माइग्रेनको समस्या विश्वमा धेरैलाई छ । नेपालीहरु पनि यसबाट अछुतो भने छैनन् । नेपालमा करिब १८ प्रतिशत महिला र १४ प्रतिशत पुरुषलाई यो समस्या रहेको पाइन्छ ।
हर्मोनको गडबडी, गर्भनिरोधक चक्की ओसी पिल लगायतको सेवनका कारण यो रोगको जोखिम पुरुषको तुलनामा महिलालाई बढि हुन्छ । माइग्रेन घातक नभएपनि पटकपटक दोहोरिनाले मानिसको दैनिक जीवनलाई समेत प्रभावित पार्छ । त्यसैले यसबारे जान्न तथा बुझ्न अत्यन्त जरुरी छ ।
सामान्य टाउको दुखाई र माइग्रेन
टाउको दुखाई आफैंमा एउटा लक्षण मात्र हो । यसले विशेष कुनै रोगलाई इंगित गर्दैन । कफी खाने मान्छेले कफी समयमा पाएन भनेपनि टाउको दुख्न सक्छ । जसलाई चिकित्सकीय भाषामा ‘कफी वीथड्रअल हेडेक’ भन्ने गरिन्छ । रुघाखोकी, भाइरल ज्वरोका कारण पनि टाउको दुख्न सक्छ ।
राती अबेरसम्म मदिरा सेवन गर्ने मानिसलाई भोलिपल्ट टाउको दुख्नसक्छ, जसलाई ‘ह्याङ्गओभर हेडेक’ भन्ने गरिन्छ । यो सामान्य टाउको दुखाई हो । यसको उपचार घरमै बसेर गर्न सकिन्छ । आराम गरेर, पर्याप्त मात्रामा झोलिलो पदार्थको सेवन गरेर, प्रशस्त मात्रामा पानी पिएर तथा टाउको दुखाई कम गर्ने औषधिहरु सेवन गर्दा सामान्य टाउको दुखाइ ठीक हुन्छ । केही समयमा आफै निको हुन्छ । तर, यस्तो सामान्य र गम्भीर खालको टाउको दुखाई बीचमा भेद सबैले बुझ्न आवश्यक छ ।
सामान्यतया टाउको दुखाई तीन प्रकारका हुन्छन्न्ः
–माइग्रेन पेन
–टेन्सन हेडेक
–क्लस्टर हेडेक
त्यसमध्ये माइग्रेन एक विशेष प्रकारको टाउको दुखाई हो ।
युवाहरुमा धेरै
एक अध्यायनको क्रममा ७/८ वर्षका बच्चादेखि ५०/६० वर्षका प्रौढ मानिसलाई पनि माइग्रेनको समस्या देखिएको छ । जबकी माइग्रेन विशेषगरी १५ देखि ४० वर्ष उमेर समूहका मानिसलाई धेरै हुने गर्छ । यो समस्या एकपटक सुरु भएपछि लाइफटाइम दुःख दिन्छ । तर, सावधानी अपनाएर सही उपचार गरेको खण्डमा कष्टकर हुँदैन । नत्र यसले धेरै पीडा दिनसक्छ ।
सामान्यतया माइग्रेन हेडेक सुरु भएपछि न्युनतम चार घण्टादेखि अधिकतम ७२ घण्टासम्म रहन्छ । एकैछिन आउने, हराउने हुँदैन ।माइग्रेन सुरुमा कम पीडादाइ भए पनि विस्तारै दुखाई बढ्दै जान्छ ।
पहिलोपटक कडारुपमा टाउको दुखेको छ भने पनि माइग्रेन नहुन सक्छ । तर, पटक–पटक दोहोरियो, कम्तीमा पाँचपटक एउटैकिसिमको लक्षण देखियो र दुखाई चारदेखि ७२ घण्टासम्म कायम रह्यो भने माइग्रेन भएको आशंका गर्न सकिन्छ ।
माइग्रेन विभिन्न कारणले हुन्छ । कसैमा वंशाणुगत कारणले पनि हुनसक्छ । आमाबुवा, दाजुभाइ, दिदीबहिनी लगायतका परिवारका कुनै सदस्यमा छ भने पनि यो समस्या देखिनसक्छ । तनावपूर्ण जीवनशैली, अस्वस्थकर खानपान, आणुवंशीक कारण तथा वातावरणाीय कारणले पनि यो समस्या निम्तिन सक्छ ।
माइग्रेन के कारणले हुन्छ भन्दा पनि के कारणले बढ्छ भन्ने कुरा जान्न जरुरी छ । किनकी माइग्रेनको समस्या हुनु एउटा कुरा हो तर, त्यसलाई बढाउनु अर्को कुरा हो । थुप्रै तत्वले माइग्रेनलाई बढाउने हुँदा चिकित्सकले उपचारका क्रममा त्यस्ता कुराहरुमा विशेष ध्यानदिन जरुरी छ ।
यदि जीवनशैली व्यवस्थित र संयमित छैन भने पनि माइग्रेन हुने उमेर समूहका मान्छेलाई यसले अट्याक गर्न सक्छ । उदाहरणका लागिमाइग्रेनका विरामीलाई कम्तीमा ६ देखि आठ घण्टा सुत्ने सल्लाह दिइन्छ । किनकी आवश्यकता भन्दा धेरै वा कम सुताईले पनि टाउकोदुख्ने समस्या निम्तिन सक्छ । त्यस्तै समयमा खाना नखाने वा समयमा खाना खान नपाउनाले पनि माइग्रेनको अट्याक हुनसक्छ । चर्को घाम, अत्याधिक चिसो, लाउडस्पिकरको आवाज तथा भीडभाडमा जाँदा पनि धेरैलाई माइग्रेन हुनसक्छ ।
फूलको गन्ध, डियोड्रन्ट लगायत परफ्युमबाट निस्कने कडा गन्धका कारण पनि कयौंलाई टाउको दुख्नसक्छ ।
त्यसबाहेक लामो समयसम्म टिभी तथा मोबाइल हेरेमा वा कम्प्युटरमा बसेमा पनि टाउको दुख्नसक्छ । त्यस्तै मदिराको सेवन लगायतअन्य खानपानले पनि माइग्रेनको अट्याक बढी हुनसक्छ ।
खानेकुरा त्यसमा पनि विशेष गरेर अमिलो खानेकुरा (साँधेको अमिलो, तामा, गुन्द्रुक, दही, मही, सिसीको अचार, पानीपुरी, तितौरा) लगायतको सेवनले पनि माइग्रेनको अट्याक बढाउन सक्छ ।
त्यस्तै, अजिनोमोटो भएका खानेकुरा (फास्टफुड, नुडल्स) लगायतको सेवनले पनि माइग्रेनको अट्याक आउने सम्भावना उच्च हुने गर्छ ।त्यसबाहेक आवश्यकता भन्दा बढी मात्रामा कफीको सेवन र चीजको सेवनले पनि माइग्रेनको समस्या उच्च हुनसक्छ ।
कम गर्ने उपाय ?
माइग्रेन अट्याक कम गर्ने तीन महत्वपूर्ण उपाय छन् । पहिलोः जीवनशैलीमा ल्याउने परिवर्तन नै हो ।
हाम्रो जीवनशैली नियमित हुन जरुरी छ । नियमित जीवनशैलीमा खाने समय, सुत्ने, मनोरञ्जन गर्ने तथा काम गर्ने समय एकदम व्यवस्थित हुन जरुरी छ । यसमा धेरै उथलपुथल ल्याउनु हुँदैन । जस्तो कि कहिले १० बजे सुत्ने, कहिले १२ त कहिले २ बजे सुत्ने बानीछ भने यस्लाई हटाउनुपर्छ ।
मदिरा पिउने बानी छ भने बन्द गर्नुपर्छ । स्वास्थ्यमा असर गर्ने अन्य कुराहरुबाट समेत आफूलाई जोगाउनु पर्छ । हुन त यो गर्नु, यो नगर्नुभन्दैमा सबैले यी कुरालाई पूर्णतया व्यवहारमा उर्तान त सकिँदैन । तैपनि, यस सम्बन्धी ज्ञान भयो भने यसको अट्याकलाई कम गर्न सकिन्छ ।
उपचार विधि
माइग्रेनको पूर्ण उपचार छैन । तैपनी निश्चित उपचार विधि अपनाएर यसलाई कम गर्न सकिन्छ । बारम्बार अट्याक भइरहेमा विभिन्न किसिमको औषधि प्रयोग गर्नुपर्ने हुन्छ । तर, नेपालमा मात्र हैन कि विश्वको कुनै पनि ठाउँमा माइग्रेनलाई पूर्ण रुपमा निर्मुल गर्न सकिँदैन ।
तर, कुनै मानिसलाई महिनामा चार पटकभन्दा बढी टाउको दुख्छ, १२ घण्टाभन्दा बढी दुख्छ, एकैचोटी दुख्छ तर, असह्य पीडा हुन्छ रकेही काम गर्न सकिँदैन भने त्यसबेला औषधि चलाउन आवश्यक हुन्छ । एकपटक औषधि चलाइसकेपछि कम्तीमा तीन महिनादेखि ६महिनासम्म सेवन गर्नुपर्छ ।
कहिलेकाहीँ त्यो भन्दा बढी पनि औषधि चलाउनु पर्ने हुनसक्छ । लामो समय औषधि चलाउँदा माइग्रेन अट्याक आउने प्रक्रिया क्रमशः रोकिँदै जान्छ । परिणामस्वरुप, अर्को दुई/चार वर्ष माइग्रेनको समस्या नहुन सक्छ वा भए पनि मध्यम खालको अट्याक मात्र आउनसक्छ ।
जीवनशैलीमा परिवर्तन ल्याउन सके पनि यो समस्यालाई न्यूनिकरण गर्न सकिन्छ । त्यसका लागि सबैभन्दा महत्वपूर्ण मेडिटेसन हो ।
मेडिटेसनले पनि टाउको दुख्ने फ्रिक्वेन्सीलाई कम गर्छ तर। यस्ता कुनै पनि कुराले माइग्रेन निर्मुल गर्न भने सक्दैन । यिनीहरुलाईनियन्त्रण गर्ने मात्र हो । नियन्त्रण गर्न सके मात्र पनि धेरै सहज हुन्छ ।
माइग्रेनको राम्रो पक्ष पनि छ । राम्रो यस मानेमा कि यसले खतराको जनाउ दिन्छ । तपाईको जीवनशैली तल–माथि हुना साथ यो अट्याक आउनसक्छ । यस मानेमा माइग्रेनले जोगाउँछ ।
कति खतरनाक ?
माइग्रेन सम्बन्धी थुप्रै लेखहरु लेखिएको छ । तर, यसले ज्यानै जाने भन्ने हुँदैन । बरु स्वस्थ जीवनशैली अपनाउनलाई प्रोत्साहित गर्छ । जसले गर्दा अरु रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।
अन्यथा माइग्रेनको अट्याकले जीवन कष्टकर बन्नसक्छ । कतिपय मानिसलाई माइग्रेनकै कारण एञ्जाइटी, डिप्रेशन हुनसक्छ । कतिपयलाई फोविया, प्यानिक अट्याक लगायतका समस्या उत्पन्न हुन्छ ।
तथापि, माइग्रेन आफैंले ज्यान लिँदैन । केही प्रतिशत मानिसलाई आणुवंशीक कारणले गर्दा फेमिलियल हेमिप्लेजिक माइग्रेन हुनेसम्भावना पनि उच्च हुन्छ । त्यो माइग्रेनमा टाउको दुखेसँगै विरामीको शरीरको एक भाग चल्दैन र, टाउको दुखाई कम भएपश्चात्त स्वतःकम भएर जान्छ । तर, त्यो समस्या विरलैलाई हुन्छ । माइग्रेनका कारण गम्भीर डिप्रेसन भयो र डिप्रेसनका कारण मानिसको मृत्यु भयो भने त्यो छुट्टै कुरा भयो । तर माइग्रेनकै कारण भने मृत्यु हुँदैन ।
माइग्रेनका लक्षण
–पटक पटक टाउको दुख्ने
–टाउको दुखाई लामो हुने (केही घण्टादेखि सुरु भएर केही दिनसम्म रहेमा)
–टाउको भारी हुने
–टाउकोमा अप्ठेरो महसुस हुने
–टाउकाको टन टन भएर दुख्ने
त्यस्ता खालका दुखाई भएमा कतिपय मानिसहरुलाई वान्ता हुनसक्छ । कतिपयलाई चक्कर लाग्ने, रिङ्गटा लाग्ने, ठूलो स्वर सुन्न मननलाग्ने, बोल्न मन नलाग्ने लगायतका समस्या निम्तन सक्छ । जुन धेरै बेरसम्म रहिरहन्छ । यस्ता लक्षण माइग्रेनको टिपिकल लक्षणभएकोले यो समस्या पटक पटक दोहरिइरहेमा तुरुन्तै नशा रोग विशेषज्ञसित परामर्श लिम आवश्यक छ ।
माइग्रेन र घातक टाउको दुखाई
कुनै पनि मानिसलाई ४० वर्ष पश्चात्त टाउको दुख्न सुरु हुन्छ भने त्यो घातक टाउको दुखाई हुनसक्छ । किनभने माइग्रेनको समस्यासामान्यतया १५ वर्षको उमेरदेखि ४० वर्षसम्म मात्र हुने भएकोले एउटा फिजिसियन वा एउटा सामान्य नागरिकको हिसाबले पनि यो कुराछुट्याउन आवश्यक छ ।
विशेषगरी, टाउको दुखाई पहिलो हो र बेस्सरी दुखेको छ भने त्यसलाई सामान्यरुपमा लिनु हुँदैन । त्यो जहिले पनि ब्रेन हेमरेज, सब–एरेक्नोइड हेमरेजका कारण हुने गर्छ । अर्को, कसैको टाउको दुखाई समय अनुसार बढ्दै गयो वा छिटो–छिटो दुख्न थाल्यो भने पनि त्यसले घातक कारणको संकेत गर्छ ।
त्यस्तै, टाउको दुखाईसँगै कसैलाई ज्वरो पनि आइरहेको छ भने त्यो मेनेन्जाइटिस वा ब्रेन टिभीको संकेत हुनसक्छ । त्यस्तै कसैलाईटाउको दुखेको पनि छ र एक साइड नचल्ने वा बढी झमझम गर्छ भने त्यसले घातक कारणलाई संकेत गर्छ । त्यो प्राय मस्तिष्कघात वाब्रेन ट्युमरमा हुनेगर्छ ।
यसबाहेक, अलि अली टाउको दुखाईसँगै दुब्लाउदै गएको छ र खानामा पनि अरुची बढ्दै गएको छ भने त्यसले मस्तिष्कको क्यान्सरलाई संकेत गर्न सक्छ । त्यतिबेला हामी सतर्क हुनु पर्दछ । किनकी यसलाई ‘रेड फ्याग साइन इन हेडएक’ पनि भनिन्छ ।




