म्याग्दी/ म्याग्दीको पर्यटकीयस्थल टोड्केमा निर्माणधीन हाइअल्टीच्यूड खेलमैदानले गाउँ नै जोखिममा परेको छ । खेलमैदानले मंगला गाउँपालिका–१, पूर्णगाउँमा एक घर पूर्णरुपमा क्षति पुगेको छ भने करिब दुई दर्जनभन्दा बढी घर उच्च जोखिममा छन् । जिल्लाको रघुगङ्गा र मङ्गला,गाउँपालिकाको सिमानामा अवस्थित रहेको टोड्केको खेलमैदानमा मंगलातर्फको संरचनामा ठेकेदारले चरम लापरवाही गरेपछि बस्ती नै जोखिममा परेको मंगला–१ का वडा अध्यक्ष एकजित रोकाले बताए ।
‘खेलमैदानले बस्ती नै जोखिममा परेको छ’,उनले भने,‘संरचना बनाउँदा चरम लापरवाही देखियो ।’ खेलमैदान आसपासबाट खसेको बाढीले पूर्णगाउँको तिलघर र बराहथान बस्ती नै जोखिममा परेको स्थानीयबासीको भनाई छ । टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन मनिषा निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ । पर्खालसहित भलिबल, बास्केटबललगायतका खेलकुद गतिविधिलाई सञ्चालन गर्न मिल्ने खेल मैदान बनाउँदा फालिएको माटोले बाढी चलेको छ ।
खेलमैदान निर्माण गर्न ५१ लाख २० हजार ८८० रुपैयाँ लागत अनुमान गरिए पनि कुल ५ करोडभन्दा बढी लागतमा थप संरचनासमेत बनाइने जनाइएको छ । टोड्के प्राकृतिको अनुपम उपहार, स्वर्गद्धारीको शाखा आश्रम समेत रहेकाले देशका विभिन्न जिल्लाबाट समय समयमा आएर ऋषिमुनिहरु आएर तपस्या गर्ने गरेकाले पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सिमाना जोडिएका तीनै स्थानीय तहले प्रतिवद्धता जनाएका थिए ।





