शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

उम्दा खगेन्द्र !

उम्दा खगेन्द्र !

लेखक, कलाकार हुँदै निर्देशक बनेका खगेन्द्र गण्डकीको मात्र नभएर देशले नै आशा गरिएका कलाकार हुन् ।


  • राजाराम पौडेल
  • भाद्र १ २०७९, बुधबार

लेखक, कलाकार तथा निर्देशक बनेका खगेन्द्र लामिछानेको कलाकारिता क्षेत्रको यात्रा निकै रोचक रहेको छ । पोखरामा प्रमाणपत्र तह अध्ययन गर्ने क्रममा पहिलो वर्ष ब्याक लागेपछि उनको यात्रा कलाकारिता क्षेत्रमा मोडिएको थियो । प्रमाणपत्र तहमा अंग्रेजीमा फेल भएपछिको ग्याप समयमा उनमा शिक्षक हुने रहर जाग्यो । गाउँमा रहेको बोडिङ स्कुलमा शिक्षक आवश्यकता परेका थाहा पाएपछि उनले त्यहाँ निवेदन दिए । तर उनको नाम निस्कएन ।

उनी पुनः पोखरा फर्के । संयोगवशः त्यतिबेला पोखरामा क्षेत्रीयस्तरको नाटक प्रतियोगिता हुँदै थियो । उनका साथीहरु नाटक खेल्ने रहेछन् । उनलाई भने यो कुरा थाहा थिएन । साथीहरुले नाटक खेल्न आग्रह गरे । जिन्दगीमा त्यतिबेलासम्म नाटक नहेरेका उनले सुरुमा स्वीकार गरेनन् । पछि साथीहरुले हामी सिकाउछौँ भनेछन् । बल्ल उनी तयार भए । रिहर्सल सुरु भयो । रिहर्सल गर्दै जाँदा रमाइलो लाग्यो ।

त्यतिबेला रंगकर्मी अनुप बराल रिहर्सल हेर्न आउँथे । खगेन्द्रलाई अनुपबारे थाहै थिएन । नाटकको ‘न’ पनि थाहा नभए पनि उनले आँट गरे । रिर्हसल पश्चात २०५६ सालको वैशाख महिनामा पोखरा सभागृहमा नाटक मञ्चन भयो । नाटकको सो सकिएपछि उनी उत्साहित बने । नाटक मञ्चन गर्दा पाएको आनन्दले उनी पुलकित भए । मन र शरीर चङ्गा भयो । रमाइलो हुने रहेछ भन्ने भयो । नाटक हेर्न काठमाडौंदेखि वरिष्ठ कलाकार आएका थिए ।े मनमा यती खुसी हुने चिज नगरेर के को लोकसेवा पढ्ने, के को शिक्षक बन्ने भन्ने भयो ।

मञ्चन गरेको नाटकपश्चात पाएको उत्प्रेरणाले नाटक सिकेर अगाडि बढ्ने सोच आयो । खगेन्द्रले साथी श्याम अर्याललाई यो कुरा सुनाए । कहाँ पढ्न जाने भनेर सोधे । उनले अनुप बरालसँग सिक्न सुझाए । त्यतिबेला अनुपले पोखरामा नाटक सिकाउँथे । अनि ६ महिनाको १५ हजार रुपैयाँ तिर्नेगरी नाटक सिक्न थाले ।

गाउँमा बुबाले किराना पसल चलाएका थिए । सम्झाएर पहिलो चरणमा दुई हजार रुपैयाँ ल्याए । पछि अनुप बराले उनमा सम्भावना देखेर छात्रवृत्ति प्रदान गरे । किनकि उनी कक्षामा लगनशील थिए । क्लास सकिएपछि अनुप बरालले चिया खान लाने मात्र गराएनन् पोखरामा रहेका प्रकाश घिमिरेलगायतका कलाकारलाई भेटाए । अग्रज कलाकारको मायाले उनलाई यो क्षेत्रमा डोहो¥यायो । त्यही उपक्रममा अनुप बरालले निर्देशन गरेको ग्रामिण नाटकमा अभिनय गरे । विस्तारै नाटक लेख्न थाले । उनी २०५७ सालमा प्रतिबिम्ब नाट्य समूहमा आवद्ध भएका हुन् । प्रमाणपत्र तह उत्तीर्ण भएपश्चात खगेन्द्र पोखराबाट काठमाडौ हानिए ।

स्नातक तह अध्ययन र अभिनय कक्षासँगै लिने उनको योजना थियो । अभिनय कक्षा लिनको लागि नाम निकाल्नुपथ्र्यो । नाँचघरमा ‘एप्लाई’ गरे । छनोट परीक्षामा अभिनय देखाए । नाम वैकल्पिकमा निस्कियो । उनी सरासर हरिहर शर्माको कोठामा गए । उनले आफ्नो नाम ननिस्किएको कुरा भने । नाम ननिस्किए पनि भोलिबाट क्लासमा आउँछु भन्दै त्यहाँबाट बाहिरिए । क्लासमा गए । कसैले रोकेनन् । आफ्नो अभिनयसम्बन्धी अध्ययन गर्ने रहर पूरा गरे ।
खगेन्द्रको बाल्यकाल स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ११ मा बित्यो । आफना् जन्म भने पोखराको अस्पतालमा भएको खगेन्द्र बताउँछन् । बाल्यकालमा चकचके स्वभावका उनी पढाइमा भने उम्दा थिएनन् । गणितमा कमजोर थिए । गणितमा शुन्य नम्बर आएको अनुभव उनीसँग छ । सोही कारण कक्षा ९ मा दोहो¥याएका थिए । पढाइमा केही सुधार भयो । बाल्यकालामा उनी बदमास थिए । साथीहरुसँग झगडा गर्थे । घरमा रहेका ४ बहिनीसँग पनि उनको झगडा हुन्थ्यो । बुबासँग पनि द्धन्द्ध भइरहन्थ्यो ।

कोर्ष बाहिरका किताब पढ्न भने रुचि थियो । उनले जीवनजगतबारे कति पढेर त कति कुरा भोगेर जानकारी पाए । गाउँमा पुस्तकालय थियो । चकचके स्वभावका उनी फ्याट्ट लाइब्रेरी छिर्थे । छेउछाउमा बसेर उनले अरुले पढेको सुन्थे । । त्यतिबेला एउटा पढ्ने अरुले सुन्ने चलन थियो । सानो मान्छे लाइब्रेरीमा छिरेको भनेर उनी लखेटिन्थे ।

बाल्यकालमा कविता लेख्थे । आफूले गर्न खोजेको कुरा गर्न नपाएपछि त्यो मनको रिस कवितामार्फत् पोख्थे । एकदुई लाइनमा गाली गरेर कविता लेखेपछि मन हलुका हुने गरेको उनी सुनाउँछन् ।
उनले सानो उमेरमा नै परेदेशीयका नेपाली उपन्यास लेखे । आफ्नो सिक्री बेचेर उपन्यास छापेका उनले पछि त्यो उपन्यास आफैले जलाएर खरानी बनाए । अहिले उनीसँग यसको कुनै प्रति बाँकी छैन । लहडमा उपन्यास लेखेको बताउने उनी उपन्यास लेखेपछि लेख्नलाई प्रेरित गरेको बताउँछन् । पछि नाटकमा काम गर्न थाले । विभिन्न कथालाई नाट्य रुपन्तारण गरे । आफैले कथा लेखे । रेडियो नाटकको लागि बिबीसीमा काम पाए । यसरी उनको यात्रा अगाडि बढ्यो ।
अनुप बरालले बधशाला फिल्ममा कास्टिङ डाइरेक्टरको जिम्मेवारी पाए । यो फिल्म मनोज पण्डितले बनाउँदै थिए ।

अनुपले खगेन्द्रलाई फिल्ममा राख्न भने तर सुरुमा मनोज मानेनन् । पछि उनले सोचेको कलाकार नभएपछि मनोज तयार भए खगेन्द्रले फिल्ममा अभिनय मार्फत डेब्यू गर्ने अवसर पाए । थिएटरको जस्तो वातावरणमा काम गर्न पाएकोले सिनेमा पनि उनलाई रमाइलो लाग्यो । त्यतिबेला उनले बिबीसीमा भने स्पष्टिकरण दिनुप¥यो । फिल्मलाई दर्शकले मन पराए । त्यसपछि टलजंग भर्सेस टुल्के, पशुपति प्रसाद, धनपति, डम्मरुको डण्डिबियो, पानी फोटोमा उनले अभिनय गरे । जसका कारण अभिनय क्षेत्रमा स्थापित बन्न सके । पानी फोटोमार्फत् उनले फिल्म निर्देशनमा समेत डेब्यू गरे ।

उनी आफू संयोगले कलाकार बनेको बताउँछन । ‘लेख्ने सपना थियो । स्कुल पढ्दादेखिनै म लेख्ने मान्छे बन्ने हो भन्ने लाग्थ्यो मनमा, कलाकार हुन्ुछ भन्ने कल्पना गरेको थिइन । म संयोगले कलाकार बनँे’, उनले भने ।
सिर्जना गर्ने मानिस अत्यन्त निर्मम हुनुपर्ने बताउने खगेन्द्र असफलतासँग डराउन नहुने सुनाउँछन् । आफूलाई असफलतालेनै आजको यात्रा देखाएको उनको भनाइ छ । उनी आफ्नो कर्ममा विश्वास गर्छन् । काम राम्रो बनाउनका लागि दत्तचित्त भएर पर्याप्त समय दिने उनको बानी छ । ठेट पश्चिमको भाषाको जगेर्ना गर्ने प्रयास आफ्ना फिल्म तथा नाटकमार्फत उनले गर्छन् । उनको नयाँपनलाई दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->