचले गर्ने कुरा हो यो । एकजना मान्छेले । एकजना मान्छे देखाउनुहोस्,मैले गलत बोलेको छु भने, आफ्ना पार्टीका उम्मेदवारको विपक्षमा उभिएको छु भने र केन्द्रको निर्णयको विरुद्धमा उभिएको छु भने ! आफ्नो असफलताको,रिसको दोष अर्कालाई दिन बहानावाजी खोज्नु आफैमा अवसरवादीहरुको काम हो ।
त्यसो भए, तपाईंमाथि प्रहार किन त ?
अहिलेको परिणाम हेर्ने हो भने, सातवटा प्रदेशमध्ये गण्डकीले मात्रै आफ्नो विरासत कायम गर्न सकेको हो । गण्डकीमात्रै हो, हिजो हामीले ३५ सिट जितेका थियौँ, आज पनि ३५ सिट जितेका छौँ । वडाध्ययक्ष हिजोभन्दा बढी जितेका छौँ । हिजोभन्दा अहिले ठूलो प्रगति भएको छ । त्यसमा पनि पृथ्वीसुब्बाको भूमिका थियो भन्नुपर्ने होला । अनि एकीकृत समाजवादी बन्यो । त्यसको सबैभन्दा कम प्रभाव पर्न दिएको, हाम्रो प्रदेश पहिलो हो । त्यसमा पनि यहाँको इन्चार्ज/मुख्यमन्त्री भएर बसेको मान्छेको भूमिका खोज्नुपर्ने होला । अहिले पनि हामीले विरासत जोगाएका छौँ । पार्टी एकता कायम गरेर बसेका छौँ । त्यस्तो व्यक्तिलाई अन्तरघातीको बिल्ला भिराएर बुङ्गो–बाङ्गो बनाउन खोज्ने मान्छेहरुले बुझ्नुपर्ने कुरा के छ भने,सत्य डग्दैन । झुटो टिक्दैन । मैले तुरुन्त प्रतिवाद नगरेको कारण यही हो ।
टिकट वितरणमा कमजोरी भएजस्तो लाग्दैन ?
उनीहरु (गठबन्धन) को ध्यान मेयर–उपमेयर, पालिका अध्यक्ष–उपाध्यक्षमा र वडाध्यक्षमा जसरी पनि जित्ने स्टाटे«जी रहेछ नि त । गाउँपालिकाको अध्यक्ष र मेयरको विरुद्धमा उनीहरुको सबै शक्ति केन्द्रीत भएको देखियो । हाम्रो त्यसमा ध्यान नपुगेको जस्तो देखियो । फस्र्टम्यान उठाउँदा धेरै पपुलर, कम विवादित मान्छे उठाउनुपर्ने रहेछ भन्ने देखियो ।
तपाईं र खगराज अधिकारी ( संगठन विभाग प्रमुख) बीचमा कार्यगत शैलीमा कतै अन्तरद्वन्द्व हो र ? अहिले यो विषय चर्चामा छ !
मसँग त जुधेर कहिल्यै छलफल हुँदैन । कमिटीहरुमा कहिल्यै डिबेट हुँदैन । जसले राजनीति बुझेको छैन,त्यसले गर्ने कुरा हो । यहाँ केही मान्छेहरुले खगराजजीको ओत लागेर आफ्नो राजनीति गर्ने,कोही खगराजविरुद्धमा देखिने प्रवृत्ति गलत हो । सारमा खगराजजी र मेरो विचारमा,सिद्धान्तमा कहिँकतै फरक देखिँदैन, छैन ।





