पोखरा, २१ भ्दौ– गत असार १० र ११ गते पोखरामा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा कास्की जिल्ला ब्याडमिन्टन संघले प्रदेश स्तरिय प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा नेपालको उत्कृष्ट ब्याडमिन्टन खेलाडीको समेत सहभागिता रहेको थियो । त्यहि प्रतियोगितामा सहभागी थिए, २४ वर्षीय विवेक सुवेदी ।
प्रदेशस्तरीय खेलमा उनले ३ जनासँग प्रतिस्पर्धा गरे, त्यो पनि नेपालका उत्कृष्ट १० भित्रपर्ने खेलाडीसँग । विवेक नवौं राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोटमा समेत सहभागी भए । तर, छनोटमा पर्न सकेनन् । प्रदेशस्तरीय खेलमा पनि उनी सहजै हार्न पुगे ।
पोखरा महानगरपालिका वडा ८ रत्नचोक बस्ने विवेकले करिब ४ वर्षअघिबाट ब्याडमिन्टन खेल्न सुरु गरेका हुन् । उनले पहिला मनोरञ्जनका लागि खेल्ने गरेपनि अहिले भने एउटा सपना बोकेर खेल्ने गरेका छन् । २ वर्षअघि जनप्रिय बहुमुखी क्याम्पसमा भएको अन्तर संकाय ब्याडमिन्टनमा उनी प्रथम भए । ३ पटकसम्म सहभागिता जनाएका उनी पहिलो सहभागितामा सान्त्वना, दोस्रोमा उपविजेता तथा तेस्रोपटकको सहभागितामा विजेता बन्न पुगे । उनले वडादेखि प्रदेशस्तरीयसम्मको प्रतियोगिता खेलिसकेका छन् ।
शरीरको दायाँ भाग कमजोर भएका उनी अहिले पारा ओलम्पिकको सपना देखिरहेका छन् । नवौं गण्डकीमा हुने भएपछि जिल्ला छनोटमा पुगेका उनले अबको लक्ष्य भने पारा ओलम्पिकतर्फ सोझिएको छ । नवौंका लागि छनोट खेल्दै गर्दा पारा ओलम्पिकको कुरा सुनेपछि आफूलाई आशा जागेको उनी बताउँछन् । विगत ४ महिनादेखि उनी निरन्तर प्रशिक्षण लिइरहेका छन् ।
जनप्रिय क्याम्पस आडमा कृष्ण मन्दिर परिसरमा रहेको ब्याडमिन्टन कोर्टमा स्थानीय खेलाडीहरु खेल्दै गरेको देखेपछि खेल्न मन लागेको उनी बताउँछन् । ‘कृष्ण मन्दिर नजिकै व्याडमिन्टन कोर्ट बन्दै थियो । दाइहरु खेल्दै हुनुहन्थ्यो अनि मलाइ उनीहरुको खेल हेरेर खेल्न मन लाग्यो’, उनले भने,‘विस्तारै खेल्दै खेल्दै गर्दा युटुवमा पनि सर्च गर्न थाले लिच्याङ वे, लिङड्याङहरुको खेल हेर्न थाले । अनि आफ्नो खेल अघि बढाउँदै गएको हो ।’
सुरुसुरुमा खेल्न निकै गाह्रो भएपनि आफु कमजोर रहेको महसुस भने नभएको उनको भनाइ छ । ‘खेल्न एकदमै गाह्रो हुन्थ्यो । पालो नै नपाइने । अरुको खेल एकदमै राम्रो हुन्थ्यो पछि मेरो नि राम्रो हुन्छ भन्ने सोचेर खेलेँ ।’ त्यसैमा थप्छन्, ‘मैले एकदमै सुधार गरेपछि खेल्ने पालो पाएँ ।’ शारीरिक अशक्तताका कारण नै खेल्न पाएनन् । कतिबेला पालो पाउँछु भनेर कुर्दैमा उनको दिन जान्थ्यो । अहिले उनलाइ खेल्नेमात्र होइन खेलको नियमदेखि खेल्ने किसिमका बारेमा समेत धेरै ज्ञान मिलिसकेको छ ।
‘पहिला मलाइ फोर ह्याण्ड समातेको छु कि, ब्याक ह्याण्ड ग्रिप समातेको छु । के हानेको छु ? कस्तोलाई डिफेन्स भनिन्छ भन्नेमात्र हैन, कुन स्टोकलाई के भन्छ भन्ने पनि थाहा थिएन’, उनले भने ‘¥याकेट समात्दा पनि धेरै फरक पर्दो रहेछ । अहिले फोर ह्याण्ड ग्रिप नसमातिकन उपयोग नै हुँदैन् । पहिला कक ओपनिङले फाल्यो भने पनि यत्तिकै दौडिन्थ्याँै तर अहिले स्टेपिङ ।’ उनले ब्याडमिन्टनमा फुटवर्क निकै महत्वपूर्ण रहेको सुनाए । पहिला ब्याडमिन्टन निकै सामान्य खेल लागेपनि अहिलेको प्रशिक्षणले निकै गाह्रो रहेछ भन्ने बुझाएको बताए ।
प्रदेशस्तरीय प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी किशान खड्का, सम्भुकुमार श्रेष्ठ र एक अर्का खेलाडीसँग खेलेको स्मरण गर्दै खेलमा आफूलाई ती खेलाडीले ठूलो हौसला प्रदान गरेको उनले सुनाए । । ‘दाइहरुसँग ५–९ जस्तो ल्याइया,े त्यति ल्याउनु पनि निकै ठुलो लाग्यो । दाइहरुले माया गरेर स्न्याच हानेनन् । प्लेसिङ, ड्रप अनि बेसहरु फाल्नुभयो । त्यो हुँदा पनि ५ अंक ल्याउनु राम्रो लाग्यो ।’
उक्त छनोटलाई निकै ठूलो अवसरको रुपमा लिएको सुनाए । तर, आफुजस्ता खेलाडीका लागि नेपालमा पारा गेमको कमी महसुस भएको उनको भनाइ छ । सुर्खेतका प्रकाश अधिकारीले सन् २०२० मा दुवइमा भएको पारा ओलम्पिकको क्वाटर फाइनलसम्मको यात्रा तय गरेका थिए । उनीजस्तै पारा ओलम्पिकसम्मको यात्रा आफ्नो लक्ष्य भएको उनले सुनाए । त्यसका लागि राज्यको साथ चाहिएको उनको भनाइ छ ।
नवौं राष्ट्रिय खेलकुद जस्तै पारा राष्ट्रिय खेलकुदसमेत समावेश गरेमा राम्रो हुने उनको बुझाइ छ । अपाङ्गता भएका व्यक्तिका लागि खेल नै नहुने हुँदा त्यसमा राज्यको ध्यान पुग्नुपर्ने उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनका लागि नेपालले प्रतिनिधि पठाउन कोसिस गर्नुपर्ने सुझावसमेत दिए ।
विवेक उदाहरणीय पात्र हुन् ः प्रशिक्षक
विवेकलाइ प्रशिक्षण दिदैँ आएकी साफ गेमकी पदक विजेता खेलाडी पुनम गुरुङले विवेक अन्य खेलाडीका लागि उदाहरणीय पात्र रहेको सुनाइन् । उनले विवेकको खेल कौशल सामान्य खेलाडी सरहकै रहेको बताइन् । सुरुका दिनमा विवेकको दायाँ खुट्टा निकै कम चल्ने गरेको र प्रशिक्षण पछि धेरै सुधार आएको उनी सुनाउँछिन् ।
‘विवेक हाम्रा लागि उदाहरणका पात्र हुन् । उसले अवसर पाएमा ठूलो प्रगति हासिल गर्न सक्छ । यहाँ खेल्न आएर छिटो प्रगति गर्नेमध्येमा विवेक पनि पर्छ’, उनले भनिन्,‘प्रशिक्षणमा धेरै राम्रो गरेको छ अवसर नपाएको मात्र हो । उसको जतिको खेल हुने हो भने प्रगति गर्छ । नर्मल मान्छेसँग खेल्न सक्दैन् । लगनशील छ ।’ गुरुङका अनुसार विवेकलाइ देखेर अन्य खेलाडीमा समेत हौसला आउने गरेको छ । विवेकलाई निःशुल्क प्रशिक्षण दिनेगरेको उनी सुनाउँछिन् । उनलाइ अशक्त छ भनेर कहिल्यै आफुले फरक तरिकाले नहेरेको पुनम सुनाउँछिन् । पारा ब्याडमिन्टन नहुँदा कहिलेकाहिँ विवेकलाई मानसिक रुपमा तनाव हुने गरेको उनले बताइन् ।
(तस्वीर सौजन्य ः पुन फोटोग्राफी)





