पोखरा/ एमाले कास्की इञ्चार्ज फेरिएका छन् । एमाले केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय सदस्य भीम कार्कीलाई इञ्चार्जको जिम्मेवारी अर्का केन्द्रीय सदस्य कृष्ण थापालाई सुम्पेको हो ।
जिम्मेवारीबाट मुक्त गरिएका भीमलाई एमालेको भूमि विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ । कृष्ण थापा यसअघि सह–इञ्चार्ज थिए । उनी भर्खरै सम्पन्न स्थानीय चुनावमा पोखरा महानगरको मेयरका प्रत्यासी बनेका थिए ।
प्रदेश सांसदबाट राजीनामा दिएर चुनावमा होमिएका उनी सफल भएनन् । उनले सो चुनावलाई आफ्नो अन्तिम चुनाव घोषणा गरेका थिए ।
कास्की अध्यक्ष भइसकेका थापा पार्टीमा संगठन विभाग प्रमुख खगराज अधिकारी निकट हुन् भने कार्की उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग नजिक छन् ।
२०५४ सालमा एमाले विभाजनपछि तत्कालीन गण्डकी कमिटीका बहुमत सदस्य मालेतिर लाग्दा तत्कालीन वैकल्पिक केन्द्रीय सदस्य पृथ्वीसुब्बालाई भीम कार्कीले नै साथ दिएका थिए । त्यो बेला गुरुङले कार्कीलाई संगठन नै नभएको मनाङको इञ्चार्ज बनाएर आफूसँगै राखेका थिए ।
उनीहरु त्यो बेला एउटै भाडाको कोठामा बस्थे । कृष्ण थापा पोखराका पूर्वमेयर हुन् भने भीमले अहिलेसम्म राजकीय पद प्राप्त गरेका छैनन् । उनी आउँदो प्रादेशिक चुनावमा टिकटका आकांक्षी हुन् ।
उनले यसअघि कृष्ण थापाले नै जितेको कास्की क्षेत्र नम्बर २ क दावी गरेका छन् । थापाले इञ्चार्जको जिम्मेवारी पाउँदा स्वभाविक रुपले आउँदो चुनावी कमाण्डर हुनेछन् । थापा मेयरको प्रत्यासी हुँदा पार्टीभित्रैबाट अन्तरघात भएको आँकलन गरिएको थियो भने त्यो समूहमा कार्कीको पनि नाम जोडिएको थियो ।





