पोखरा/ आइतबार मनोनयन दर्ता गर्ने समय सकिँदा स्याङजाका प्रतिनिधीसभाका २ तथा प्रदेशसभाका ४ वटै क्षेत्रमा कांग्रेसका उमेदवारले उमेदवारी दर्ता गराए । जबकी गठबन्धनबाट चुनाव लड्दा प्रदेशसभाका २ वटा क्षेत्र नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई दिने गरि गठबन्धनको कार्यदलले सिट बाँडफाँट गरेको थियो ।
तर कांग्रेसका केन्द्रिय उपसभापति, पूर्व केन्द्रिय उपसभापति, जिल्ला सभापति तथा सभापतिका प्रत्यासीको स्वार्थ मिल्दा गठबन्धनका उमेदवारलाई कांग्रेसले बेवास्ता गर्दै सबै क्षेत्रमा आफ्नो उमेदवारी दियो ।
प्रदेशसभाका दुइवटा क्षेत्रको विवाद जिल्लामा मिल्न नसक्ने देखिएपछि केन्द्रमा पुगेको छ । बुधबार दिनको ३ बजेसम्म उमेदवारी फिर्ता लिने समयसीमा भएका कारण स्याङजामा गठबन्धनका तर्फबाट प्रदेशसभाको उम्मेदवार को हुन्छ भन्ने अझै यकिन भएको छैन ।
बालुवाटार र खुमलटारले नै यहाँ विवाद देखिएको क्षेत्र १ (क) को बारेमा निर्णय गर्नेछ ।
यो क्षेत्र यसअगाडि गण्डकी सरकारका वनमन्त्री माओवादी केन्द्रका दीपक चर्तीले चुनाव जितेका थिए । गण्डकी सरकारकै शिक्षामन्त्री मेखलाल श्रेष्ठको चुनावी क्षेत्र पनि यही हो । समानुपातिकबाट सांसद बनेका श्रेष्ठले प्रत्यक्षमा टिकट नपाए संसदीय राजनीतिको च्याप्टर क्लोज हुने अवस्था थियो । अर्कातर्फ यो क्षेत्रबाट यसअगाडि माओवादीले जितेका कारण माओवादीको पनि अडान कायमै थियो ।
माओवादीले यहाँबाट अमृता थापामगरले उमेदवारी दर्ता गराएकी छन ।
गठबन्धनबाट सिट बाँडफाँट गर्न बनेको कार्यदलले नै यसअगाडि जितेको क्षेत्र सोही पार्टीलाई दिन सहमतिमा पुगेका कारण यो क्षेत्र आफूले नै पाउनेमा माओवादी ढुक्क थियो ।
तर, मनोनयनको दिन बिहान मन्त्री श्रेष्ठ काठमाण्डौबाट टिकट लिएर आए । मनोनयन पनि दर्ता गराए । गठबन्धनका तर्फबाट माओवादीको भागमा परेको क्षेत्रमा कांग्रेसका उमेदवारले पनि टिकट पाएपछि उमेदवारी दर्ता गर्ने क्रममा दुवै उमेदवारले आ–आफ्नो टिकट देखाएका थिए ।
गण्डकीका मन्त्री श्रेष्ठ तत्कालीन कांग्रेस उपसभापति तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठका स्वकीय सचिव थिए । मेखलाल ०७४ मा समानुपातिक सांसद बन्नुमा पनि उनै गोपालमानको जोडबल थियो । त्यतिबेला स्याङजा २ बाट प्रतिनिधीसभा लडेका गोपालमान एमालेकी पद्या अर्यालसँग पराजित हुन पुगे ।
उनले समानुपातिकमा नाम राखिदिएका मेखलाल चाहिँ पछि गण्डकी सरकारकै मन्त्री बन्न पुगे ।
अहिले पनि मेखलाले टिकट पाउनुमा उनै गोपालमानको जोडबल रहेको त्यहाँका एक नेता बताउँछन ।
“भन्न त मेखलालज्यूले आफैले शेरबहादुर देउवासँग झगडा गरेर टिकट ल्याएँ भन्नुभएको छ, तर भित्री कुरा चाहिँ गोपालमानकै जोडबलमा उहाँले टिकट पाउनुभएको हो ।” उनले भने ।
उनका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासँग मेखलालको बारेमा गोपालमानको झगडा नै परेको थियो ।
“अरुले भनेकोलाई टिकट दिने मैले भनेकोलाई नदिने भन्दै गोपालमान देउवासँग झोक्किए, देउवाले त्यो क्षेत्रको उमेदवार को हो भनेर सोध्दा गोपालमानले कोही छैन भनेर भनेछन, त्यसपछि नै मेखलालले टिकट पाएका हुन ।” उनले भने, “कार्यदलले नै उक्त क्षेत्र माओवादीलाई दिने सहमति गरेको थियो, तर सबै क्षेत्रको जानकारी सभापतिलाई भएन होला, त्यही मेसोमा मेखलालले टिकट पाएका हुन ।”
गोपालमान श्रेष्ठ अहिले आफू प्रत्यक्ष चुनाव लडेका छैनन । उनी आदिवासी जनजातीतर्फ एक नम्बरमा समानुपातिकमा नाम राखेका छन ।
स्याङजाका दुई प्रतिनिधीसभा क्षेत्रमध्ये एकमा जिल्ला सभापति राजु थापा उमेदवार छन भने दुईमा केन्द्रिय उपसभापति धनराज गुरुङ उमेदवार बनेका छन ।
जिल्ला नबस्ने, अनि अर्को क्षेत्रमा गएर चुनाव लड्न खोज्दा स्याङजा कांग्रेसकै कार्यकर्ताले धनराजलाई टुरिस्ट कार्यकर्ता भन्दै चर्को विरोध गरेका थिए । धनराजको ठाउँमा जिल्ला सभापतिका प्रत्यासी तथा प्रदेशसभा सदस्यमा विजयी भएका भागवतप्रकाश मल्ल चुनाव लड्न चाहन्थे ।
तर, कांग्रेस र गठबन्धनको बलमा संसदीय बोर्डमा रहेका उपसभापति गुरुङ आफैले अर्को क्षेत्रमा गएर भएतापनि चुनाव लड्ने आकांक्षा राखे । क्षेत्र नं. २ को टिकट पनि आफैले पाए ।
उनले टिकट पाउँदै गर्दा कांग्रेसभित्रको आन्तरिक शक्तिसंघर्ष मिलाउन गुरुङले मल्ललाई हात लिनैपथ्र्यो । अघिल्लोपटक स्याङजा २ (ख) बाट निर्वाचित मल्ललाई धनराजले फेरि प्रदेशमा नै लड्न आग्रह गरेका थिए । तर, मल्लले मानेनन ।
“भागवतप्रकाश मल्लले आफू प्रदेशसभा नलड्ने तर, आफ्ना मान्छेलाई टिकट दिनुपर्ने अडान राख्नुभयो, शक्ति सन्तुलन मिलाउन र चुनाव जित्नको लागि मल्लको मान्छेलाई टिकट दिन धनराज सहमत भए ।” ती कांग्रेस नेताले भने ।
मल्लको जोडबलमा स्याङजा २ (ख) मा महेश भट्टारइले टिकट पाएका छन ।
“मैले भनेको मान्छेलाई टिकट दिनुहोस, म चुनाव जिताइदिन्छु भनेर मल्लले गुरुङलाई भनेपछि भट्टराइले टिकट पाएका हुन ।” उनले भने ।
क्षेत्र नं. २ मा मल्ललाई सेटल गरेपछि कांग्रेसभित्र धनराजको पक्षमा सकारात्मक माहोल बनेको उनले बताए ।
यता, राजु थापा चुनाव लड्ने क्षेत्र नं. २ (क) नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो । समाजवादीका तर्फबाट रामचन्द्र भट्टराइले उमेदवारी दर्ता गराएका छन भने कांग्रेसबाट भोजराज अर्यालले पनि उमेदवारी दिएका छन ।
अर्याल जिल्लामा सभापति थापा निकटका मानिन्छन । तर, उनलाई गोपालमान श्रेष्ठले रुचाउँदैनन । अघिल्लो प्रतिनिधीसभा निर्वाचनमा आफूलाई हराउन लागेको भनेर श्रेष्ठ अर्यालसँग रुष्ट छन । थापाले अर्याललाई च्यापेकै कारण गोपालमानले पनि अर्को क्षेत्रमा मेखलालको लागि देउवासँग झगडा गरेका हुन ।
“आफ्नो स्वार्थका लागि अहिले सबै मिले, हामी चाहिँ बाहिर प¥यौँ ।” ती नेताले भने ।





