पोखरा उद्योग वाणिज्य संघको चुनाव आउन तीन दिनमात्र बाँकी छ । भदौ २४ र २५ संघको ३४ औँ महाधिवेशन हुँदैछ । यसपटक उद्योग वाणिज्य संघको नेतृत्वको लागि दुइवटा समूह प्रतिष्पर्धामा छन । प्रतिष्पर्धामा रहेका अध्यक्षका प्रत्यासीद्वय मध्ये पवन प्रजापती वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष हुन भने अर्जुन पोखरेल चाहिँ वाणिज्यतर्फका उपाध्यक्ष हुन । हालसम्म उद्योग वाणिज्य संघमा २ जना कर्पोरेटतर्फका सदस्यहरु निर्वाचित भइसकेका छन भने पदाधिकारीसहित बाँकी सदस्य निर्वाचनमार्फत चुनिनेछन ।
पवन र अर्जुन विगतमा एउटै टिमबाट चुनाव लड्दै आएका पदाधिकारी हुन । अघिल्लो निर्वाचन सम्म पनि यी दुवैजना एउटै प्यानलबाट वरिष्ठ र वाणिज्य उपाध्यक्षमा निर्वाचित भएका थिए । अहिले पनि उद्योग वाणिज्य संघको चुनावको मिति तय भइसकेपछि पनि यी दुवैजना एउटै टिमबाट चुनाव लड्ने चर्चा व्यापक थियो । आन्तरिक सहमति अनुसार अध्यक्षमा पवनलाई अगाडि बढाउने र अर्जुन चाहिँ वरिष्ठ उपाध्यक्षमा बसी अर्कोपटकको लागि अध्यक्ष बन्ने योजना यो समूहको थियो ।
तर, यो समूहभित्र एउटा समूहले खेल्न खोज्यो । जसका कारण वरिष्ठ उपाध्यक्षमा अर्जुनसँग गोकर्ण कार्कीलाई भिडाउने तयारी भयो । आफ्नै टिमबाट बाहिरिने परिस्थिती देखेपछि पोखरेल एक कदम अगाडि बढेर अध्यक्षमा नै उमेदवारी दिने मनस्थितीमा पुगेका हुन । अन्यथा, पूर्व सहमति कार्यान्वयन भएको भए अहिले अर्जुन वरिष्ठ उपाध्यक्षमा मत मागिरहेका हुन्थे ।
फेरिएको परिस्थितीपछि अहिले अर्जुन आफ्नो टिमसहित मतदातासँग घरदैलोमा व्यस्त छन । कर्पोरेट, वस्तुगत सहित साधारण सदस्यको घर, व्यवसायसम्म पुगेर उनको समूहले मत मागिरहेको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा दुवै टिमले प्रचारप्रसारलाई व्यापक बनाएका छन ।
यही आसन्न महाधिवेशनमा उमेदवारका आकांक्षी रहेका पोखरेलसँग गरिएको कुराकानी :
वरिष्ठ उपाध्यक्षमा तपाइलाई आफ्नै टिमले निकालेपछि अध्यक्षमा उमेदवारी दिनुभएको हो भन्ने चर्चामा कत्तिको सत्यता छ ?
सिनियरको हिसाबले मैले अध्यक्षमा पवनजीलाई मानेकै थिएँ । अध्यक्षमा मैले मान्दामान्दै पनि वरिष्ठ उपाध्यक्षमा उहाँले तेश्रो व्यक्ति (गोकर्ण कार्की) लाई च्याप्नुभयो । यसकारण सहमति हुने कुरा भएन । अर्को कुरा जो, जसको विरुद्धमा पनि उठ्न पाउँछ । यो निर्वाचन हो । मैले पनि सोचविचार गरेरै अध्यक्षमा उमेदवारी दिएको हुँ । उद्योग वाणिज्य संघलाई सम्मानित बनाउनुपर्छ भन्ने मेरो योजना हो । म निर्वाचित भएपछि आफूले जनाएका प्रतिबद्धता पुरा गर्नेछु ।
उवासंघ व्यवसायीको संस्था हो भनिन्छ, तर यहाँहरु त आफ्नो उमेदवारी घोषणा गर्नुअघि र त्यसपछि नेताहरुलाई फोन गरेर साथ समर्थन माग्नुभयो भन्ने छ । यसले व्यवसायीको संस्थामाथि खुलमखुल्ला दलीय राजनीतिमा जोड्दा कत्तिको प्रभाव पर्छ त ?
दलप्रति सबैको आस्था हुनु स्वभाविक नै हो । चुनावमा हामीले हाम्रै एजेण्डा अघि सारेका छौँ न कि दलको प्रचार गरेका छौँ । व्यसायीको रक्षार्थ नै बनेको संस्थाले व्यवसायीको एजेण्डा नै अगाडि बढाउने हो । अर्कातर्फ धेरै साथीहरुको राजनीतिक आस्था हुन्छ नै । उहाँहरु पनि मतदाता हो नि त । त्यसकारण मैले, हाम्रो टिमले दलको प्रचारको लागि नभई मत माग्ने काम गरेका हौँ ।
मतदाता भेटिरहनुभएको छ, कत्तिको साथ मिलिरहेको छ त ?
शुक्रबार मात्रै हाम्रो टिमले मनोनयन गरेको छ । मनोनयन पश्चात पनि हामी मतदाताकै साथमा छौँ । उहाँहरुसँगै छौँ । गुनासा र समस्या सुनिरहेका छौँ । हाम्रो टिम देखेर धेरै व्यवसायीहरु उत्साहित हुनुभको छ । उहाँहरुले उर्जा दिनुभएको छ । सक्षम र युवा नेतृत्व भन्दै साथीहरुले खुल्ला साथ र समर्थन दिनुभएको छ ।
तपाइले अध्यक्षमा मत मागिरहँदा तपाई आफूले आफैलाई यो पदमा योग्य हो भनेर कसरी प्रमाणित गर्न सक्नुहुन्छ ?
म पछिल्लो दशकदेखि उद्योग वाणिज्य संघमा नै छु । यो मेरो घर नै हो । यहाँका समस्या उठानदेखि लिएर समाधानमा सक्रिय छु । अर्कातर्फ म २०७१÷७३मा सदस्य, २०७३÷०७५ मा उप महासचिव, २०७५÷०७७मा महासचिव भएका हुँदै अहिले उपाध्यक्ष छु ।
उद्योग वाणिज्य संघमा मैले लिएको अग्रसरताका कारण नै मतदाता व्यवसायी साथीहरुले मलाई अहिलेको अवस्थामा पु¥याउनुभएको हो । उहाँहरुको विश्वासकै कारण म यो अवस्थामा छु ।
अब म जाने ठाउँ भनेकै नेतृत्वमा हो । मेरो विगतको नजीर नै म अध्यक्षको लागि योग्य छु भन्ने प्रमाण हो ।
दलीय प्रभाव, साम्प्रादायिक प्रभावका बिच चुनाव जितिन्छ त ?
कुनै समुदायको हुँदैमा त्यसले साम्प्रदायिक प्रभाव पार्छ जस्तो लाग्दैन । किनभने त्यो त व्यवसायीको संस्था हो । व्यवसायीको संस्थामा व्यवसायीका समस्या समान हुन्छन, त्यहाँ साम्प्रदायिकता, दलीय प्रभावले काम गर्दैन । हामीले उठाएका एजेण्डा नै सबै मतदाता साथीहरुको साझा एजेण्डा हो । उहाँहरुकै समस्या उठान गरेपछि त यसले नै समाधान गर्छ भन्ने भइहाल्छ । त्यसकारण अन्य प्रभाव हुँदैन । एजेण्डाका आधारमा हामीले चुनाव जित्छौँ ।
अर्कातर्फ सदस्य हुँदै उपाध्यक्ष भइसकेपछि व्यसायीको पक्षमा दरिलो उपस्थिती, गुनासोहरुको छरितो सम्बोधन र प्रतिबद्धता नै हाम्रो चुनाव जित्ने आधार हुन ।
व्यवसायीको संलग्नता घट्नुका साथै साना मझौला व्यवसायी तथा उद्योगीहरु किन समेटिएका छैनन ?
पहिला निकै राम्रो थियो । बिचमा निर्वाचन हुँदै गर्दा निकै भड्किलो, दलगत उम्मेदवारी हुँदा थोरै घटेका हुन । तर, अहिले फेरी आउन थालेका छन । जस्तै पोखराको केसी ग्रुपको प्रवेश भएको छ । अरुपनि छन । ठूला उद्योगी साथै साना मझौला व्यवसायी पनि गरेर साझा घरको रुपमा लगौँ भन्ने खालको कुराले पनि उम्मेदवारी दिएको हुँ । अहिले संघप्रति बढेको विषर्णको अन्त्य गर्ने र बढाउनका लागि हाम्रो टिम अघि बढेको हो । हामीकँहा तिन तहका व्यापारी तथा उद्योगीहरु छन । ती सबैको केन्द्र हो भन्ने खालको माहोल बनाउन आवश्यक छ । हामीले अब साझा घर र सबैको आकर्षणको थलो बनाउनेगरी जाने योजना बनाएका छौँ ।
केसी ग्रुपको प्रवेशलाई कसरी हेर्नुहुन्छ ?
एकदमै सकरात्मक । केसी ग्रुपको प्रवेशले अन्य ठूला जस्तो हिजो बतास, लक्ष्मी, कर्माचार्य, बाराही, गोशेली लगायतका ठूला ग्रुपहरु हुनुहुन्थ्यो । उहाँहरु कार्यसमितिमा र कतिपय नेतृत्वतहमा पनि पुग्नुभयो । तर, बिचमा केही समस्या आयो । अब यी घरानाका दोस्रो पुस्ता र साना मझौलाका पनि दोस्रो पुस्ता आउने वातावरण बनेको छ । जसका लागि केसी ग्रुपको आगमनले स्वागत गरेको छ । समग्रमा यो मार्ग नै युवा लक्षित हुँदै गएकाले अब अग्रजलाइ सम्मान गरेर राख्ने दोस्रो पुस्ताले नेतृत्व हाक्ने देखियो । अहिले हामीले पनि त्यस्तै युवाहरुको टिम बनाएका छौँ । यसले सकरात्मक सन्देश दिएको छ र पहिलाकै जसरी ठूला र सना व्यवसायीहरु आउने मार्गमा जाने छ । यस्को सुरुवात केसी ग्रुपले गरेको छ ।
दशकौँदेखि संघमा हुनुहुन्छ, संघको भवन जीर्ण भएको छ । कार्यसमितिमै हुँदा काम किन गर्नुभएन ?
यो भन्दा अघिको कार्यसमितिको वैठकमा नै मैले प्रस्ताव पेश गरेको हुँ । त्यतिबेला नै कसैलाइ संयोजक बनाएर अघि बढौँ भन्ने कुरा गरेकै हुँ । तथापी विविध कारणले गर्दा त्यो कार्य अघि बढेन । अहिले तत्काली अध्यक्ष नारायण कोइराला पनि सकरात्मक हुनुहुथ्यो । निर्णय गरेर अगाडी बढ्नै लाग्दा कोभिड पनि आयो र अन्य समस्यापनि । जसले सोचेँ जस्तो हुन सकेन । यो चाहीँ म अध्यक्ष आउने वित्तिकै सुरु हुन्छ । मैले मोडल पनि प्रस्तुत गरेको छु । सबैले अर्जुनले महत्वकांक्षी योजना ल्यायो भन्ने कुरा गरिरहेका छन् । समग्रमा कुरा के हो भन्दा त्यसलाइ हामी योजनामा लैजान सक्छांँै । सोचले सुरुवात गर्छ, सुरुवातले गन्तव्यमा पु¥याउँछ । हामी ३ हजार २ सय जति सदस्य छौँ । सबैबाट आर्थिक सहयोग उठायौँ भनेपनि २०÷२२ करोड रुपैयाँ उठाउन सकिन्छ । हामीले २ तला अन्डरग्राउण्ड गरी पार्किङको रुपमा प्रयोग गर्ने, विहान बेलुका उत्पादनका चिजहरु फार्म मार्केटको रुपमा विकास गर्ने, त्यसपछि तेस्रो र चौथो तला सपिङ कम्पेल्क्सको रुपमा भाडामा दिने र ठुलो हल निमार्ण गरी कार्यक्रमहरु संचालन गर्ने योजना छ । त्यसमा हामीले फेममात्रै बनाए हुन्छ । डेकोरेसन त व्यवसायीहरुले गर्नुहुन्छ । त्यसलाइ सहकारी वा सामुदायिक कम्पनीका रुपमा लान सकिन्छ ।
तपाइलाई न व्यवसायीले मत किन दिने ? एजेण्डा के छन ?
संघलाई ‘साझा घर’ बनाउने अभियान नै मूल एजेण्डा हो । पोखरा उद्योग वाणिज्य संघलाई आम पोखरेलीको साझा घरको रुपमा विकास गर्नुपर्ने छ । पोखरालाई आधुनिक र व्यवस्थित शहर बनाउने नेतृत्व उद्योग वाणिज्य संघले नै लिएको थियो । अहिले संघ समुदायबाट टाढा भैरहेको छ । हिजो अग्रजहरुले गरेको योगदानलाई संरक्षण गर्दै आगामी कार्यकालमा संघप्रति अझै आकर्षण बढाउने गरी काम गर्छौं । संघलाई सबै पोखरेलीको ‘साझा घर’ को रुपमा विकास गर्ने प्रण गर्दछौं ।
संघको आम्दानी बढाउने र उद्योगी व्यवसायीहरुको उत्पादन विक्री कक्ष निर्माण गर्ने हाम्रो प्रतिबद्धता छ ।





