आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कास्कीमा १ संघ र २ प्रदेश हाम्रो वटम लाइन हो : उपाध्यक्ष बराल

कास्कीमा १ संघ र २ प्रदेश हाम्रो वटम लाइन हो : उपाध्यक्ष बराल


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७९, बुधबार

स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको चुनावी कमान्डर बनि मेयर जिताउन मुख्य मूमिका खेलेका नेकपा एकिकृत समाजवादीका पोलिटिव्युरो सदस्य एवम् गण्डकी प्रदेश कमिटि उपाध्यक्ष श्रीनाथ बराल पुर्व एमालेका पुराना नेता हुन् । पार्टी विभाजन पछि समाजवादी तर्फ लागेका क्रियाशिल नेता बराल आगामी मंसिरमा हुने निर्वाचनका लागि पार्टीको तर्फबाट संघीय सांसदका लागि निर्विकल्प नाम सिफारिस भएको छ । तिनै बरालसँग निर्वाचन र गठबन्धनबारेमा गरिएको छोटो कुराकानी

संघीय सांसदमा निर्विकल्प नाम सिफारिस भएको छ टिकट पाइन्छ त ?

गठबन्धन हुँदा हाम्रो सिट जति पर्छ त्यो भित्र हामी बस्नुपर्छ । पक्कैपनि पार्टीले अटाउनेगरी राख्नेछ भन्ने मैले ठानेको छु ।

गठबन्धनबाट कसरी अघि बढ्दै हुनुहुन्छ ?

सिट निर्धारण गरेपछि मात्रै गठबन्धनमा कसरी जाने भन्ने हो । जुन पार्टीले जति सिट पाउँछ त्यसमा राम्रो, योग्य र सक्षम उम्मेदवार उठाइ चुनावि तालमेल गरेर गठबन्धनको भावना अनुसार नै जाने पक्षमा छौँ । खासगरी सांसद्मा जाने देशको ऐन कानुन, नीति निमार्णमा तहमा जाने भएकाले यसमा जिम्मेवार, धेरै खारिएका र एकदमै बौद्धिक स्तरका साथै जनतासँगपनि सम्बन्ध भएको, विकास निमार्णको काममा घुलमिल हुन सक्ने त्यसता खालको व्यक्तिहरुलाइ हामीले पठाउनपर्ने हुन्छ । हाम्रो निर्वाचन प्रणाली प्रत्यक्ष र समानुपातिक छ । समानुपातिकमा पार्टीबाटै चुनाव लड्छ र प्रत्यक्षमा गठबन्धन गरेर लड्छौँ । हामी त्यहि तयारीका साथ बढिरहेका छौँ र यो राम्रो तयारीका साथ जान्छ भन्ने लागेको छ ।

तपाइको नाम सिफारिस भएको क्षेत्र १ पाउँछ भन्ने विश्वास छ ?

व्यक्तिगत रुपमा भन्दा क्षेत्र नं. १ नै पाउँछौँ । तर समग्रतामा गठबन्धनमा छलफल, समझदारी हुँदा त्यो पर्नपनि सक्छ नपर्नपनि सक्छ । जे होस् कास्कीमा एउटा संघीय र प्रदेशमा २ सांसद हामीले पाउनै पर्छ र हाम्रो वटम लाइन पनि हो । त्यो पाउने स्थितिपनि छ हाम्रो । विगतमा एमाले फुटेर बनेको पार्टी हो । त्यो बेला ३ संघ र ३ प्रदेशको सिट एमालेले जितेको थियो । वाम गठबन्धनकै आधारमा पनि २ सिट माओवादीले जितेको थियो एउटामात्रै कांग्रेसले जितेको थियो । अहिलेको शक्ति सन्तुलनको अवस्था अहिलेको परिस्थिति हेरेर कांग्रेस ठूलो पार्टी छ उसको अलिकति सिट बढी हुन्छ । संघमा एक र प्रदेशको पनि मिलाएर जानुपर्ने हुन्छ । सोही अनुसार जानेछौ ।

कास्कीमा कुन कुन क्षेत्र मागिरहनुभएको छ ?

हाम्रो दृष्टिकोण र विचार हामीले माथि (केन्द्रमा) पठाएका छौँ । त्यो माथिबाट निर्णय भएर आउने कुरा हो । सबै पार्टीको व्यवस्थापनबाट भर पर्छ । हाम्रो चाहान त १ नै हो अब हेरौँ के हुन्छ ।
एमालेमा हुँदापनि पिडित अहिले पनि पिडित नै हुने त होइन् ?
राजनितिमा त्यसतो हुन्छ पुराना कुरा कोट्याएर पनि भएन । म ०६४ सालमा पनि कास्की क्षेत्र नं. २ बाट सिफारिस भएको थिए । ०७४ सालमा पार्टीभित्रको चरम गुटबन्दीका कारण मलाइ रोक्ने अवस्था भयो तरपनि निरन्तर आफ्नो काम गरे । कुनैदिन गुनासो गरिन् । मलाइ पार्टीमा एउटा सिस्टम र विधि हुन्छ भन्ने लाग्छ र त्यहि मापदण्ड हेर्दा अब पक्कै पर्छु भन्ने लाग्छ । मैले टिकट नपाएपनि पार्टीका उम्मेदवारलाइ जिताउन मेरो भूमिका हुनेछ । अब पिडित हुने मैले देखेको छैन् । पक्कैपनि अहिले यो जिम्मेवारी मेरो पार्टीले पाएको कोटामा मैले प्राप्त गर्छुहोला भन्ने ठानेको छु ।

क्षेत्र नं. १ नपाए अन्तबाट उठनु हुन्छ ?

मैले १ नै पाउँछु भन्नेमा ढुक्क छु । पाएन भने त्यसपछिको सल्लाह गर्छु अहिले ढुक्क छु । अन्तबाट उठ्ने भन्ने विषयमा पार्टीको निर्णयमा भरपर्ने कुरा हो । पार्टीले जे निर्णय गर्छ त्यो पुरा गर्न म तयार छु ।

पोखराको मेयर जिताउनुभयो अबको निर्वाचनमा कसरी लाग्नुहुन्छ ?

हाम्रो पार्टी योजनाबद्ध रुपमा लागेको छ । जे जिम्मेवारी पाउँछ त्यही अनुसार हामी लाग्नेछौँ । मेरो अहिलेसम्मको दृष्टिकोण आफुसमेतको उम्मेदवारी भएर सोही अनुसारको तयारी गरिरहेका छौँ । यसमा सिंगो पार्टीपनि लागेको छ । हामीले कति कोटा पाउँछौँ त्यो सहित हामी गठबन्धनका उम्मेदवारलाइ जिताउनेगरी लाग्छौँ ।

टिकट पाए जित्ने आधार केके छन् ?

आधार त हामी जनताका सेवा गरेका छौँ । पार्टीको सेवा गरेका छौँ । हामीसित दृष्टिकोण छ । कसरी प्रदेश सरकार चलाउने त्यसले कस्ता कस्ता काम गर्छन्, केन्द्रिय संसदले कस्ता कस्ता ऐन कानून बनाउनुपर्छ र त्यो क्षेत्रबाट विकास निमार्णका काम कसरी गर्नुपर्छ भन्ने प्रष्ट दृष्टिकोण छ । दोस्रो कुरा विगतमा मौका पाउँदा काम गरिसकेको छु । म जिल्ला विकास समितिको उपसभापति हुँदा सफलता पुर्वक कस्केली जनताको काम गरेको छु । अर्को कुरा मौका नपाउँदा पनि त विकास निमार्णका काममा, विद्यालय, पुर्वाधार, खानेपानी लगायत सबै काममा लागि परेकै छु । राजनितिक हिसाबले म अनुभवि उमेरको हिसाबले पनि म वृद्ध होइन् । म युवा राजनितिज्ञ भएको हिसाबले युवा पुस्ताले मलाइ साथ दिन्छ भन्ने मैले ठान्छु । किनभने पाका नेताहरु जस्तो धेरै दौडधुप गर्न नसक्ने स्थितिमा म छैन् । शारिरीक र मानसिक रुपमा अझै युवा नै छु । पाका पुराना राजनितिज्ञ र युवापंक्ति दुवैको मिश्रण हुँ म । त्यसकारण दुवै पंक्तिले मलाइ रुचाउँछ भन्ने लागेको छ ।

टिकट पाउनुभयो भने तपाइकै पुर्व पार्टी विरुद्ध लड्नुपर्नेछ त्यसलाइ कसरी हेर्नुहुन्छ ?

त्यो पार्टीको कार्यकर्ताले मलाइ धेरै माया गर्नुहुन्छ । त्यो मात्रै होइन सिंगो कास्कीका जनताले माया गर्नुहुन्छ । सबैको भावना जितेर नै विजयश्री हासिल गर्छ । उहाँहरुको सेवामा विना पक्षपात सबैको साझा जनप्रतिनिधि भएर काम गर्छु । जित्नका लागि पनि सबैको सहयोग लिन्छु र जितेपनि सबैलाइ सहयोग गर्छु । मैले तल्लो स्तरसम्म जुन सर्वेक्षण गरेको छु त्यो सर्वेक्षण अनुसार सबैले मलाइ यो पटक चुनाव लड्न सुझाव दिएका छन् । धेरैको माग छ । गठबन्धन त भइहाल्यो पूर्व पार्टीकै साथिहरुले पनि सोही कुरा भनेका छन् । म सबैको संयोजनकारी व्यक्ति हुँ । पूर्व पार्टीमात्र होइन मैले गाउँ र सहर दुवैका मान्छेहरुको समस्या बुझेको छु । मैले घमण्ड गरेको होइन् मेरो जिवन नै राजनितिमा समपर्ण गरेको हुँ । मेरो क्षमतालाइ जनप्रतिनिधि भएर सेवा गर्न चाहान्छु र मलाइ सबैले साथ दिनेछन् ।

अझैपनि गठबन्धनको भागबन्डा मिलेको छैन्, निर्वाचनका ढिला हुँदैन ?

हो । यसले तयारीमा ढिला हुन्छ । तरपनि हामी समानुपातिक निर्वाचन प्रणालीअनुसार सबै क्षेत्रमा लड्छौ । प्रत्यक्षतर्फ गठबन्धनमा सक्रिय भएर मत हाल्न र मतदाता रुझाउन लाग्नुपर्छ । आन्तरिक रुपमा हामी तयारीमा लागिपरेका छौँ । हामीले सबैक्षेत्रबाट नाम सिफारिस गरिसकेका छौ । त्यो हाम्रो प्रारम्भिक तयारी हो । अब सिट बाडँफाड पछि रिसेटल्मेन्ट पनि हुन्छ सक्छ । किनभने हाम्रो पार्टी एकल लड्ने भएपो जहाँ जहाँ हुन्छ त्यहाँ लड्ने । कतिपय अवस्थामा प्रत्यक्षमा नाम सिफारिस भएका साथिहरुपनि समानुपातिकमा जानुपर्ने हुन्छ । कतिपय प्रदेशमा भएका संघमा र संघमा सिफारिस भएका प्रदेशमा उठाउनु पर्ला । कतिपयलाइ एकठाउँबाट अर्को ठाउँमा पनि लानुपर्ला । गठबन्धनमा कति सिट पर्छ त्यो हेरेर पार्टीले रिसेटल्मेन्ट गर्ने भनेको छ ।

प्रदेशमा झर्ने स्थिति बन्ला ?

पार्टीले जहाँ भन्छ त्यहाँ म जान्छु । पार्टीको निर्णय नै मेरा लागि शिरोधारी हुनेछ । मेरो चाहाना केन्द्रिय सांसद हुनेनै हो । संघ छाडेर प्रदेशमा पनि झर्न सक्छु । पार्टीले मापदण्ड हरेर नै बनाउनेछ । नाम सिफारिस हुँदा नै के भनिएको छ भने केन्द्र जसलाइ जहाँ उपयुक्त ठान्छ त्यहि सिफारिस गर्छ सोही अनुसार हामी जाने हो ।

अन्त्यमा आम नागरिकलाइ के सन्देश दिनुचाहानुहुन्छ ?

हामी सबै नागरिकले दुःख गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । संविधान निमार्ण भइसकेपछि एकपटक निर्वाचन भएर पाँच वर्ष वितिसकेको छ र दोस्रो निर्वाचन हुँदैछ । हामीले यो व्यवस्थालाइ अगाल्दै आगामी निर्वाचनलाइ शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्नुपर्छ । अब एउटा गरिब र मध्यमवर्गको व्यक्तिले पनि चुनाव लड्न सक्ने र वर्गिय व्यक्तिहरुपनि देशको नीति निमार्ण गर्ने स्थानमा जान सक्ने व्यवस्था बनाइराख्न हामीसबैले ध्यान दिन पर्छ भन्ने सन्देश दिन चाहान्छु धन्यवाद ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->