बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

के हो धातुरोग (गनोरिया)

के हो धातुरोग (गनोरिया)


  • कृष्ण कुमार सैजु
  • जेष्ठ २० २०७९, शुक्रबार

विभिन्न यौन संक्रामक रोगहरुमध्ये गनोरिया (न्यलयचचजभब) आम रुपमा देखिने समस्या हो । यसलाई धातुरोग पनि भनिन्छ । यस रोगमा यौनांग सुन्निने र यौनांगका वरिपरि घाऊ हुने गर्छ । यो रोग नेपाल भारतजस्ता मुलुकमा तीब्र गतिमा फैलिरहेको कुरा विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ । त्यसैले हामीहरु यो रोगका बारेमा प्रसस्त जानकारी लिई विज्ञ हुनु सँगै यो रोगबाट जोगिनका लागि सजग हुनु आवश्यक छ ।

गनोरिया समयमै उपचार गरेमा निको हुने भए पनि कहिलेकाहीं एसले गम्भीर जटिलताहरु पैदा गर्ने गरेको देखिएको छ । यसमा पेल्भिकभाग अर्थात् कटी प्रदेश सुन्निएको पाइन्छ । महिलाहरुमा यसले पाठेघर तथा डिम्बबाहिनी नली सुन्निने समस्या ल्याउँछ । निजेरियागनोरिया नामक ब्याक्टेरियाबाट यो रोग लाग्दछ ।

जोखिम

गनोरियासँगै अर्को यौन संक्रामक रोग क्लामिडिया हुन सक्छ । लामो समयसम्म गनोरियाको उपचार गरिएन भने एचआईभी हुने सम्भावनामा वृद्धि हुन्छ । गनोरियाले बाँझोपनको समस्या देखा पर्न सक्छ । पुरुषहरुमा गनोरियाका कारण इपिडिडाइमिटिस देखा पर्न सक्छ जसमा शुक्राणूको उत्पादनमा ह्रास आउने हुन्छ । बाथको समस्या देखा पर्न सक्छ ।

लक्षण

गनोरियाका ब्याक्टेरियाको प्रवेशसँगै लक्षण देखिइहाल्छन् भन्ने हुँदैन । कसैमा छिटै देखिन्छन् भने कसैमा १४ दिनमा देखिन सक्छन् । यसका लक्षणहरु पुरुषमा र स्त्रीमा अलिकता भिन्न रुपमा देखिन्छन्ः
पुरुषमा देखिने लक्षण
–शिश्नबाट हल्का सेतोदेखि लिएर हल्का हरियो पीप जस्तो देखिने पानी बग्नु ।
–शिश्नको अगाडीको छाला तथा सुपारी सुन्निनु । अण्डकोष दुख्नु ।
–तारन्तार पिसाब आउनु र पिसाब फेर्दा पीडा हुनु ।
–दिसा गर्दा पनि दुख्नु र गुदद्वारमा चिलाउनु ।
–घाँटी दुख्नु र निल्न गाह्रो हुनु ।
–आँखा दुख्नु र आँखाबाट पनि पीप बग्नु ।
–जोर्नीहरु दुख्नु, सुन्निनु र तात्नु ।
स्त्रीमा देखिने लक्षण
–यौनक्रिया गर्दा बढी पीडा हुनु ।
–ज्वरो आउनु ।
–योनीबाट हल्का सेतोदेखि लिएर हल्का हरियो पीप जस्तो पानी बग्नु ।
–योनीको मुख सुन्निनु ।
–महीनाबारीको बीचमा पनि रक्तस्राव हुनु ।
–यौन सम्बन्ध राखिसकेपछि रक्तस्राव हुनु ।
–बान्ता हुनु, पेट तथा कम्मर दुख्नु ।
–बारम्बार पिसाब हुनु र पिसाब फेर्दा पीडा हुनु ।
–घाँटी दुख्नु, चिलाउनु र निल्न अफ्ठेरो हुनु ।
–आँखा दुख्नु, पाक्नु तथा आँखाबाट पीप बग्नु ।
–जोर्नीहरु दुख्नु, सुन्निनु र तात्नु ।

कारण

गनोरिया हुनुको मुख्य कारण भनेको निजेरिया गनोरिया नामक ब्याक्टेरियाको संक्रमण हो । यसले प्रजनन अंगलाई मात्रै हानि नपुर्याएर आँखा, मुख, घाँटी, गुदा, यौनाङ्गका म्यूकस मेम्ब्रेनलाई प्रभावित पार्नुसँगै ठूलो क्षति पुर्याउँछ । यो संक्रमण यौन सम्पर्कका कारण संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा सर्दछ । यो रोग संक्रमित आमाबाट नवजात शिशुमा पनि सर्ने सम्भावना हुन्छ ।

रोगको निदान

बिरामीको शरीरमा यसका लक्षण हेरेर र बिरामीले अनुभव गरेका समस्या सुनेर डाक्टरले यस रोगको अन्दाज गर्न सक्ने छन् । गनोरियाको पहिचान गर्न पोलिमरेज चेन रियाक्सनमा आधारित प्रविधिको उपयोग गरिन्छ । पिसाबको परीक्षणसँगै यौनांगको स्वाब लिएर सोको परीक्षणसमेत गर्न सकिन्छ । प्रयोगशालामा रगत कल्चर गरेर एन्टिबायोटिक औषधिहरुको प्रभावकारिताको परीक्षण गरिन्छ । गनोरियाको परीक्षण गर्दा क्लामिडिया, भिरिङ्गी तथा एचआईभी जस्ता अन्य यौनरोगका लागि पनि परीक्षण गरिनु पर्छ ।

यस रोगका कारण निम्तिने थप समस्याहरु

यो रोग आँफैमा एउटा समस्या त हो नै । त्यसमाथी यस रोगका कारण निम्न समस्याहरु पनि निम्तिने गर्छन्– एड्स, भिरिङ्गी जस्ता संक्रमणजन्य यौन रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ । सामाजिक रूपमा बहिष्कृत हुन सक्ने सम्भावना प्रबल हुन्छ । कसैसँग प्रेममा परेको भए प्रेम टुट्ने तथा विवाहित भए सम्बन्ध विच्छेद हुने सम्भावना हुन्छ । यौन सम्बन्धले तत्काल राहतको अनुभूति भए पनि त्यो क्षणिक हुन्छ । तर त्यसले दीर्घकालीन रूपमा नकारात्मक असर पार्दछ । यो समस्याले ग्रसित मान्छेहरु मादक पदार्थ तथा लागूपदार्थका अम्मली हुने सम्भावना अत्यधिक हुन्छ ।

उपचार

गनोरियाको उपचार गर्दा निम्न कुरामा ध्यान दिइन्छ –एन्टिबायोटिक : डाक्टरले बिरामीको अवस्था हेरेर सेफ्ट्रियाक्जोनको एक शटसँगै एजिथ्रोमाइसिनको प्रयोग गर्न सक्छन् ।
यौनसम्पर्क मा बन्देजः बिरामी रोगबाट पूर्ण निको नहुन्जेल यौनसम्पर्कबाट टाढा रहनुपर्छ ।
औषधि खाँदाखाँदै बीचमा औषधिले काम गरेनगरेको परीक्षण गर्न सकिने छ ।
यदि गर्भवती महिलामा गनोरिया देखियो र उपचारकै क्रममा शिशुको जन्म भयोभने सो शिशुलाई आँखामा लगाउने मलम दिन सकिन्छ ।

रोकथाम

गनोरिया हुन नदिनका लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ –
–जो पायो ऊ सित यौन सम्पर्क नगरेर ।
–यौन सम्पर्क गर्दा कण्डोमको प्रयोग गरेर ।
–यौनाङ्गलाई सदैव सफासुग्घर राखेर ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->