पोखरा/ पोखरा महानगरपालिकाका दलित जनप्रतिनिधिहरुले दलहरुले दलितलाइ सधैँ तल्लो दर्जामा राख्ने गरेको गुनासो पोखेका छन् । उनीहरुले नेतृत्व लिन सक्षम हुँदाहुँदैसमेत दलितहरु पेलानमा परेको जिकिर गरे । दलमा व्यक्तिगत स्वार्थ र हुनेखानेको हालिमुहाली चल्दा यो अवस्था आएको उनीहरुको जिकिर थियो ।
दलित महिला संघ (फेडो) को आयोजनामा सम्पन्न राजनीतिक दलसँग महिलाको सवाल विषय अन्तरक्रिया कार्यक्रममा सहभागि जनाएका दलित महिला सदस्यहरुले सो धारणा राखेका हुन् । पोखरा महानगरपालिका वडा ३० की वडा सदस्य उमा परियारले एमालेमा दुई दशक लामो राजनिति गर्दासमेत उचित स्थान नदिएको गुनासो पोखिन् ।
उनले तत्कालीन समयमा महिला राजनितिमा होमिने अवस्था नरहँदासमेत पार्टीको झण्डा बोकेर हिँड्ने गरेपनि पार्टीले भने सधैँ अवसरबाट वञ्चित गरिएको बताइन् । महानगर कमिटीको उपाध्यक्षमा उम्मेदवारी दिँदा वाइपास गराउँदै आफूमाथि घात गरिएको उनको गुनासो थियो । पार्टीमा नेताको आसेपासे हुने र चाप्लुसी गर्नेले मात्रै स्थान पाउने तर योेग्य भएपनि दलित महिला भने अयोग्य ठहरिएको सुनाइन् ।
‘म वडामा लड्ने व्यक्ति नै होइन । प्रदेश कमिटीमा पुगेको मान्छे वडामा झारियो’, उनले भनिन्,‘मलाई माथि पाइन्छ भन्दाभन्दै यहाँ झारे । जिल्ला समन्वय समिति संयोजक समेत बनाउँछु भनेर आश्वासन दिलाइयो तर दलितको बल पुगेन ।’
पार्टीभित्र रहेको दलित संगठन मुक्ति समाजले माखो मार्न नसकेको उनको भनाइ थियो । ‘शक्ति र धनको अगाडी हाम्रो केही नलाग्दो रहेछ । संघ र प्रदेशको निर्वाचनमा पनि प्रत्यक्ष त दिँदैनन् । समानुपातिकमा भएपनि दिन्छन् कि भन्ने लागेको छ’, त्यसैमा फेरि थपिए,हुन त समानुपातिकमा पनि कहाँ दलित महिलालाइ ठाउँ छ र ? त्यहाँ पनि उही माथि ठाउँ छ भन्ने होलान् । त्यो ठाउँ कहाँ रहेछ कुन्नी ?’,उनले भनिन् ।
यस्तै पोखरा महानगरपालिका १० की पूर्वजनप्रतिनिधि प्रतिभा विश्वकर्माले वडाध्यक्ष लड्ने क्षमताको हुँदाहुँदै पनि पार्टीले पाखा लगाएको सुनाइन् । नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी चाहँदा पुनः दलित महिला सदस्यमै रहन भनिएको उनको भनाइ थियो ।
‘मेरो चाहना र इच्छा वडा अध्यक्षमा थियो । म त्यसका लागि योग्य पनि थिएँ तर पार्टीले दलित महिला सदस्यमै सीमित गराउन खोजेपछि म हटेँ’, उनले भनिन् । कांग्रेसले वडामा स्थापना गरेको चुनावी सम्पर्क कार्यालयमा गैरदलित कार्यकर्ताले ‘दलितलाई नमस्कार गर्नुपर्ने भयो’ भनेको सुनेपछि उनले पार्टीमा गुनासोसमेत पोखेको सुनाइन् ।
स्तै गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री दोबाटे विश्वकर्माले दलितहरु जुन सुकै दलमा रहेपनि विभेदको विरुद्धमा भने एक रहेको बताए । उनले हरेक दलमा दलितहरु पार्टीकै प्रतिपक्षी भएको सुनाए ।
पोखरा महानगरपालिकाका पूर्वप्रवक्ता एवम् वडा ५ का पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले दलित समस्या राष्ट्रिय मुद्दाको रुपमा रहेको बताए । उनले संविधानले नागरिकलाइ नेतृत्वमा पुग्नका लागि स्वतन्त्र लड्ने अधिकारसमेत दिएको सुनाए ।





