हामी कतिबेला राजीनामा फाल्ने हो, विवेक पु¥याएर फाल्छौँ । हामीले ओदाने खुट्टा लगाएर सरकार धानिराख्नुपर्ने भन्ने त छैन् नि !
गण्डकी प्रदेश सरकारको आगमी आर्थिक वर्ष २०८९/२०८० को बजेट भाषण आज ( बुधबार) हुँदैछ । गठबन्धनको सरकार रहेको गण्डकीमा जनता समाजवादी (जसपा) बाट उर्जा,जलश्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले नीति तथा कार्यक्रमको भद्र अवज्ञा गरे । नीति तथा कार्यक्रम पास भइसकेपछि पनि असन्तुष्ट देखिएका मन्त्री आचार्यले बजेट सिलिङको गोपनीयता नै भंग गरिदिए । बजेट विनियोजन र जसपा गण्डकी प्रदेशको धारणाबारे असन्तुष्टि रहेका गण्डकी प्रदेश उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यसँग असन्तुष्टिको सेरोफेरोमा हाम्रा सहकर्मी विजय नेपालीले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश । (सं.)
तपाईंले भद्र अवज्ञा गरेको भन्ने कुरा आएपछि मुख्यमन्त्री तपाईंकै पार्टीमा अर्का सांसद खोज्दै हिँड्नुभयो भन्ने कुरा पनि आयो । पार्टीभित्र त्यस्तो केही समस्या छ र ?
पार्टीभित्र त्यस्तो केही हुँदा पनि होइन् । मन्त्रालयका सचिवज्यू र हामी सबै परिवार कोही पनि उपस्थित थिएनौँ । हाम्रो समग्र मन्त्रालयले नै भद्र अवज्ञा गरेको हो । समग्रमा भन्नुपर्दा हामीले पार्टीभित्र आफ्नै किसिमको छलफल गरिरहेको छौँ । पार्टीमा समस्या केही छैन् । अहिले मुख्यमन्त्रीज्यूले बगलमा खोज्न जाने हो भने त हाम्रो भन्नु केही छैन । होइन भने दलमा खोज्ने हो भने त हामीसँग खोज्नुपर्छ अरुसँग होइन् ।
तपाईँको भनाइ अनुसार अघिल्लो पटक बजेट आउँदा म विना विभागीय मन्त्री थिएँ । त्यतिबेला धेरै आयो तर अहिले मन्त्री हुँदा मागेको बजेट आएन भन्दै नीति तथा कार्यक्रम अवज्ञा गर्नुभयो । आज फेरि परिस्थितिले मात्रै बसेको भन्नुभयो । सत्ता छाड्न पनि नसक्ने, विरोध पनि गर्ने, तपाईं जत्तिको प्रस्ट बोल्ने व्यक्तिलाई यो सुहायो र ?
यो कुनै बार्गेनिङ्ग र कसैसँग केही लिनका लागि गरेको होइन् । यो प्रक्रिया र विधिको विषयलाई उठान गरिएको कुरा हो । लोकतन्त्रको कुरा हो बहिस्कार गर्नपनि पाइन्छ, अवज्ञा गर्न पनि पाइन्छ । सबै कुरा गर्न पाइन्छ । तर, अन्तिममा नतिजामा के गर्ने भन्ने कुरामा विवेक पु¥याउने मात्रै हो । हामी एउटा मिसनका लागि अघि बढेको पार्टी भएको नाताले नैतिकताको आधारमा मात्रै समर्थन गरेका हौँ । त्यो भन्दाबाहेक हामीले व्यवहारिक रुपमा समर्थन गर्नपर्छ भन्ने जरुरी छैन् । मैले भन्न खोजेको कुरा पटक–पटक असहमतिको विषयका कुरा राख्दै आएको छु । त्यो प्रस्ट रुपमा उल्लेख छ । मुख्य मन्त्रीसँग वा सम्बन्धित निकाय सबैसँग राम्रैसँग छलफलपनि भएको छ ।
मुख्यमन्त्री र बाबुराम भट्टराईबीच कुराकानी भएपछि तपाईँ पनि सहमतिमा आउनुभयो भन्ने कुरा पनि सुनिन्छ नि । यो सत्य हो ?
साँच्चै भन्ने हो भने संघीयताको अभ्यासमा उहाँहरुले त्यो गर्नुपर्ने जरुरी पनि थिएन् । प्रधानमन्त्रीसँग भन्नुपर्ने, बाबुराम भट्टराईसम्म ल्याउनुपर्ने त्यो आवश्यकता पनि थिएन् । किन ? संघीयताको हो भने त दह्रोसँग यही आफ्नो पार्टीको नेतृत्व छ । प्रदेश समिति छ । त्यहाँ पनि त छन् नि पार्टीका नेता । म त जनता समाजवादी पार्टीको प्रदेशको एउटा जिम्मेवार नेता हुँ । जिम्मेवार नेता भएको हुनाले उहाँहरुले यहाँ पहल गर्न हिम्मत नै नगरेर सिधा–सिधा माथि पु¥याउने अनि माथिबाट चाहिँ हाइ करेन्टको पावर ल्याएर पास गराउन खोज्ने ! यो उहाँहरुको मुर्खतामात्रै हो । त्यो संघीयता विरोधी अभ्यास हो । त्यसैले संघीयता त उहाँहरुलाई चाहिएकै कुरा होइन । यो हामीलाई चाहिएको कुरा हो । त्यसो हुनाले यही अर्थमा बुझ्न मेरो आग्रह छ ।
लामो व्याख्या गर्नुभयो। आफ्नो प्रतिक्रिया जनाउनुभयो । त्यो त छदैँछ तर तपाईंले सरकारमा बस्न पनि आवश्यक छैन् । नयाँ ढंगले पनि जान सकिन्छ भन्ने कुरा पत्रकार सम्मेलनमै भन्नुभयो। यो सरकारप्रति तपाईंको व्यक्तिगत धम्की हो या पार्टीको तर्फबाटै दिएको चेतावनी हो ? आफैले राजिनामा दिए हुन्न ?
यो पार्टीको….(एकैछिन अड्किएर) तर्फबाट नै हो । यो कुनै व्यक्तिगत चाहना र व्यक्तिगत हिसाबले राखेको विषयबस्तुपनि होइन् । हामी त निरन्तर केन्द्रमा पनि संघर्षमा छौँ । यहाँपनि संघर्षमै छौँ । अहिले मुख लुकाएर बस्नुपर्ने जरुरी पनि छैन् । केन्द्रमा पनि कतिपय चिज लोकतान्त्रिक तरिकाबाट उठाएका छौँ । केन्द्रमा राखेका कुराले अझ केन्द्रीय महत्व राख्ला । यहाँ राखेको कुराले प्रदेशभित्रै अर्थ राख्ला तर यसको महत्वको कुरा के हुन्छ भने, केन्द्रकोभन्दा अलिकति कम हो । फरक त्यतिमात्रै हुन्छ । हामीले अहिलेसम्म लोकतान्त्रि तरिकाले नै अघि बढेका छौँ । पहिलो कुरा हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो । हामी लोकतान्त्रिक हिसाबले अरुको जस्तो भद्धा लोकतान्त्रिक अभ्यास गर्ने होइन, वास्तविक लोकतन्त्रको अभ्यास गर्छाँै । अरुहरु राजीनामा फालिसकेपछि पनि त्यहीँ बस्छन् तर हामीले राजीनामा फालेका छैनौँ । हामी कतिबेला फाल्ने हो, विवेक पु¥याएर फाल्छौँ । त्यतिमात्रै हो ।
कहिले दिनुहुन्छ राजीनामा ?
त्यो त समय आएपछि मात्रै थाहा हुन्छ । फाल्ने बेला आएपछि परिपक्व परिस्थितिमा हेरेर राजीनामा फाल्ने हो ।
नीति तथा कार्यक्रममा तपाईँले भनेजस्तो बजेट नआउँने अनि कहिलेसम्म त्यहि सरकारमा टाँसिएर बस्नुहन्छ ?
टाँसिने कुरै होइन । यो त एउटा विधि र प्रक्रियाभित्र रहेर गर्ने कुरा हो । त्यो भएर त्यो टाँसिने र नटासिने भन्ने कुरा अर्थ संगत छैन् ।
हाम्रो व्यवस्थालाई हेर्ने हो भने केन्द्रमा प्रधानमन्त्रीले मन्त्रीपरिषद्मा जे निणर्य ग¥यो त्यो निर्णय सदर गनुपर्ने व्यवस्था हुन्छ । प्रदेश सरकारमा पनि त्यही हो । जतिबेला आफू अनुकुल हुँदैन, त्यतिबेला मन्त्रिपरिषद् फेरवदल गर्ने अधिकार हुन्छ । यहाँ किन यस्तो भइरहेको छ ? तपाईँले फरक अभ्यास गर्न खोज्नुभएको हो कि चित्त नबुझेर हो ? अर्को कुरा तपाईँ कुन नैतिकताका आधारमा सरकारमा बसिरहनुभएको छ ?
नैतिकताको कुरा होइन । यो त लोकतन्त्रको अभ्यासको कुरा हो । लोकतन्त्रको प्रयोग निरन्तर रुपमा गर्छौ । नैतिकताको कुरै होइन नि । मैले सरकारमा आँच आउने काम गरेको भए मात्रै नैतिकताको कुरा आउँछ । मेलै त सरकारको राम्रो होस् भनेर काम गरिराखेको छु । सरकारको आचरण वा सरकारको काम गर्ने शैलीमा मैले आँच आउने काम गरेँ भनेमात्रै मलाई सरकारले बर्खास्त गर्न सक्छ । होइन भने मैले त सरकारले गलत गर्दै यो यसलाई सच्याएर लैजाऊँ भन्दै गर्दा त्यो त सरकारको शान राख्ने काम गर्न खोजेको होला नि त । त्यो गलत हो की सही हो, तपाईँ हामीले छुट्याउने कुरा हो । हामीले सबै कुरा पार्टीलाई जानकार गराई राखेका छौँ । पार्टीले छोड् भनेको दिनमा छाड्ने हो । तपाईले अघि भनेझैँ यो कुरा बाबुराम भट्टराईसम्म पुग्दा पनि मिलेको छैन । यो मिल्ने कुरा पनि होइन् । अघिल्लो वर्ष जति बजेट दिएको थियो । अहिले त्यो भन्दा कम बजेट दिएर तपाईँले थप कार्यक्रम गर्नुहोस् भनेर दियो भने तपार्इंले कसरी गर्न सक्नुहुन्छ ? बर्खास्त गर्ने अधिकार उहाँलाई छ । बर्खास्त गर्नुभयो भने हामी सहर्ष स्वीकार्छाँै ।
भनेको बजेट पुगेन बढाइदेऊ भन्नुभएको हो ?
त्यो त सत्य हो नि। तपाईँ आफै हेर्नुहोस् न ! ३६ अर्बको बजेट बनाउँदा अहिले २ अर्ब बनाउँदै हुनुहुन्छ । हिजो ३० अर्बको बजेट बनाउँदा ३ अर्ब दिनुभएको थियो । हिजोका क्रमागत आयोजनाहरु हेर्नुहोस् । १ हजार ७ सय १५ ओटा क्रमागत आयोजनाहरु छन् । त्यसलाई २० लाख रुपैयाँका दरले बाँड्दा पनि ३ अर्ब ४३ करोड रुपैयाँ बजेट चाहिन्छ । हामीलाई दिइएको छ २ अर्ब बजेट ।
सरकार बन्दादेखि नै तपार्इंले सरकार ढाल्छु भन्नुभएको थियो । स्थानीय निर्वाचनको समयमा पनि तपाईँले यो सरकार ढाल्दिन्छु भन्ने धम्की दिनुभएको थियो । मंसिरमा निर्वाचन हुँदैछ । मंसिर अघि नै यो घुर्की पूरा हुन्छ कि त्यसै सकिन्छ ?
यो घुर्की होइन, लोकतन्त्रको अभ्यास हो । यसलाई सकरात्मक तरिकाले बुझौँ । सायद स्थानीय तहको निर्वाचन आसपास नकरात्मक तरिकाले घट्ना विकसित भएको भए त्यो हुन पनि सक्थ्यो । हामी त्यो पनि हेरिरहेका थियौँ । अहिले आउँदा पनि हामी सकारात्मक तरिकाले नै हेरिरहेका छौँ तर त्यो पाइराखेका छैनौँ र सकरात्मक तरिकाले लिने किसिमको वातावरण पनि अझै बनिराखेको छैन् । छलफलमै छौँ अझैपनि । हामीले मात्रै सरकार बचाउन पर्छ, टिकाउनुपर्छ भन्ने छैन नि । हामीले ओदाने खुट्टा लगाएर सरकार धानिराख्नुपर्ने भन्ने त छैन् नि ।
तपाईहरु बाहिर जाँदा त मुख्यमन्त्रीलाई सोधर जानुपर्ने हुन्छ भने त्यहि क्याबिनेटमा पास गरेको नीति तथा कार्यक्रममा विरोध गर्ने, भद्र अवज्ञा गर्ने बजेटमा असहमति राखेर त्यही सरकारको विपक्षमा जानु ,यो त नैतिक प्रश्नको कुरा होला नि त ?
नैतिक प्रश्नको कुरा यदि कसैले मलाई देखाउँछ भने त्यो मुख्यमन्त्रीलाई नै देखाओस् । मुख्यमन्त्रीज्यूलाई बर्खास्त गर्ने अधिकार छ । त्यो उहाँले गर्न पाउनुहुन्छ ।
कुन मन्त्रालयलाई कति बजेट भन्ने कुरा बजेटको सिलिङभित्रको गोपनीयतामा पर्ने कुरा हो तर तपाईँले हाम्रो मन्त्रालयको बजेट यति भनेर सार्वजानिक गर्नु गोपनीयता भंग भएन ?
एउटा कुरा के हुन्छ भने बजेट बनाउँदा पनि त कम्तिमा क्याविनेटमा मन्त्रीहरुलाई पनि जानकारी नगराई गरिन्छ भने हामी मात्रै सिमाभित्र बस्नुपर्छ भन्ने छैन् । नीति, विधि बनाउनेहरुले त विधि र प्रक्रिया अनुसा बजेट बनाउनु पर्ला नि त ! विधि र प्रक्रिया उनीहरुले चाहिँ तोड्न हुने अनि हामी बाँधिएर बस्नुपर्ने भन्ने मान्यता हुँदैन । यो जरुरी छैन् ।
आज प्रदेशको बजेट भाषण हुँदैछ । यदि बजेट भाषणमा तपाईँहरुले भने जस्तो बजेट आएन भने के हुन्छ ? सच्चिएर आए त ठीकै होला । आएन भने तपाईंहरुको कदम के हुन्छ ?
बजेट कुन प्रकृतिले आउँछ। उहाँहरुले सच्याएर ल्याउनु हुन्छ वा पहिलाकै ल्याउनु हुन्छ त्यो ढंगले आउँछ त्यो हेर्न बाँकी नै छ । त्यो हेर्छौ । त्यो हेरिसकेपछि बल्ल हामी छलफल गर्छौँ ।
अर्को कुरा भनेको सच्चिएर आउँने स्थिति नै छैन् । किनकि त्यो योजना आएर साथीहरु खुसी भएर पनि गइसक्नुभयो । व्यक्ति खुसी बनाउने कि जनता खुसी बनाउने ? आवश्यकतालाई बोध गरेर सन्तुलित ढंगले अघि बढ्न सक्नुप¥यो । आवश्यकता कहाँ के मा छ भनेर काम गर्न नलागिकन जुन तरिकाले जानुभएको छ, त्यो गलत छ त्यो सच्याउने तर्फ हामी जादैँ छौँ । मुख्य मन्त्री र अर्थमन्त्रीले बजेट विनियोजन गर्ने होइन् ।उहाँहरुले त बजेट व्यवस्थापन गर्ने हो । बजेट विनियोजन गर्ने कार्यक्रम बनाउने सम्बन्धित मन्त्रालयको जिम्मेवारी हो । कस्तो आउँछ त्यो अनुसारको हाम्रो कदम हुन्छ ।





