बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

आफ्नै कामले अप्ठ्यारोमा गण्डकीका मन्त्री कुमार खड्का

आफ्नै कामले अप्ठ्यारोमा गण्डकीका मन्त्री कुमार खड्का

आफ्नै वडामा ‘कुमार खड्का समर्थक कार्यक्रम’


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०७९, आइतबार

पोखरा/ आसन्न प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा बहालवाला मन्त्रीमध्ये अत्यन्तै अप्ठ्यारो अवस्थामा कोही छन भने ती हुन, गण्डकीका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्का ।

२०७४ सालको प्रदेश तथा प्रतिनिधीसभा निर्वाचन अघि असोज २९ गते खड्का कांग्रेस प्रवेश गरेका थिए । शेरबहादुर देउवाको हातबाट टिका लगाएर कांग्रेस प्रवेश गरेका खड्कालाई पार्टीले समानुपातिक तर्फबाट प्रदेश सांसद बनायो ।

गण्डकीमा प्रदेशका ३६ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ६ वटामा मात्र जित हात पा¥यो भने खड्का सहित ९ जना सांसद चाहिँ समानुपातिकतर्फबाट आएका थिए ।
प्रदेशमा एकचौथाई सांसद रहेको कांग्रेसको तर्फबाट उनी सार्वजनिक लेखा समितिका सभापति बने । त्यसपछि नेकपा विघटन र गठबन्धनको निर्माण बन्ने वातावरण तय भएपछि एकचौथाईको कांग्रेस अहिले सत्तामा छ । र, सबैभन्दा बढि बजेट भएको मन्त्रालय उनै खड्काले पाएका छन ।

कांग्रेसका ६ जना मन्त्रीमध्ये मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा मात्रै प्रत्यक्षबाट चुनाव जितेका थिए । समानुपातिक तर्फबाट आएरपनि संसदको महत्वपूर्ण समिति देखि सरकारमा मालदार मन्त्रालय हात पार्नुमा खड्काको चातुर्यताले काम गरेको हो भन्नेमा दुइमत छैन ।
तर, आसन्न चुनावमा संसदीय राजनीति रहने हो कि होइन भन्ने सबैभन्दा ठुलो चिन्ता उनै खड्कालाई छन । उनी आफै भन्छन, “म सँग प्रत्यक्ष लड्नुको विकल्प छैन, टिकट पाइन भने मेरो संसदीय राजनीति सकिन्छ ।”

प्रदेशको मन्त्री बन्नुपूर्व खड्का दोश्रो संविधानसभा निर्वाचनमा पनि समानुपातिक प्रणालीबाटै संसद छिरेका थिए । त्यतिबेला उनले बाहुन क्षेत्रीको पार्टी अखण्ड नेपाल पार्टी थियो र उनी त्यसका अध्यक्ष थिए ।
२०७० साल जेठ ९ गते निर्वाचन आयोगमा पार्टी दर्ता भएपछि खड्काले क्षेत्री बाहुनको जातीय नारा बोकेर सांसद बन्न सफल भएका थिए ।

उनको दलले २०७० मा दोश्रो संविधानसभा निर्वाचनमा भाग लियो । प्रत्यक्षमा कहिँ जितेन । तर, समानुपातिकतर्फ ३६ हजार ८ सय २३ र प्रत्यक्षतर्फ १२ हजार ५ सय ९० मत प्राप्त ग¥यो । पार्टीका अध्यक्ष कुमार खड्का समानुपातिक मतको आधारमा संविधानसभा सदस्य भए ।

दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक रूपमा अखण्ड नेपाल पार्टीका तर्फबाट उनी एक्ला सांसद हुन । तत्कालीन प्रचण्ड सरकारमा उनलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

२०७४ असोजमा कुमार खड्काले अखण्ड नेपाल पार्टीलाई नेपाली कांग्रेसमा विलय भएको घोषणा गरे। उनी प्रदेश सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सांसद हुँदै मन्त्री बने ।
तर, अबको राजनीतिक भविष्यबारे उनी नै अन्योलमा छन ।

कांग्रेस पार्टीले प्रदेश र प्रतिनिधीसभाका क्षेत्रीय समितिलाई परिपत्र गर्दै समानुपातिक सांसदलाई दोहो¥याएर सिफारिस नगर्न निर्देशन दिएको छ ।
त्यही निर्देशनकै कारण आफ्नो संसदीय राजनीति सकिन लागेको आभास मन्त्री खड्काले गर्न पुगेका छन ।

संसदीय राजनीतिलाई अगाडि बढाउने उनको एकमात्र विकल्प भनेको प्रत्यक्ष निर्वाचन हो । त्यसरकारण उनले संघमा नभई प्रदेशसभातर्फ प्रत्यक्षमा एकठाउँबाट मात्र आकांक्षा राखेका छन ।
त्यो निर्वाचन क्षेत्र कास्की २‘ख’ हो । यहाँबाट अघिल्लो निर्वाचन कांग्रेसकै विन्दुकुमार थापाले जितेका थिए । उनी पनि बहालवाला मन्त्री हुन र उनको दाबी पनि पुनः यही क्षेत्रमा छ ।
मन्त्रीद्वयको प्रतिष्पर्धा हुनुको मुख्य कारण चाहिँ अबको मुख्यमन्त्री बन्ने लालसा नै हो । कसरी हुन्छ प्रत्यक्षमा टिकट ल्याउने ध्याउन्न उनीहरुको छ । यस्तो अवस्थामा पार्टीले प्रदेशसभामा अघिल्लो निर्वाचन जितेका थापालाई नै दोहो¥यायो भने अर्का मन्त्री खड्काको संसदीय राजनीतिको च्याप्टर क्लोज नै हुनेछ ।

त्यसकारण मन्त्री खड्काले विन्दुकुमार थापासँग समानुपातिक बस्ने वा प्रतिनिधीसभा निर्वाचन क्षेत्र लड्ने विकल्प रहेको सुझाव दिन्छन । आफूले प्रतिनिधीसभाको टिकट पाएको खण्डमा जित्न नसकिने उनको ठम्याई छ ।

“मैले प्रदेशसभाको र विन्दुजीले प्रतिनिधीसभाको टिकट पाएको खण्डमा दुवै क्षेत्र जित्न सकिन्छ । अर्को कुरा उहाँसँग समानुपातिकमा पनि बस्ने विकल्प छ तर, मेरो छैन ।” खड्काले भने ।
तर, अर्का मन्त्री विन्दुकुमार थापाको जोडबल पनि प्रदेशमा नै हो । आन्तरिक रुपमा उनले आफ्नो तयारी अगाडि बढाइसकेका छन ।

टिकट नपाउने र संसदीय राजनीतिबाटै बाहिरिनुपर्ने त्रासमा खड्का रहेकै अवस्थामा उनको वडा पोखरा १६ मा शुक्रबार आयोजित एक कार्यक्रमले चाहिँ कास्की कांग्रेसमा तरंग ल्याएको छ ।
यसलाई मन्त्रीको गुट भेला गरिएको भन्नेदेखि लिएर अनुशासनको कारवाही चलाइनुपर्छ भन्नेसम्मका माग कास्की कांग्रेसमा उठेका छन ।
शुक्रबार त्यहाँको वडा कार्यसमितिको ब्यानरमा ‘कुमार खड्का समर्थक भेला’ नामक कार्यक्रम गरिएको छ ।

आयोजकमा पनि नेता कुमार खड्का समर्थक भन्ने राखिएको छ भने सामाजिक सञ्जाल फेसबुकमा पनि ‘विकासप्रेमी नेता कुमार खड्का समर्थक समूह’ नामबाट पेज खोलिएको छ । उक्त पेजमा शुक्रबार मन्त्री सम्मिलित कार्यक्रमको तस्बिर राखिएको छ ।

त्यहाँ आउँदो चुनावमा कास्की २‘ख’ मा कुमार खड्कालाई टिकट दिइनुपर्ने माग राखिएको छ भने कुमार खड्का नै सक्षम रहेको र जनताले पनि खड्कालाई नै चाहेको भनेर लेखिएको छ ।

“कसैले कसैमाथि आलोचना र टिकाटिप्पणी गर्नु भन्दा पनि आकांक्षा राख्नु भएका नेताहरुले म कति सक्षम छु ? यो अहिलेको २१ आँै शताब्दीमा जनता के चाहिरहेका छन ? यो बुझेर म म सम्झिनोस । आकांक्षा भएका नेताहरुलाई पनि पार्टीले उच्च मुल्यांकन साथै कदर गर्नुपर्दछ ।” लेखिएको छ ।

कुमार खड्कालाई उमेदवार बनाएको खण्डमा कांग्रेस सहितका अन्य दलहरु, स्वतन्त्र नागरिकले पनि समर्थन गर्ने भन्दै खड्कालाई टिकट दिलाउन उक्त भेला आयोजना गरिएको थियो । कार्यक्रममा बोल्नेहरुले पनि मन्त्री खड्काले टिकट नपाए विद्रोह हुने चेतावनीपूर्ण भाषण गरेका थिए । त्यही कार्यक्रमलाई लिएर कास्की कांग्रेसभित्रै मन्त्री खड्काको विरोध भएको छ ।

यसबारेमा कास्की कांग्रेस सभापति किशोरदत्त बरालले आफूले कार्यक्रमबारे बुझ्न लगाएको प्रतिक्रिया दिएका छन । कास्की कांग्रेसका सचिव देवेन्द्र रानाभाटले चाहिँ ब्यानरमा देखिए अनुसारको कार्यक्रम पार्टीको जिम्मेवार व्यक्ति र मन्त्रीले गर्न नहुने बताए । यसले गठबन्धनको मर्म र आसन्न चुनावलाई प्रभावित बनाउने उनले बताए ।

अर्का सचिव भानु ढकालले चाहिँ, सम्बन्धित इकाइ, टोल भातृ संस्थाहरुले चुनामुखी कार्यक्रम गर्नुपर्नेमा जोड दिए । १६ नं. को कार्यक्रममा आपत्ति नभएतापनि त्यहाँ प्रयोग भएको ब्यानर चाहिँ असुहाउँदो रहेको उनको टिप्पणी उनले गरे ।

“पार्टीको हितमा हुने कार्यक्रमलाई जारी राख्नुपर्छ, तर, व्यक्तिवादी, कुनै उमेदवार लक्षित कार्यक्रमहरुमा चाहिँ नगर्न अनुरोध गर्दछु ।” ढकालले भने ।

यता मन्त्रीले चाहिँ आफू कार्यक्रममा सहभागी भएको स्विकार्दै कुनै गुटको भेला नभएको प्रष्ट पारे । ब्यानरको बारेमा चाहिँ आफ्नो पनि सहमति नभएको उनको भनाई छ ।

“मेरा शुभचिन्तकले गरेको कार्यक्रममा गएको हुँ, यो कुनै गुटको कार्यक्रम होइन । कुमार खड्काले काम गरेको छ, उसले टिकट पाउनुपर्छ भनेर दबाब दिन राखेको कार्यक्रम हो अन्यथा केही होइन ।” खड्काले भने ।

गुट र समर्थक शब्दप्रति भने उनको स्विकार्यता छैन । “अन्य उमेदवारहरुले पनि भेटघाट तीव्र बनाएका छन, कि त्यसलाई पनि गुट भेला भन्नुप¥यो” उनले भने, “होइन भने चुनाव आउँदैछ उमेदवारको आकांक्षी हुँ मैले भेटघाट पनि गर्न नपाउने ?” अन्य उमेदवारको रुपमा उनले विन्दुकुमार थापालाई नै संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->