बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

‘आक्रामक’ हृदयश, ‘वचनबाण’ झेल्दै विनोद !

‘आक्रामक’ हृदयश, ‘वचनबाण’ झेल्दै विनोद !

व्यापारीले आवश्यक पर्दा मन फुकाउँछन् । विनोद चौधरीको जिमिरेबारमा रहेको सचिवालयमा ‘बासमतीको भात पाक्छ । तर, राजनीतिमा मन फुकाएर मात्रै हुँदैन, जित्नुपर्छ !


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०७९, आइतबार

नवलपुर/ हामी यतिबेला उद्योगपति विनोद चौधरीको ‘उद्योग साम्राज्य’अर्थात् नवलपुरमा रहेको चौधरी ग्रामको सेरोफेरोमा छु । विनोद चौधरी व्यस्त छौं । उनलाई आउँदो मंसिर ४ को चुनाव लागेको छ । नवलपरासीको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको सांसदमा उम्मेदवारी दिएका विनोद बिहानैदेखि घरदैलो अभियानमा निस्केका छन् ।

दिउसो हुने भेलाहरुमा संवोधन गरेका छन्, कांग्रेसको चारतारे भण्डा बोकेका युवा,वृद्ध र कार्यकर्ताले घेरिएका छन् । आधा समय आकासमा बिताउने उनले‘ल्याण्डरोभर’ छाडेर पैदलयात्रा रोजेका छन् । तराइको दिउसोको घाम र धूलोको पर्वाह छैन । हेर्दा लाग्छ, उनले वर्षौंदेखि त्यहाँको बस्ती र मान्छेहरु चिनेका छन् । उद्योग÷व्यवसायको चिन्ता छैन । देहातका शुभेच्छुकहरुसँग जे पाकेको छ, त्यही खाएका छन् । हाँसेर बोल्ने,मान्छेलाई सुन्ने र यदाकदा गम्भीर देखिने उनी झण्डै ‘मस्तराम’ छन् ।

चौधरीसँग हाम्रो टिमको व्यक्तिगत चिनजान छैन । चौधरी आउँदो मंसिर ४ को चुनावमा संसदीय राजनीतिका माहिर खेलाडी हृदयश त्रिपाठीका प्रतिस्पर्धी बनेका छन् । नवलपुरका क्षेत्र नम्बर १ बाटसमेत सिफारिसमा परेका उनलाई अन्तिममा कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ पठायो । २०६४ सालमा संविधानसभामा भेटेका हृदयशसँग प्रतिस्पर्धा गर्न उनी चौधरी ग्रामभन्दा तल ओर्लिए ।

अघिल्लोपटक एमालेको सूर्य चिन्हबाटै चुनाव लडेका हृदयश यो पटक हृदयश यो पटक जनता प्रगतिशील पार्टीको ‘कोदालो बोकेको मान्छे’ चुनाव चिन्ह लिएर मैदानमा छन् । उनी आफूलाई पक्का मधेशी र धर्तीपूत्र बताउँछन् । ५ पटक चुनाव जितेका हृदयशलाई हराउन सजिलो छैन । चतुर विनोदले पक्कै बुझेका छन् । चुनाव खर्चिलो हुँदै गएको छ । व्यापारीले आवश्यक पर्दा मन फुकाउँछन् । उनको सचिवालय र चुनावी सभा हेर्दा त्यस्तै लाग्छ ।

नवलपरासी क्षेत्र नम्बर १ मा पर्ने जिमिरेबारमा रहेको उनको सचिवालयमा ‘बासमतीको भात पाक्छ । तर, राजनीतिमा मन फुकाएर मात्रै हुँदैन, जित्नुपर्छ !
२०७८ सालको जनगणना अनुसार २ लाख ३७ हजार १२५ जनसंख्या रहेको नवलपुरको क्षेत्र नम्बर १ मा बर्दघाट नगरपालिका,सरावल गाउँपालिकाका २ देखि ७ नम्बर वडा,प्रतापपुर र सुस्ता गाउँपालिकाको पूरै भाग पर्छ । बर्दघाट नगरपालिका ःजनसंख्या ७५ हजार १७, सरावलमा ४२ हजार ३१७, प्रतापपुरमा ५० हजार ३३६ र सुस्ता गाउँपालिका ३९ हजार ७९८ जनसंख्या रहेको छ ।

विनोदको अगाडि अर्बपति व्यापारी, लेखक,गायक र पछिल्लो समय उत्प्रेरक भाषणवाजको उपमा झुण्डिएका छन् । उनी चर्चित छन् । तर, नवलपरासीको पूर्वी क्षेत्रमा घुलमिल भएका विनोदलाई पक्का पश्चिमको हुनुपरेको छ । जातीय रुपले मधेशी र पहाडियाहरुको छ्यासमिस र छुट्टै बस्ती भएको यो क्षेत्रमा विनोदले जित्नको लागि ‘पापड’बेल्नुपर्ने देखिएको छ । किनकि, त्यहाँ मधेशी मुलका हृदयश त्रिपाठी उम्मेदवार छन् । भोजपुरी र अवधीमा मत माग्दै हिँडेका र विनोदलाई ‘मंसिर ३ गतेसम्मको पाहुना’को उपमा दिँदा पनि उनी टसमस भएका छैनन् । यसका दुई कारण छन्–
पहिलो, नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरीरीले मधेसी खुलातर्फ उम्मेदवारी थिए । काठमाडौंमा बस्ने ‘डलर अर्बपति’चौधरी मधेशीतर्फबाट उम्मेदवार बनिरहँदा साँच्चिकै मधेशीको अधिकार खोसिने तर्क गरियो । उनी आलोचित पनि बने । संयोग उनलाई मधेश झारियो । तर, मतदाताकहाँ पुग्दा विनोद साँच्चिकै ‘देहाती’ र मधेशको समस्यासँग वर्षौंदेखि जानकार देखिएका छन् ।

‘यहाँका किसानले उखुको भुक्तानी पाएका छैनन्,केराको दाम छैन’,उनले हामीसँगको भेटमा भने,‘ पूर्वाधार निर्माण एकातिर छ, हामी किसान र यहाँका जनताका साना समस्या सबैभन्दा पहिला हल गर्न चाहन्छौँ ।’भारतीय नाकासँग जोडिएको फाइदा नवलपरासीले लिन सकेको छैन । उल्टै गुगल म्यापमा नेपालीको जग्गा भारतको नक्साभित्र देखिँदा बैंकबाट ऋण लिन नपाउने अवस्था सिर्जना भएको छ । रोजगारी नहुँदाको पीडा भनिसाध्य छैन । विनोदले हामीसँग भने,‘पहिला शैक्षिकस्तर सुधार्नुपर्ने छ, यसको लागि व्यावसायिक शिक्षा र तालिम दिने संस्थाहरुको स्थापना गर्ने मेरो लक्ष्य छ । शैक्षिक विकासले सामाजिक उत्थान हुन्छ । अब यस क्षेत्रमा बन्ने पूर्वाधारहरु द्धिदेशीय व्यापार प्रवद्र्धन गर्ने खालका हुनुपर्छ ।’ उनले नवलपरासीमा उद्योगग्राम,जनतालाई रोजगारी र त्यहाँबाट उत्पादित बस्तुहरुको भारत निर्यातको सपना पनि सुनाए ।

दोस्रो : बाजेबाटै नेवारी सिकेका विनोदले ‘भाषिक विभेद’ पनि भोगेकै छन् । तर, लेखकको समेत परिचय बनाएका विनोद चौधरीले वर्ण र जातको आधारमा नेपालमा हुने ‘भेदभाव’ बुझेका छन् । मुख्य कुरा, उनले नवलपरासीमा सपना देखाएका छन् । पूर्वी नवलपरासीमाजस्तै पश्चिममा उद्योग खोल्ने उद्घोष गरेका छन् । रोजगारीदेखि विकाससम्मका एजेण्डा उठाएका छन् । राजनीतिमा व्यवस्थापकीय नेतृत्वबाट मात्रै समृद्धि प्राप्त हुन्छ भन्ने सन्देश प्रवाह गरेका छन् ।

विनोदकै भाषामा भन्ने हो भने, विकास र समृद्धिको दृष्टिले छिमेकी जिल्लाभन्दा ३० वर्ष पछि परेको नवलपरासीलाई त्यो नियतिबाट मुक्त गर्ने अठोटसहित उनी चुनावमा होमिएका हुन् । ‘नवलपरासीलाई अब विकास,समृद्धि र सामाजिक परिवर्तनको बाटोमा हिँड्नुपरेको छ’उनले जनतासामु भन्ने गरेका छन्,‘पटक–पटक व्यवस्था फेरिए पनि अवस्था नफेरिने बिडम्बनाबाट मुक्त गर्ने मेरो प्रतिज्ञा हो ।’ विनोदले प्रतिस्पर्धीलाई लाञ्छना लगाएनन् । ३० वर्षदेखि विकास नहुनुको कारण बुझ्न मतदातासँग आग्रह गरे ।

विनोदले आखिर जनतासँग के भन्छन् र जनताले उनीबाट के चाहन्छन् । हामीले एक बिहान बर्दघाट नगरपालिकाको वडा नम्बर १० र १६ को घरदैलोमा उनलाई पच्छ्यायौं । कार्यकर्ताले घेरिएका विनोद निफिक्री देखिन्थे । हामीसँगको परिचयपछि उनले भने,‘मेरो कुरा त तपाईंहरुले सुनाउँदै आउनुभएको छ । तपाईंहरु यहाँका जनताको कुरा सुन्नुहोस् न । उहाँहरुको चाहना के छ ? हामीलाई सुनाउनुहोस् न ।’ साँच्चिकै विनोदसँग पीडा सुनाउनेहरु र आशा गर्नेहरु बढी थिए । घरदैलोको क्रममा विनोदसँग एक वृद्धाले भनिन्,‘ हाम्रा नातीहरु यहाँ नअडिने भए,यतै केही काम गर्ने चाँजो मिले,उनीहरु किन विदेश जान्थे र ?’

उनको आग्रहपूर्ण प्रश्नपछि विनोदले भने,‘म त्यही काममा लाग्छु भनेर तपाईंको आशीर्वाद लिन आएको हो ।’ त्यसपछि उनले हामीतिर फर्केर भने,‘हामीलाई अहिले चाहिएको पहिलो कुरा रोजगारी नै हो, त्यसको लागि शिक्षा र रोजगारीका कार्यक्रम सँगै लैजानुपर्छ ।’ वडा नम्बर १६ को सूर्यनगर टोलमा पगेर उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या सल्टाउने बाचा गरे । संक्षिप्त मन्तव्यपछि हामीसँग पनि संक्षिप्त कुराकानी गर्दै उनले भने,‘बाढी र डुवान अनि अव्यवस्थित बसोबासीको समस्यामा राजनीति गर्ने हैन, यसलाई छिटो सुल्झाउने हो । म नयाँ पेशा खोज्न हैन ,जनताको जीवनस्तर बदल्ने लक्ष्यसहित राजनीतिमा आएको हो । अभिमानको भारी बोक्ने लालशाले हैन यहाँका नागरिकको मुहारमा खुसी ल्याउने चाहनाले म राजनीतिमा होमिएको हुँ ।’

गल्फ खेल्न नपाएको रिस फेर्न नवलपुरमा गल्र्फ कोर्स बनाएका विनोदले बोलेको कत्तिको पूरा गर्छन् र विपक्षीको आरोपलाई मिथ्या सावित गर्न के गर्छन्,थाहा छैन तर सोही ठाउँमा कोणसभा गर्दै गरेका उनका प्रतिस्पर्धी हृदयश त्रिपाठीले हामीसँग भने,‘खासमा यो पटक म चुनाव नलड्ने मुडमा थिएँ तर यहाँ उनी (विनोद) आए, छाडौं भने पैसा नै लिएर छाड्यो कि भन्ने हुने भो,त्यस्तो कलंकको भारी बोक्न नपरोस् भनेर उम्मेदवारी दिएँ । राजनीतिक मान्छेसँग चुनाव लड्न पाएको भए राम्रो हुन्थ्यो, यो चुनाव मलाई मज्जा लागेको छैन ।’

के विनोद राजनीतिज्ञ नै हैनन् त ? हामी प्रतापपुरका अर्जुन पोखरेलसँग गफियौँ । संयोगले उनी हृदयश त्रिपाठीका सहपाठी परेछन् । हृदयश पहिलो पटक सांसद हुँदासम्म उनी एमालेको राजनीति गर्थे रे । राजनीति छाडेर गैरसरकारी संस्था चलाएका र अहिले व्यापारमा रमाएका उनले भने,‘विनोद चौधरी व्यवसायी नै हुन् अनि हृदयशको राजनीति पेशा हो । अहिले नवलपरासीले राजनीतिलाई पेशा बनाउने व्यक्ति नभएर रोजगारी,उद्यमशीलता र विकास खोजेको छ ।’

२०४८ सालदेखि ५ जितेका र ८ पटक मन्त्री भएका हृदयशको टाउकोमा अपजसको भारी छ । उनलाई एमालेको साथ त छ तर सूर्य चिन्ह छैन । सूर्यमै मत हाल्नेहरुले पनि यो पटक परिवर्तन खोजेको देखिएको छ । नजिककैको चियापसलमा भेटिएका एक बृद्धसँग हामीले सोध्यौँ,‘भोट कसलाई हाल्नुहुन्छ ?’उनले भने,‘यहाँबाट जानेहरुले केही गरेनन्,चौधरीजी आए केही होला कि !’

त्यसो त, विनोद राजनीति नबुझेका र फाइदा नलिएका व्यक्ति चाहिँ हैनन् । संविधानसभा सदस्य र सांसदको रुपमा ५ वर्ष बिताएर विनोद प्रत्यक्ष राजनीतिमा होमिएका हुन् । राणा र राजाको पालामा दरबारसँग नजिक रहेको विनोदको परिवार राजनीतिज्ञहरुसँग सधैं नजिक रहँदै आएको थियो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा सुरक्षा गार्डबिना नै आफ्नो गाडीमा चढाएको, गिरिजाप्रसाद कोइराला,मदन भण्डारीसँगको सम्बन्धबारे बेलाबेला बताउने गरेकै छन् । विनोदले आत्मकथामा लेखेका छन्,‘किसुनजी बारम्बार भन्नुहुन्थो, यु ह्याभ टु बि माइ इकोनोमिक एडभाइजर,विनोद ।’

गिरिजाप्रसाद कोइरालासँगको प्रसंगमा त उनले लेको छन्,‘उहाँ (गिरिजाप्रसाद कोइराला) आफ्ना अर्थमन्त्री,राष्ट्रिय योजना आयोगका पदाधिकारीभन्दा मलाई बढी विश्वास गर्नुहुन्थ्यो ।’एमालेसँगको त कुरै नगरौँ । विनोदले मदन भण्डारीसँगको भेट, एमालेको आर्थिक नीति बनाउन खेलेको भूमिका र आफ्नो सक्रिय राजनीतिको महत्वकांक्षा पूरा गराउने अभियानमा एमाले योगदान लुकाएका छैनन् । खुला अर्थतन्त्रको पक्षपोषण गर्दै उनले एमाले छाडे, त्यो फरक कुरा हो !

सबैभन्दा बढी जनघनत्व भएको नवलपुरको कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान ४६.६ प्रतिशत र उत्पादनमुलक उद्योगको ५.६ प्रतिशतमात्रै योगदान छ । यहाँका बहुसंख्यक जनता कृषिमै आश्रित छन् । उखु किसानका समस्या झन चर्का छन् । मिटर ब्याजको पाँसोमा पर्नेहरु पनि यही जिल्लाका बढी देखिएका छन् । ती यावत समस्या समाधान नगर्दासम्म आर्थिक उन्नति सम्भव छैन । मजदुरको आर्थिक स्थितिमा सुधार नभएको लुम्बिनीको स्थितिपत्रले उल्लेख गरेको छ । मानव विकास प्रतिवेदन २०१४ अनुसार प्रदेशको औसत प्रतिव्यक्ति आय १ हजार अमेरिकी डलरभन्दा कम रहेको छ । यो राष्ट्रिय औसत १ हजार १६० अमेरिकी डलर भन्दा कम हो ।

आय बढाउन उत्पादन,रोजगारी र मानव संशाधन विकासमा जोड दिनुपर्छ । नवलपरासीका ११ प्रतिशत सडकमात्र पक्की रहेका छन् । यी यावत् काम गर्न बजेट चाहिन्छ र त्यसको जोहो गर्नु सजिलो छैन । विनोदले बुझेकै छन् । चुनावको मुखमा केरासँग जोडिएको उद्योग खोल्ने निर्णयबाट ‘विवादित’ बनेका उनलाई हृदयशले प्रश्न सोधेका छन्,‘ यहाँको विकास कसले गरिदियो ? उहाँले जहाँ उद्योग खोल्छु भन्नुभएको छ,त्यहाँ जाने बाटो कसले बनाइदियो, त्यहाँ बिजुली कसले पु¥यायो ?’

अग्रज पत्रकार किशोर नेपालको शब्द सापट लिने हो भने विनोद असीमित महत्वकांक्षा र आँट भएका व्यक्ति हुन् । त्यही महत्वकांक्षा पूरा गर्न उनी राजनीतिमा होमिएकोमा द्धिविधा छैन । जुद्धबहादुर श्रेष्ठको खिचापोखरीमा रहेको मीरा होममा खोलिएको अरूण इम्पोरियम र सारी संसारबाट सुरु भएको विनोद अहिले प्रत्यक्ष निर्वाचित हुने ध्याउन्नमा छन् ।
प्रतिस्पर्धी हृदयश कम्ताका छैनन् । उनले विनोदमाथि आरोपको बर्षा गराएका छन् । हृदयशसँगै हिँडेका एक एमाले कार्यकर्तासँग हामीले जिज्ञासा राख्यौँ,‘भाषणमा एजेण्डाभन्दा आक्षेप बढी देखिन्छ नि !’ उनले भने,‘के गर्नु,माहौल अर्कै होलाजस्तो छ ।’

‘यसलाई हतास मनस्थिति भन्दा हुन्छ ?’
हाम्रो प्रश्नमा उनले भने,‘हतास नै त नभनौँ,प्रेसर चाहिँ चर्को छ ।’

हो, प्रतिस्पर्धा सजिलो छैन र वचनबाणको प्रहार पनि चर्कै छ । हृदयशलाई सुन्दा लाग्छ, यस्तो वैमनश्यता सायदै कसैबीच हुन्छ !
तर, विनोदले आत्मकथामा भनेकै छन्,‘व्यापार र राजनीतिमा एउटै कुरा समान हुन्छ–दुवैमा रिसराग भन्ने कसैसँग लिनु हुँदैन । आज जोसँग घाँटी रेट्ने प्रतिस्पर्धा छ,भोलि उसैसँग सहयात्रा गर्नुपर्ने हुनसक्छ । मुल कुरा हो अवसरको प्रतीक्षा ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->