बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘अब देश हामीले बनाउने हो’

‘अब देश हामीले बनाउने हो’


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०७९, बुधबार

आगामी निर्वाचनमा धेरै युवाहरुको उम्मेदवारी रहेको छ । पार्टीहरुलेपनि ५५ नकटेका उम्मेदवारलाई अघि सारिरहेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि युवा अनुहारलाई अघि सारेको छ । मंसिरमा हुने प्रदेश निर्वाचनका लागि कास्की क्षेत्र नं. २ ‘क’ मा सबैभन्दा कान्छो उम्मेदवारको रुपमा राप्रपाका विजयबहादुर भण्डारी रहेका छन् । उनको उमेरका युवाले राजनितिमा यति चाँडो स्थान पाउँदैनन् । अर्को कुरा यो उमेरका युवा राजनिति गर्नभन्दापनि विदेश पलायन हुनेगरेका छन् । हरेक युवा विदेशिने अवस्थामा समेत परिवर्तनको नारा लिएर अघि बढेका भण्डारीसँग गरिएको कुराकानी ।

 

नाम चलेका नेता भीमबहादुर कार्की, विश्वप्रकाश लामिछाने जस्ता उम्मेदवारसँग भिड्दै हुनुहुन्छ नी ? 

भीम अंकल, विश्व अंकल उहाँहरुले आफ्नो कार्यकालमा गर्नुपर्ने कामहरु गरिसक्नुभयो राम्रो छ, ठीक छ । उहाँहरुले गरेका राम्रा काममा मेरो कुनै दुईमत छैन् । तर उहाँहरुकै आर्शिवादले म यो पटक चुनाव लड्न खोजेको हुँ । उहाँहरुभन्दा उहाँका छोराछोरी, नातिनातिनी अझ एड्भान्स हुनुहुन्छ । अब समय धरै परिर्वतन भइसक्यो अब नयाँ विचार धाराले यो देशराई अघि बढाउन जरुरी छ भनेर म नयाँ अनुहार आएको हुँ ।

नयाँ विचारधारा के छन् ? 

मेरो नारा नै छ ‘उत्पादनशील नेपाली विकसित नेपाल’ । यहाँ बाटो बनाउने विजुली,बत्ति यो गर्ने त्यो गर्ने भन्दापनि उत्पादन तर्फ जोड दिनका लागि आएको छु । हाम्रो जतिपनि युवाशक्ति छन् ति सबै उत्पादनतर्फ लाग्नुप¥यो है भनेर यो चुनावमा आएको हुँ । मेरो उम्मेदवारी पनि त्यसैको लागि हो । अर्को कुरा निर्वाचनको समयमा युवालाई दायित्वबाट बञ्चित गराएर उहाँहरुको नैतिक अधिकारको शोषण गरेर हजार दुई हजार दिएर चुनावभरी हिडाइन्छ । उहाँको क्यापासिटी अनुसार जागिर खोज्न जानुहुन्छ । त्यतिबेला जागिर पाउँछ १५ हजारको । अनि त्यतिबेला के लाग्छ भने यो देशमा केही नरहेछ । यो देशलाई लात हान्छ, विदेश जान्छ । विदेश गएपछि कुनै बाकसमा फर्किन्छन् कुनै ऋणको भारी बोकेर फर्किन्छन् । बाटो बन्ने ठाउँमा बाटो बन्यो, बिजुली पुग्ने ठाउँमा विजुली पुग्यो भलै एका दुई ठाउँबाहेक । यी सबै समयको माग हो यी पूरा भयो । अब आफ्नै देशमा केही गरौं भनी नयाँ हावा चलाम भन्ने हो । नयाँ परिवर्तनका लागि हो, आफ्नो देशको लागि हो, देशप्रतिको मायाका लागि हो ।

२७ वर्षकै उमेरमा उम्मेदवारी किन ? 

किनभने यो उमेरका युवा सबै विदेश पलायन हुने प्रचलन चलेको छ त्यो बाट म निकै पिडित छु । मेरो बुबा आमाको माया स्नेहदेखि म २० वर्ष टाढा बस्नुप¥यो । यो सुन्दा सामान्य लाग्ला तर यो ठूलो पीडा हो । आजको दिनमा युथलाई आफुलाई दुःख परेको बेलामा र वृद्धहरुलाई थलापरेको बेलमा ढल्ने काख छैन् । बीचको उमेर बाबुआमा विदेश गएर कमाइराखेका छन् छोराछोरी यहाँ टुहुरा । बुढेसकाल लाग्छ बाआमा यहाँ टुहुरा छोराछोरी विदेशमा । यो पीडा हरेक घर, गल्लि, बस्तिका परिवारले बोकिरहेका छन् । त्यसैले मैले २७ वर्षको उमेरमा पनि जुन भोगाइ भोगे, अनुभव गरे, जुन भ्रामक स्थिति देशमा देख,ेँ त्यो चिर्नका लागि आएको हुँ ।

यो उमेरका युवाको मुख्य रोजाइनै विदेश हो तपाईँ के देखेर राजनीतिमा लाग्नुभयो ? 

पहिलो कुरा त रुन मन लागेर बसेको । म नेपाल आमालाई माया गर्छु राष्ट्रप्रति प्रेम छ । हिजोको दिनमा हामीलाई भिषा कति देशले दिन्थ्यो ? ठ्याक्क गयो, भिषा लगायो विदेश गयो । आजको दिनको हैसियत म गएर मेरो बुबाआमा भएको ठाउँमा बस्दा म मात्रै बस्छु । मेरो राष्ट्रियता बस्दैन् । आज म नाम चलेका महंगो पर्ने जति ठूलो गाडी चढेपनि विदेश जादाँ पासपोर्ट लिएर जब म लाइनमा बस्छु । नेपाली पासपोर्ट लिएर । त्यो समय महँगो गाडीको कुनै महत्व हुँदैन् त्यसले अर्थ राख्दैन् । त्यो पासपोर्ट भएपछि सिधा कामदारको लाइनमा गइन्छ । आज नेपालीको हैसियत हिजो गोरा जातिले काला जातिलाई श्रमका लागि किन्न जान्थे, त्यो भन्दा पनि तल गिरिसकेको छ । उनीहरुलाई त किन्न जान्थे अनि ल्याउँथे । आज हेर्नुन् त लाओ भनेर छर्दिन्छ हामी टिप्न जान्छौँ । हेर्नुस त कति रुन मन लाग्ने परिस्थिति छ । त्यो कारणले जान मन लागेन र मैले केही गर्नसक्छु कि भन्ने लाग्यो । कतै मबाट पो सुरुवात हुन सक्छ की भन्ने लागेर नै राजनीतिमा लागे ।

नेपाली राजनितिमा त यो उमेर निकै काँचो भन्छन् त ?

अब राजनितिले त बृद्धभएकालार्इँ युवा भनेर सम्बोधन गर्छन् । हामी काचोँ होइन प्रगतिशील उमेरका हौँ । धेरै पाकिसकेकाहरुलाई यो काचो लाग्छ । उहाँहरुको यो सोचाइलाई चिर्नकै लागि म आएको हुँ । हाम्रै उमेरले कायापलट हुनेगरी परिवर्तन गराउने । हामीसँग नयाँ जोश, जागर र भिजन छ । नेपाली राजनितिमा यो नयाँ युग हो । यो नयाँ युगमा केहि नयाँ हुन्छ र नयाँ मान्छे नयाँ राजनीतिमा होमिँदा  केही न केही नयाँ दिन सक्छ भन्ने हो ।

युवाहरुको राजनितिक दलप्रति निकै वितिष्णा छ । नयाँ अनुहार त्यो पनि स्वतन्त्र खोजिरहेको बेला पार्टीबाट जित्छु भन्ने लागेको छ ? 

जित्छु भन्ने विश्वास छ । किनभने मलाई मेरो भेगको, ठाउँको, मेरो क्षेत्रको हरेक समस्या थाहा छ । समस्याको समाधान लिएर पनि गएको छु हरेको घरघरमा । जसले समस्याको समाधान गर्छ त्यसले जित्ने हो अब गफको भरमा जित्ने होइन् । दोस्रो कुरा युवाहरुमा हजुरले भनेझैँ दलप्रति वितिष्णा भएका छन् । स्वतन्त्र पनि त समाजमा काम गरेको हुन प¥यो नि । नयाँ अनुहार भएपनि त काम गरेको हुन प¥यो भन्ने मेरो मान्यता हो । एक स्वतन्त्रले गर्ने र पार्टीको व्यक्तिले गर्नेकाममा फरक आउँछ नै । म त कोही स्वतन्त्र भिजन भएको छ भने आउनुस बरु संगै हातेमालो गरेर जाउँला ।

जित्ने आधारहरु केके छन् ?

जित्ने आधार भनेको हजुले भनेझैँ पार्टी प्रतिको वितिष्णा । अर्को कुरा म युवा हुँ सबै उमेर ढल्किएकाहरुलाई मात्र दिएर हुँदैन भन्ने सोच आइसकेको छ । अब  परिवर्तन खोजिरहेका छन् । अर्को भनेको जनता नागरिक भइसके  । यी दुई कुरानै मेरो सबैभन्दा ठूलो जित्ने आधार नै हो । अब नागरिकले पाँचवर्षका लागि होइन दीर्घकालीन विकास र नयाँ भिजन भएकालाई भोट हाल्न खोजिरहेका छन् । जुन कुरा मसँग छ ।

त्यति भन्दैमा मतदाताले विश्वास गर्छन् त ?

म मेरै क्षेत्रको कुरा गर्छु । पहिला आफ्नो घर बनाउने हो अनिमात्र राष्ट्र । त्यसैले म मेरो क्षेत्रको कुरा गर्छु । मेरो क्षेत्रको वडा नं.२१ र ३३ मा पाइने सुन्तला नेपालमै पाइने सुन्तलामध्ये सबैभन्दा मीठोमध्येको दोस्रोमा पर्छ अहिले त्यो सबै मरेर गइसकेको छ । त्यहाँ गएर बुझेको त मलको कमीले, अध्ययन अनुसन्धानको कमिले गर्दा रहेछ । अहिले मेरो टार्गेट भनेको यी दुई वडालाई एग्रो टुरिजमको हब बनाउने हो ।  मेरो पहिलो प्राथमिकता भनेकै एग्रो टुरिजम हो । यहाँ त टुरिजम भन्ने वित्तिकै लेकसाइडमात्र भयो । हरेक वडामा म पुगेको छु कुनैपनि वडामा व्यवस्थित खेल मैदान छैन् । अर्को कुरा भनेको भइराखेको स्वास्थ्य चौकीलाई व्यवस्थित गराउने र गुणस्तरीय फार्मेसी खुलाउने । अनि हरेक वडामा होम केयर सेन्टर खोल्ने । अर्को कुरा यो पनि भोलि भ्रष्टचारकै पछि लाग्ने हो की अहिले यतिमिठो गफ गर्ने अनि भोलि ठग्ने पो हो की भन्ने लाग्ला । यदि म पैसाको पछि भाग्ने हो भने मेरो सिंगो परिवार युकेमा छ । म आजभने आज, भोलि भने भोलि त्यहाँ पुगेर नागरिकता आवेदन दिनसक्छु । तर, म त्यो सबै त्यागेर पैसा कमाउन होइन् परिवर्तनका लागि नेपालमा बसेको हुँ । त्यो कारणले नै मलाई विश्वास गर्ने हो । वडा १५ मा रहेको श्री सिद्ध मावि आज अन्तर्राष्ट्रिय विमानस्थलका कारणले व्यवस्थापन हुन सकेको छैन् । त्यसको लागि ठाउँ व्यवस्थापन गर्नु जरुरी छ ।

तर, तपाईँको पार्टीलाई कम्जोर पार्टी भन्छन् नी ? 

हिजोको दिनमा पार्टी कमजोर होला तर आज राष्ट्रियता कमजोर छैन् । हाम्रो पार्टी राष्ट्रियता बोकेर हिडेको पार्टी हो । हिजो प्रलोभनमा पारेर पार्टी कमजोर बनाएको हो । आजका दिनमा हामी बलियो छौँ ।

कति मत ल्याउँछु भन्ने छ ? 

मैले २२ हजार ८३१ मत ल्याउछु भन्ने छ ।

अन्त्यमा आम मतदातालाई तपाईँको सन्देश ?

म मतादातालाई के भन्न चाहन्छु भने, अहिलेसम्म बारम्बार आफ्नो लागि मत हाल्नुभयो यो पालि आउने भावि सन्ततिका लागि मत हाल्नुहोस्, यो पालि आउने सन्ततिको सुख् सुविधाका  लागि मत हाल्नुहोस्, यो पालि परिवर्तनका लागि मत हाल्नुहोस्, आफ्नो छोरालाई आफ्नो सास जानेबेलामा समेत अगाडी देख्नका लागि मत हाल्नुहोस् । यो आफ्नो देशको लागि मत हाल्नुहोस् यति नै भन्न चाहन्छु ।

 

प्रस्तुति : विजय नेपाली

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->