पोखरामा यतिबेला हेम्जा युनाइटेड क्लबको आयोजनामा पहिलो पटक ए डिभिजन क्लब सम्मिलित शुभकामना गोल्डकप फुटबल प्रतियोगिता भइरहेको छ । आहा रारा गोल्डकपपछि शुभकामना गोल्डकपको जन्म भएको छ । सहारा क्लबलेझैँ हेम्जा क्लबले पनि फुटबल एकेडेमी संचालानार्थ गोल्डकप प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताले निरन्तरता पाउँछ वा पाउँदैन ? हेर्न बाँकी नै छ । पोखरामा यसअघि पनि गोल्डकप भएकै हो तर, त्यसले निरन्तरता पाउन सकेन । पोखरामा हेम्जाले गरेको प्रतियोगिता र एकेडेमी संचालनबारे हेम्जा युनाइटेडका अध्यक्ष ईन्द्र कुँवरसँग गरिएको कुराकानीको सम्पादित अशं । सं.
छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलका सबै खेल सकिए । समग्रमा प्रतियोगिता कस्तो चलिरहेको छ ?
समग्रमा भन्नुपर्दा यो प्रतियोगितालाई मौसमले साथ दिएको छ । हामीलाई प्रतियोगिता व्यवस्थापनतर्फ भन्दा पनि मौसमप्रति अलि बढी नै डर छ । तर, क्वाटरफाइनल समीकरण सकिँदासम्ममा मौसमले पनि साथ दिएकै कारणले पनि प्रतियोगिता भव्य र सभ्य रुपमा चलिरहेको छ ।
पहिलो पटक गोल्डकपको आयोजना गर्दै हुनुहुन्छ । यसको प्रेरणा कसरी मिल्यो, किन तपाईँहरुले गोल्डकप नै गर्ने योजना बनाएर अघि बढ्नुभयो ?
यसको प्रेरणा भनेकै कास्की फुटबलको हब भएका कारणले नै हो । अहिलेसम्म पोखराको बजार क्षेत्रमा मात्रै गोल्डकप हुँदै आइरहेको थियो त्यसैको सिको पनि हो यो र अर्को कुरा भनेको बजार क्षेत्रबाट अलि पर हाम्रो यो ग्रामीण क्षेत्र हुँदासमेत पुराना केही खेलाडीले राष्ट्रिय स्तरका खेलहरु पनि खेलेको र मोफसलका प्रतियोगितामा समेत उहाँहरुले प्रदर्शनी गरेको खेलको प्रेरणाले पनि हामीले यो प्रतियोगिता गर्ने आँट गरेका हौँ ।
पाँचौ संस्करणसम्म स्थानीय स्तरको प्रतियोगितामात्रै संचालन गर्नुभएको थियो गोल्डकप नै गर्नुको खास कारण के हो र यहाँ फुटबल एकेडेमी पनि छन त्यो कसरी संचालन भइरहेको छ त ?
हामीले २०७० सालदेखि शुभकामना कप भनेर प्रतियोगिता गरेका थियौँ । निरन्तर २०७५ सालसम्म प्रतियोगिता चलिरहँदा २०७६ सालमा मैदान स्तरोन्नतिका कारणले प्रतियोगिता संचालन गर्न पाएनौँ त्यसपछि कोरोना भाइरसका कारणले पनि प्रतियोगिता गर्न पाएनौ । जसका कारण २ वर्ष खेर गयो । र गोल्डकप नै किन राख्नुपर्छ भन्ने प्रश्नमा हाम्रो उदेश्य भनेको यहाँको खेल, खेलाडी र संचालनमा आएको एकेडेमी चलाउनका लागि नै हो । हामीसँग अहिले यहाँका स्थानीय खेलाडीहरु नभएको अवस्था छ । तर, हाम्रो लक्ष्य भनेको अबका २ वर्षमा हाम्रो एकेडेमीबाट उत्पादन भएका खेलाडीलाई राष्ट्रिय स्तरमा पु¥याउने र यो क्लबलाई उत्कृष्ट नमूना क्लबको रुपमा विकास गरी खेलाडी उत्पादनमा जोड दिने हाम्रो लक्ष्य छ । अर्को कुरा भनेको हामीले यहाँ एकेडेमी राम्रोसँग संचालन गरिरहेका छौँ । हामीले ट्रयाक, जर्सी स्वयम् उपलब्ध गराएका छौँ । हामीले २ जना प्रशिक्षक राखेका छौँ । उहाँहरुले हप्ताको ४ दिन विहान प्रशिक्षण गराउनुहुन्छ । हामीले प्रशिक्षर्थी खेलाडीबाट मासिक पाँच सयका दरले रकम उठाउने गरेका छौँ र बाँकी भनेको क्लबकै साथीभाइबाट उठाएर प्रशिक्षकलाई पारिश्रमिक, खेल सामग्री किन्ने सबै काम चाहि गरिरहेका छौँ ।
एकेडेमीमा अहिले कति खेलाडी रहेका छन् ?
हाम्रो एकेडेमीमा अहिले ५६/७० जना बालकहरु प्रशिक्षण गरिरहेका छन् । हामीले ३ उमेर समुहका खेलाडीलाई प्रशिक्षण दिइरहेका छाँै यु–१३, यु–१४ र यु–१६ उमेर समूहलाई ।
तपाईँहरुले संचालन गर्दै आएको अघिल्लो शुभकामना कप र गोल्डकपमा के भिन्नता छ ? यी दुई प्रतियोगिताको स्तर कस्तो छ ?
यसमा धेरै नै फरक छ । किनभने शुभकामना कप भनेर आयोजना गर्दा टोल टोलका क्लबहरुको सहभागिता रहेको थियो । र सहयोगकर्ताले पनि त्यति चासो नदेखाएको हामीले पाएको थियौँ । अहिले गोल्डकप गर्दा हामीलाई आर्थिक सहयोग पनि खुलेरै गरिराख्नुभएको छ । यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरु समेत आउने हुँदा यसको स्तर त्यसै बढ्ने गर्छ । गोल्डकप आफैमा सबैभन्दा ठूलो स्तरको खेल पनि हो । अहिले हामीले चौधरी ग्रुपको समेत साथ पाएका छौँ । हामीले विदेशीसहित उत्कृष्ट खेलाडी सहितको टिम ल्याउँदा यहाँका नागरिकमा पनि छुट्टै उत्साह देखेका छौँ ।
मैदानको स्तर कस्तो छ ? यो अन्तर्राष्ट्रिय मापदण्डको छ कि छैन ? पहिला र अहिले कस्तो छ ?
वास्तवमै भन्नुपर्दा हामीले आज गोल्डकप गर्नुको कारण पनि हाम्रो मैदानको कारण हो । यो मैदान अहिले स्तरको भएको छ । पहिला यहाँकै स्थानीयहरुले श्रमदान गरेरै मैदान बनाएका हुन् । आज जुन स्तरमा मैदान पुगेको छ त्यो पु¥याउनुमा उहाँहरुको ठुलो हात छ । उहाँहरुले आफैँ खर्च उठाएर लेभलिङ गर्ने काम पनि गराउनु भएकै हो । पहिला प्रतियोगिता गर्दा र अहिले प्रतियोगिता गर्दा आकास जमिनको फरक छ । यसको मापदण्ड अन्तर्राष्ट्रिय नै छ । हामीलाई समस्या भनेको प्यारापिटको हो । जुन रुपमा हामीले बनाउन पर्ने त्यो रुपमा बनाउन सकेनौँ । त्यहि मापदण्ड पुगेकै कारणले हामीले एन्फाबाट मिति पनि पाएका हौँ । हाम्रो यसको क्षेत्रफल ३३ रोपनी हो ।
मोफसलमा प्रतियोगिता गर्दा नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले सहयोग नगरेको गुनासो सुनिँदै आइरहेको छ । यहाँ सहभागी बागमती टिमले पनि मोफसललाई सहयोग नगरेको भन्ने गुनासो गरेर जानुभयो । तपाईहंरुलाई एन्फाबाट सहयोग छ ?
वास्तवमा भन्नुपर्दा एन्फामा राजनीति नै हावी छ । अहिले पनि देखिहाल्नुभयो, दुई प्यानल र आयोजक कुन प्यानलको छ भन्ने कुराले पनि निर्धारन गर्ने रहेछ । किनभने आफ्नै पक्षको छ भने उहाँहरुले सहयोग गर्ने, नभए नगर्ने प्रवित्तिकै कारणले गर्दा यो समस्या आएको हो । हाम्रो यो गोल्डकपका लागि केन्द्र होस् या जिल्ला होस् केही सहयोग प्राप्त भएको छैन । हामीले सल्लाह सुझाव माग्दा समेत उहाँहरुसंग फुर्सद नै छैन् । फुटबल विकास गर्छु भनेर भाषण चाहिँ गर्नुहुन्छ तर व्यवहारमा भने शुन्यता देखिन्छ ।
तपाईँ आफैपनि अखिल नेपाल फुटबल संघअन्तर्गत कास्की जिल्ला फुटबलसंघमा आबद्ध भइसकेको व्यक्ति र तपाईँलाई पनि जानकारी भएकै कुरा हो एन्फा कास्कीले पनि कुनैबेला गोल्डकप गरेकै हो तर पछिल्लो समय प्रतियोगितालाई निरन्तरता दिन सकेन । यहाँ पनि निरन्तरता नपाउने हो की भन्ने प्रश्न उठिरहेको छ नी ?
यो प्रश्न निकै महत्वपूर्ण प्रश्न हो । कास्की एन्फाले विगतमा मनकामना गोल्डकप फुटबल प्रतियोगिता गरेकै हो । तर, हरेक ठाउँमा राजनीति भएकाले पछि समस्या आएको हो । त्यही राजनीतिका कारण प्रतियोगिता बहिस्कार पनि भएको हो । निरन्तरता पाउनका लागि भाइचारा सम्बन्ध हुनुपर्छ, सबैलाई आफन्त बनाएर जानुपर्छ र मुख्य रुपमा आर्थिक पक्ष राम्रो हुनैपर्छ । आर्थिक पक्ष राम्रो भयो भने त्यसले निरन्तरता पाउन सक्छ । हाम्रो पनि यहाँ आर्थिक पाटो राम्रो वा नराम्रो होला तर यो हाम्रो पहिलो अनुभव हो हामी क्लबमा राजनीति गरेका छैनौँ । हेम्जालाई कसरी विकसित र पहिचानयुक्त क्लब बनाउन सक्छौँ भन्ने सोच र चिन्तनले पनि हामीलाई नैतिकताका आधारमा यो प्रतियोगितालाई निरन्तरता दिनै पर्ने हुन्छ । स्थानीयले अहिले जसरी नै हामीलाई सहयोग र साथ दियो भने अवस्य पनि निरन्तरता पाउने छ । यसले निरन्तरता पाउने अर्को कारण भनेको हामीले सिजिको मुख्य प्रायोजन पाउनु पनि हो । उहाँहरुसँग हामीले केही नभए पनि ५–६ वर्षका लागि सम्झौता गर्दै जाने योजना छ । त्यो योजनामा सिजि ग्रुपले पनि प्रतिबद्धता व्यक्त गरेको छ ।
अहिले गोल्डकप गर्दा किन ८ टिमको मात्रै सहभागिता रह्यो जबकि ए डिभिजन क्लब नै १२ वटा रहेका छन् । सबै क्लब किन समेट्न सकिएन ?
हाम्रो यो पहिलो भएकै कारणले हामीले ८ टिम मात्रै सहभागी गराएका हौँ । हामीले सभ्य, भव्य र व्यवस्थित तरिकाले प्रतियोगिता सम्पन्न गराउनका निमित्त नै सबै टिमलाई समेट्न असमर्थ भएका छौं । अर्को कुरा भनेको हाम्रो आर्थिक पाटोका कारणले गर्दा पनि सबै टिमलाई समेट्न नसकेका र ८ टिमलाई नै सहभागी गराएर बर्खायामको समयमा छोटो मीठो प्रतियोगिता गरेका हौँ ।
–प्रस्तुति : विजय नेपाली





