बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘३९ वर्षपछि आएको चाड हो,नवौं खेलकुद’

‘३९ वर्षपछि आएको चाड हो,नवौं खेलकुद’


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०७९, बुधबार

गण्डकी प्रदेशलाई खेलकुदको राजधानीसमेत उपनाम दिइएको छ । खेल र पर्यटन जोडिएको गण्डकीमा आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नेपाली खेलकुदको कुम्भमेला ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना हुँदैछ । प्रतियोगिता तयारी, प्रदेशको खेल पूर्वाधार लगायतको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल स्थल व्यवस्थापन समितिका संयोजक राजेश गुरुङसँग हामीले लामो कुराकानी गरेका छौँ,प्रस्तुत छ,कुराकानीको सम्पादित अंश । (सम्पादक)

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुदैँछ तयारी कस्तो चलिरहेको छ ?

यो ( प्रतियोगिता ) ३९ वर्षपछि हुन लागेको हो । हामीले यसलाई व्यवस्थित गर्नका लागि विभिन्न स्थानमा अहिले पूर्वाधार निरीक्षण गरिरहेका छौं । तयारीको सन्दर्भमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले तीव्र रुपमा कार्यहरु अघि बढाइरहेको छ । प्रतियोगिता सम्पन्न गराउनका लागि मुल आयोजक समितिसहित विभिन्न उपसमिति गठन गरी अहिले ती उपसमितिहरुले पनि आफ्नो काम अघि बढाइरहेका छन् ।

प्रदेशको खेल पूर्वाधारको अवस्था कस्तो छ ?

प्रदेशको पूर्वाधारको कुरा गर्नुपर्दा यस अघि पोखरामा १३ औँ साग गेमका केही खेलहरु गराउँदा अधिकांश पूर्वाधार तयार भएकै छन् । प्रतियोगिता पोखरामा मात्रै होइन्, गण्डकी प्रदेशका ११ वटै जिल्लामा हुँदैछ । जुन जिल्लामा जुन खेलको पूर्वाधार छ, सोही अनुसार हामीले खेल खेलाउने हो । त्यसो हुनाले अहिले पूर्वाधारको अवस्था राम्रै भन्नुपर्छ । १३ औं सागले पोखरा रंगशालामा मात्रे नभई लामाचौरको गोस्तेघाट भयो, हेम्जाको गौरीशंकर खेलमैदानसमेत बनेको छ । तीबाहेक पोखरा रंगशालामा केही कुराहरु बाँकी रहेका छन् । ती पूर्वाधार निर्माण गर्न आवश्यक रहेको छ । हामीले प्रदेशमा रहेका विभागहरुसँग पनि कुरा गरेका छौँ । पूर्वाधारको हिसाबले कमी हुनेछैन् ।

नवौँ पोखरामा समयमै हुन्छ त ?

१३ औं सागमा हुन्छ कि हुन्न भन्ने अन्यौलमा रहेको बेलामा समेत तीब्र गतिबाट काम गरेर प्रतियोगिता सम्पन्न गराएकै हौँ । नवौँको कुरा गर्दा अब ४८ दिन बाकीँ रहेको छ । खेल संघ तथा खेल विज्ञलाई नै लिएर गएर कुन खेल कहाँ गराउने भन्ने विषयमा पनि छलफल भइरहेको छ । कोरोना फैलिएन भने पक्कै सम्पन्न हुनेछ । १५ गते बैठक पनि छ । मलाइ लाग्छ– हाम्रो संघीय खेलकुदमन्त्री, प्रदेश खेलकुदमन्त्री,परिषद्ले टिमवर्क गरिरहेका कारणले पनि समयमै हुन्छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ कि हुँदैन भन्ने कुरामा पछिल्लो चार,पाँच दिन माहोल तातिरहेको मैले पाएको छु । तर, अलिकति चूनौती छ ।

चुनौतीहरु केके छन् त ?

चुनौतीहरुमा सबैभन्दा पहिलो कुरा त हामीसँग समय निकै कम छ । हामीलाई अर्को चुनौती भनेको मार्सलआर्ट पनि हो । मार्सलआर्टका खेलहरु इन्डोरमा खेलाउनुपर्ने भएकाले हामीलाई समय मिलाउन गाह्रो भइरहेको छ । अर्को भनेको केही कुराहरु प्रदेश सरकारले यी कुराहरु हेरेर काम गरिदियो भने राम्रो हुन्छ । बजेट पनि टाइट छ । त्यसले गर्दा यो संरचना बनाउनमा अलिकति समस्या हो । अस्ति सहारा एकेडेमीको खेल मैदान हेरियो, माछापुच्छे्र गाउँपालिकाले पनि आफ्नो खालको भूमिका खेल्ने बताएको छ । उनीहरुले पनि हामीलाई केही खेल दिन प¥यो भन्दैछन् । त्योबाहेक विभिन्न जिल्लाले पनि हामीलाई खेल दिन प¥यो भनिरहेका छन् जसले उत्साहका साथै चुनौती पनि थपिएको हो । यो ३९ वर्ष पछि हुन लागेकाले पनि हामीलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउने अर्को चुनौती हो ।

३९ वर्षपछि पोखरामा प्रतियोगिता फर्केर आउँदा पनि गण्डकी प्रदेश सरकारले उत्साह देखाएको देखिदैन नि ?

नलाग्यो नै भन्न मिल्दैन् । यसलाई अलिकति प्रदेश सरकारमा समस्या भएकाले हुनसक्छ । मुख्यमन्त्रीज्यू कोभिड लागेर बस्नुभएको छ । वहाँ खेलकुदलाई माया गर्ने व्यक्ति हुनुहुन्छ त्यसो हुनाले पनि पक्कै प्रदेश सरकार वहाँ निको भएपछि लाग्ने नै छ । केही कुरामा उहाँहरुलाई राखेर छलफल गरेर सबैसँग मिलेर जान पर्ने चाहिँ देखिएको हो । खेलकुदलाई हेर्ने नजर सबैले राख्नुप¥यो, खेलकुद भनेको के हो त ? भन्ने कुरा बुझ्न जरुरी छ, त्यो भन्दा पनि यहाँ त ३९ वर्षपछि प्रतियोगिता हुन लागेको छ यसलाई केही न केही गर्न पर्छ भनेर सबैले आफ्नो तर्फबाट भूमिका खेलिदियो भने राम्रो हुन्छ ।

नवौंमा कति खेल हुँदैछन्, प्रदेशले कति खेलमा सहभागिता जनाउँदै छ र कहाँ कहाँ खेल हुदैँछ ?

ओभरअलमा ३६ खेल हुने भनिएको छ । त्यसमा पनि हामीले पूर्वराष्ट्रिय, अन्तराष्ट्रिय खेलाडीहरु, यहाँका अग्रजहरु, खेलकुदमा लागेकाहरुसँग छलफलमा बसेर केही खेल प्रदर्शनी खेलको रुपमा राख्ने भनिएको छ । र हाम्रो प्रदेशले पूरै खेलमा सहभागिता जनाउने छ । गण्डकी प्रदेशमा प्रतियोगिता हुन लागेकाले हामीले प्रत्येक जिल्लालाई कुनै न कुनै खेल दिएकै छौं । त्यसकारण सबै जिल्लामा खेल हुनेछन् । त्यसको लागि हामीले एक हप्तादेखी दौडिरहेका छौँ । होमवर्क गरिरहेका छौँ । कुन जिल्लालाई कुन खेल दिने भन्ने विषयमा बनेका संरचना भएका जिल्लाहरुमा प्रतियोगिता हुनेछन् ।

केही खेल गण्डकी प्रदेशमा नहुने निश्चित भएको सत्य हो ?

तपाईँलाई मैले अघि पनि भनेँ, संरचना जहाँ छ, त्यहाँ खेल खेलाउने हो । गण्डकी प्रदेशमा सुटिङ र पौडीको संरचना नभएकाले यसलाई काठमाडौं गराउने भन्ने कुरा भएको छ । सबै खेल यहाँ गराउने भन्दाभन्दै संरचनाको अभावले बाहिर जाने भनिएको छ । हामी अध्ययन गरिरहेका छौँ ।

नयाँ खेल कति थपिएका छन् ?

नवौं खेलमा प्रस्तावित त छ । नयाँ भनेको सम्भवत लोकदोहोरी र लोकनृत्य दुईवटा गण्डकी प्रदेशको तर्फबाट थपेका छौं । १५ गते हुने बोर्ड बैठकले के गर्छ त्यतिबेला थाहा होला । अर्को भनेको रग्वी पहिलो पटक समावेश भएको छ । त्यस्तै क्यानोनिङ पनि प्रदर्शनी खेलको रुपमा राख्ने प्रस्ताव भएको छ ।

गण्डकी प्रदेशको खेल स्तरप्रति तपाईंको धारणा के छ ?

गण्डकी प्रदेशलाई अहिले प्राविधिक रुपमा केही समस्या रहेको छ । यहाँका खेलाडीलाई अलिकति प्रशिक्षणमा समस्या देखिएको छ । सबैले प्रशिक्षण गर्न पाइरहेका छैनन् । अर्को कुरा भनेको मलाई म पनि यही प्रदेशको भएको हुनाले पदकप्रति चिन्ता छ । पोखरा रंगशालाभित्र निमार्ण भएको फुटबल मैदान हस्तान्तरण नभएकाले खेलाडीलाई समस्या परिरहेको छ ।

गण्डकी प्रदेशले अहिलेसम्म पनि बन्द प्रशिक्षण गराएको छैन् नि ?

यो विषयमा मलाई त्यति थाहा भएन । यतिबेला मलाई खेल स्थल व्यवस्थापन तर्फको जिम्मेवारी दिएकाले म त्यतातर्फ लागेको छु । यो विषयमा गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष र सदस्य सचिवलाई सोधे थाहा होला । बन्द प्रशिक्षण पनि १५ गते पछाडी सम्भवत्ः हुन्छ होला ।

प्रतियोगितलाई थप व्यवस्थित गर्न केके गर्नुपर्ला ?

व्यवस्थित गर्नका लागि हिटिङ स्विमिङ पुलको कुरा आएको छ । अर्को भनेको हामीलाई फ्लड लाइटको खाँचो परिहेको छ । व्यवस्थापन गर्नका लागि यहाँको बुद्धिजीवि, नागरिक समाज, खेलप्रेमी, खेल संघसंस्था तथा खेलकर्मीको साथ र सहयोग भएमा व्यवस्थित गर्न सकिन्छ । बक्सिङ हल निमार्ण गर्न बाँकी रहेको र त्यसलाई सम्पन्न गर्न बाँकी रहेको छ ।

बजेट माग बमोजिम आएन भन्ने छ, माग अनुसार बजेट नभएकै हो त ?

हो, नवौंका लागि जति बजेट मागिएको हो त्यति आएको छैन् । बजेट टाइट छ । त्यसैले अलिकति गाह्रो पनि बनाइरहेको छ तर, युवा तथा खेलकुदमन्त्री बजेट थपका लागि प्रस्ताव राख्नुभएको छ । सम्भवत्ः केही थप होला भन्ने आशा छ ।

यहाँ प्रतियोगिता हुदाँ प्रदेशलाई के फाइदा हुन्छ त ?

फाइदाको कुरा त अब १३ औं सागले नै देखाइसक्यो । सबैभन्दा ठूलो फाइदा भनेको पूर्वाधार विकास हो । पहिला के थियो र ? १३ औं साग आएपछि के भयो यो सबैलाई थाहा छ । बजेट आएपछि यहाँ के भयो ? यसले पूर्वाधारको विकास मात्रै होइन्, त्यहाँको खेलकुदले नै मुहार फेर्छ । हामीलाई विशेषगरी पूर्वाधारके खाँचो रहेको छ त्यो पूरा हुन्छ । अर्को भनेको यो पर्यटकीय प्रदेश पनि हो यहाँ पर्यटक धेरै आउँछन् । यस्ता प्रतियोगिता हुदाँ आर्थिक चलायमानका साथै अन्तर्राष्ट्रिय प्रतियोगिता आउने सम्भावना पनि बढेर आउँछ ।

अन्त्यमा आम खेलप्रेमी, खेलाडी तथा खेलकर्मीका लागि तपाई के सन्देश दिन चाहानुहुन्छ ?

सर्वप्रथम त तपाईंले यो जुन मौका दिनुभयो त्यसका लागि धन्यवाद । आम खेलकर्मी, खेलप्रेमी तथा खेलाडीलाई के भन्न चाहान्छु भने, यो खेलकुदको मेला हो । ३९ वर्षपछि हाम्रो आँगनमा खेलकुदको कुम्भमेला आएकाले यसलाई सफल बनाउन सबैले साथ र सहयोग गरिदिनुहुन विनम्र अुनरोध गर्दछु र गण्डकी प्रदेश प्रतियोगिता गर्न आतुर भएको छ । यसपालि १० लाखको ट्रफीसमेत भएकाले खेलस्तर वृद्धि हुने आशा हामी सबैको रहेको छ । असोज २८ गते हुने प्रतियोगिताका लागि सबैलाई हार्दिक निमन्त्रणा पनि यसै मिडियामार्फत गर्छु ।

–प्रस्तुति : विजय नेपाली

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->