नवलपुर/ प्रत्यक्षतर्फ चार जना चुनिने गण्डकी प्रदेश सभातर्फ नवलपुर जिल्लामा ४१ जना उम्मेदवार छन् । क्षेत्र नं. १ को ‘क’ मा ९ जना, ‘ख’ मा ११ जना र क्षेत्र नं. २ को ‘क’ मा ११ जना, ‘ख’ मा १० जना उम्मेदवार प्रदेश सांसद बन्ने यात्रामा चुनावी प्रचार–प्रसारमा होमिएका छन् ।
यहाँ उम्मेदवार बनेकामध्ये नेकपा एमालेबाट अगिल्लो चुनावमा उम्मेदवार बनेर एक कार्यकाल प्रदेश सांसद रहेका रोशनबहादुर गाहालाई फेरि पनि अगाडी सारिएको छ । अरु सबै नयाँ अनुहारछन् । त्यसैले नवलपुरवाट प्रदेश संसदमा छिर्ने अधिकांश सांसद नयाँ हुने निश्चित छ ।
प्रदेशतर्फको मुख्य प्रतिस्पर्धा नेकपा एमाले र गठवन्धबीच हुने पूर्वानुमान छ । यहाँ गठवन्धनका तर्फवाट एकजना कांग्रेस, दुईजना माओवादी केन्द्र र एकजना एकीकृत समाजवादीका साझा उम्मेदवार छन् ।
यसअघि १ को ‘क’ बाट नेपाली कांग्रेसका तर्फबाट जित निकाल्दै प्रदेश छिरेर मुख्यमन्त्री समेत भएका कृष्णचन्द्र नेपाली पोखरेलको क्षेत्रमा कांग्रेसका महेन्द्रध्वज जिसी उम्मेदवार छन् । जिसीका प्रतिस्पर्धीका रूपमा एमालेको रवीन्द्र अधिकारी छन् । यहाँ राप्रपाका सन्तोष थापासहित ९ जना प्रतिस्पर्धामा छन् ।
जिसी २०५१ मा यही क्षेत्रबाट सांसद र पहिलो संविधानसभा निर्वाचनमा अर्को क्षेत्रबाट निर्वाचित भएका थिए । उनी अहिले पार्टी जिल्ला सभापति छन् । पार्टीका पुराना, स्थानीय नेताका रूपमा चिनिएका जिसी परिचित नाम, कांग्रेसको गढ़ मानिने गैंडाकोटको पुरै भूगोल, पहाडी क्षेत्रका जनताबीच पुरानै घुलमिलका कारण बुलिङटारका वडाबाटसमेत राम्रो मत प्राप्त हुने विश्वास र देवचुली आफ्नै गृहपालिका भएकाले पनि चुनाव जित्नेमा विश्वस्त देखिन्छन् । यता, एमालेका रविन्द्र अधिकारीलाइ भने संगठनकै बलमा र गठबन्धनसँग असन्तुष्टको मत चोरेरै जिताउने एमालेको रणनीति छ । एमाले केन्द्रीय सदस्य रहेका
अधिकारीको मतदातासँग भन्दा पनि एमाले कार्यकर्ताबीचमै राम्रो चिनजान र परिचय छैन ।
विद्यार्थी राजनीति हुँदै युवा संगठनका केन्द्रीय नेतृत्वबाट पार्टीको नेतृत्वमा पुगेका युवा उम्मेदवार अधिकारीले चुनाव जित्ने आधारका रूपमा बुलिङटारमा सुधारिएको संगठनको अवस्था गठवन्धनका असन्तुष्ट मत र गैंडाकोटका स्थानीय भएकाले पनि भूगोल प्रभावले एमालेको पक्षमा नतिजा निस्कन सहज हुने भनाइ छ । स्मरणीय के छ भन,े २०७४ को निर्वाचनमा कांग्रेस एक्लै र एमाले–माकेका साझा उम्मेदवारलाई मुख्यमन्त्री नेपालीले हराएका थिए ।
एक कै ‘ख’ मा निवर्तमान सांसद रोशन गाहा र माओवादी केन्द्रका लोकप्रसाद भुर्तेलबीच टक्कर हुने अवस्था छ । त्यसो त यहाँ राप्रपाका रामनाथ उप्रेतीसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।एमालेका गाहा २०४३ सालमा उप–प्रधान, ०४९ र ५४ मा गाविस अध्यक्ष, एक कार्यकाल समानुपातिकतर्फबाट संविधानसभा सदस्य र प्रत्यक्षतर्फबाट प्रदेश सांसद बनेका छन् । पार्टीले अहिले पनि बलियो उम्मेदवारका रूपमा उनैलाई अघि सारेको हो । पार्टीको जिल्ला अध्यक्ष समेत भइसकेका गाहा हाल प्रदेश कमिटिमा छन्।
स्थानीय मतदाताबीच राम्रो परिचय स्थापित गरेका गाहाले जातिय मत प्रभाव पार्न सक्ने भएकाले जित निकाल्ने एमालेको दावी छ । नतिजालाई प्रभाव पार्न सक्ने मगर समुदायको मतलाई यस क्षेत्रको निर्णायक मतको रूपमा पनि हेर्ने गरिन्छ ।
यता, माओवादी केन्द्रको भागमा परेको यस क्षेत्रका उम्मेदवार लोकप्रसाद भुर्तेल सांगठनिक र वैचारिक व्यक्ति हुन् । द्वन्द्वकालमा कुनै पनि हिंसात्मक क्रियाकलापमा संलग्न नरहेका भुर्तेललाई स्थानीयले शिष्ट, अनुशासित, भद्र र सामाजिक कार्यकर्ताका रुपमा बुझेका छन् । विगतको राजनैतिक दुश्मनी बिर्सेर गठबन्धनको मत साझा उम्मेदवारलाई पर्ने अवस्था रहे गाहालाई प्रदेशको दोस्रो यात्रामा रोकावट आउनसक्ने स्थिति पनि देखिएको छ । धौलागिरीको पर्वतबाट नवलपुर आएका भुर्तेललाई यहाँ सांगठनिक रुपमा रहेको पर्वत–धौलागिरी समाजले सहानुभूति राख्ने सम्भावना देखिँदा नतिजा कसको पोल्टामा पुग्छ अनुमान लगाउन गाह्रो छ ।
क्षेत्र नं. २ को क मा एमालेका पद्मा जिसी र माओवादी केन्द्रका सोम सिर्पालीबीच मुख्य प्रतिस्पर्धा छ । यो क्षेत्रमा राप्रपाका नूनबहादुर आलेसहित ११ जना उम्मेदवार कायम छन् । यो क्षेत्रमा एमालेले सजिलै जित निकाल्न सक्ने अनुमान राजनैतिक बृत्तमा चलेको छ । गठबन्धनको टिकट वितरण प्रक्रियाको सुरुदेखि विवादित बनेका कारण यो क्षेत्रमा एमालेका उम्मेदवारलाई सजिलो भएको अड्कल गरिएको हो । यो क्षेत्र गत निर्वाचनमा कांग्रेसका बिष्णु प्रसाद लामिछानेले जितेको क्षेत्र पनि हो ।
गण्डकी प्रदेशका ११ जिल्लाका ३६ निर्वाचन क्षेत्रमध्ये एकिकृत समाजवादीको भागमा परेको एक मात्रै क्षेत्र नवलपुरको क्षेत्र नं. २ को ख को चुनावी रस्साकस्सी पनि कम छैन ।
यहाँ पनि एमाले र एकिकृत समाजवादीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ को निर्वाचनमा एमालेका जनकलाल श्रेष्ठले जित निकालेको यो क्षेत्रमा एमालेका लक्ष्मण पाण्डे र एकीकृत समाजवादीका डा. गोपाल खनाल उम्मेदवार छन् । यहाँ राप्रपाका भोजबहादुर थापासहित १० जना प्रतिस्पर्धामा छन् ।
एमालेका पाण्डे २०४९ र ०५४ मा तत्कालिन बेणीमणिपुर गाविसको अध्यक्ष भइसकेका हुन् । उनलाई सो क्षेत्रमा क्षमताबान् ब्यक्तिका रुपमा चिन्ने गरिन्छ । साविक गाविसमा उनको लोकप्रियता भए पनि पाण्डेका प्रतिस्पर्धीका रुपमा रहेका डा. खनाल जिल्लामै परिचित नाम भएका कारण एमालेलाई गाह्रो हुने आँकडा छ ।
डा. खनाल पार्टीको केन्द्रीय सदस्य एवं नवलपुर ईन्चार्ज हुन् । उनी सेवानिबृत्त स्वास्थ्यकर्मी हुन् । विभिन्न जिल्ला अस्पताल, वीर अस्पताल र सिटीईभिटीको प्रमुखसमेत रहेका उनी प्रदेश सरकार बनेपछि नामाकरण भएको मध्यविन्दु जिल्ला अस्पताल, नवलपुरको संस्थापक अध्यक्ष हुन् ।
एमालेले यस क्षेत्रमा समाजवादीको जनाधार कम भएकाले पाण्डेलाई सहज हुने दावी गरेको छ । तर, डा. खनालको ब्यक्तिगत प्रभाव र गठबन्धनका मत यो क्षेत्रमा विभाजन नहुने भएकाले जित पक्षमा पर्ने गठबन्धन स्रोतको भनाइ छ । गत निर्वाचनमा नवलपुरबाट गण्डकी प्रदेश सांसदमा नेपाली कांग्रेसबाट २ र एमालेबाट २ जनाले जितेका थिए । त्यतिबेला एमाले–माके गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका दुवै जनाले पराजित हुनुपरेको थियो ।





