
बागलुङ/आसन्न नवौं राष्ट्रिय खेलकुँद प्रतियोगिताका लागि बागलुङका ३ सय ४८ खेलाडीले क्षेत्रीय प्रतियोगिता खेल्ने भएका छन् । बुधवारदेखि स्वास्थ्य परीषण गर्न ती खेलाडी पोखरा प्रस्थान गरेका छन ।
उनीहरुले तीन दिन सम्म पोखरामा क्षेत्रीय खेलकुँद प्रतियोगितामा भाग लिएपछि राष्ट्रिय खेलकालागि छनौट हुने अबसर पाउनेछन् । छनौट भएका खेलाडीले आगामी असोज २८ गतेदेखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशमा संचालन हुने नवौं राष्ट्रिय खेलकुँद प्रतियोगितामा भाग लिनेछन् ।
२१ खेलमा भाग लिने बागलुङका खेलाडी मध्ये तारो हान्ने (आर्चरी)मा भने ३ जना खेलाडी छनौट भैसकेका छन् । छनौट भएका खेलाडीमा खड्गबहादुर घर्ती, दुर्गाबहादुर घर्ती र कृष्ण भण्डारी छन् । जिल्लाबाट ४ खेलाडी क्षेत्रीय प्रतियोगितामा पुगेकोमा ३ जना छनौट भएको जिल्ला खेलकुँद बिकास समितिका कावा अध्यक्ष लोकेन्द्र केसीले बताए । बुधवार आयोजित पत्रकार सम्मेलनमा केसीले उक्त जानकारी दिएका हुन् । उनीहरुले नवौ राष्ट्रिय खेलमा प्रतिष्पर्धा गर्नेछन् ।
क्षेत्रीय खेलमा छनौट भएका मध्ये १ सय २३ महिला र १ सय ८२ पुरुष छन् । २३ जना कोच र २० जना व्यवस्थापक छन् । पुरुष तथा महिला भलिबल, ह्याण्डबल, क्रिकेट, बास्केटबल, फुटबल, व्याडमिन्टन, बुद्धिचाल र सुटिङका बागलुङका खेलाडीले भाग लिनेछन् । साथै मार्सलआर्टका सबै बिधामा जिल्लाका खेलाडी सहभागि हुने केसीले जानकारी दिए । समितिका अनुसार टेवलटेनिसमा ११, भलिबलमा २३, कबड्डीमा २४ र आइटिएफ तेक्वान्दोमा २७ खेलाडी सहभागि हुने बताइएको छ ।
फुटबल तर्फ ३२ जना, कराँते ३१ तेक्वान्दोमा २८ जना र एथलेटिक्सकालागि २० खेलाडी सहभागि हुनेछन् । त्यस्तै उसु तर्फ २० जना, व्याडमिन्टन र बास्केटबलमा ११÷११ जना, जिम्न्यास्टीकमा १० जना, रग्बीमा १३ र सुटिङमा १५, बक्सीङमा ७ जना र क्रिकेटमा १६ खेलाडी सहभागि हुने बताइएको छ । बुद्धिचालमा ६ जना तथा फुलकन्ट्याक्ट १० जना, स्वास ३ जना र ह्याण्डबलमा २४ खेलाडीले खेल्नेछन् ।
खेलाडीलाई पोखरामा खेलुन्जेल क्षेत्रीय खेलकुँद बिकास समितिले खानेबस्ने व्यवस्थापन गर्ने छ भने खेलकालागि जर्सी र जिल्ला भित्रको यातायात खर्च जिल्ला खेलकुँद बिकास समितिले व्यहोर्ने समितिकी सचिव तारा शर्माले जानकारी दिइन् । नवौ राष्ट्रिय खेलको कारण जिल्लामा पनि केही चहलपहल शुरु भएको छ । समितिले नवौं खेलका केही प्रतिष्पर्धा बागलुङमा गराउने तयारी गरेको छ ।





