बागलुङ, १५ साउन– युवा खेलाडीहरुले नियमित दौडने काम सामन्य हो । तर प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका कार्यालय प्रमुखहरु नै दौडेर लामो यात्रा तय गरेको कमै देखिन्छ ।
शनिबार बिहानै बागलुङमा रमाइलो दृश्य देखियो । नेपाली सेनाको श्रीमेहर गणको २ सय ४३ औं वार्षिकोत्सवको अबसरमा ‘रन फर अन हेल्थ’ अर्थात् आफ्नै स्वास्थ्यका लागि दौड कार्यक्रममा जिल्लाका अधिकृत स्तरका कर्मचारी, सेना र प्रहरीका अधिकृत समेतले एक साथ दौड सम्पन्न गरे । यो प्रतियोगिता भने होइन ।
प्रभु बैंक लिमिटेडको सहकार्यमा गणले मैत्रीपूर्ण दौड कार्यक्रम राखेको हो । अधिकृतको साथमा स्थानीय व्यवसायीसमेत दौडमा सहभागि थिए । ४० जना सहभागि दौडमा गणपति देवभक्त माडी श्रेष्ठ प्रथम भए । सेनाको सेराडिल व्यारेकदेखि मालढुंगाहुँदै व्यारेकमा पुग्दा सहभागितले १२ किमी यात्रा पार गरे । उमेर ढल्केका र दिनभर टेबलमा बसेर काम गर्नुपर्ने कर्मचारीका लागि यति लामो दौड चुनौतीपूर्ण थियो । तर पनि उनीहरुले उत्साहपूर्वक भाग लिएको श्रीमेहर गणका गणपति श्रेष्ठले बताए ।
सेनाको २३ नम्बर बाहिनीपति सहायक रथी रामप्रसाद अधिकारीले दौड अभियानको शुभारम्भ गरे । उक्त अबसरमा श्रीमेहर गणका गणपति प्रमुख सेनानी देवभक्त माडी श्रेष्ठले स्वास्थ्यका लागि खेलकुँद भन्ने राष्ट्रिय नारालाई साकार पार्न अधिकृत स्तरको दौड राखेको बताए । उनले वार्षिकोत्सवमा अन्य आन्तरिक खेल प्रतियोगिता समेत समावेश गरिएको जानकारी दिए । वर्षिकोत्सव कार्यक्रमहरु साउन २३ गतेसम्म संचालन हुने बताइएको छ । भलिबल, फूटबल लगायतका अन्तरिक खेल संचालन गरिरहेको सेनाले आम नागरिकलाई पनि खेलप्रति जागरण फैलाउन खुला दौड कार्यक्रम राखेको हो ।
अभियानमा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्यायसहित सबै कार्यालयका प्रमुखहरु सहभागि थिए । दौड प्रतियोगिता एउटा नमूना भएको भन्दै श्रेष्ठले दिनभर कार्यालयमा काम गर्ने र सवारी साधनमा यात्रा गर्नेले बिहान एक घण्टा दौडिन सकेमा स्वस्थ्य रहन सकिने पनि बताए ।





