पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यतिबेला औद्योगिक व्यापार मेला चलिरहेको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुँदै आइरहेको मेलामा यो वर्ष केही नयाँपन देखिएको छ । पछिल्लो समय मेलाको आकर्षण घट्दै जाँदा पोउवा संघले मनोरञ्जनका साथै रोजगार सिर्जनाको लागि सीपमूलक तालिमसमेत प्रदान गरिरहेको छ । हामीले मेलासँग सम्बन्धित रहेर आयोजक संस्था पोउवा संघका अध्यक्ष तथा समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को मूल आयोजक संयोजक पवनकुमार प्रजापतिसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ– कुराकानीको सम्पादित अंश । (सं.)
निर्वाचित भएर आएको धेरै भएको छैन। अहिले मेला गर्दै हुनुहुन्छ हतार भएन ?
यो हाम्रो क्यालेन्डर अनुसार हुने हो । एक वर्षअघि नै मिति तोकिसकेको हो । अघिल्ला २ वर्ष कोभिड १९ महामारीका कारण मेला गर्न सकेका थिएनौँ । त्यसैले यो वर्ष उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउन तथा उद्यमशीलता विकासको लागि जसरी पनि मेला गर्नुपर्छ भन्ने निर्णय भएको थियो । चुनाव हुने बित्तिकै हामीलाई के दबाब प¥यो भने, हामीले मेला गरेनाँै भने हाम्रो मेलापश्चात जसै अरुको मेला थियो । त्यसपछि गर्दा केही खल्लो हुन्छ कि भनेर नै हामीले मेला गरेका हौं । दुई महिना नै भए पनि हामी तदारुकताका साथ टिम मिलेरनै अघि बढाएका छौं । यति गरिरहँदा केही कमि कमजोरीहरु भएनै तर हामीले मेलालाई निरन्तरता दिएका हौँ ।
भनेको घाटामै गए पनि मेलालाई निरन्तरता दिन तयार भन्नुभएको हो ?
यसमा नाफा र घाटाको कुरा नै छैन् । यो नित्तान्त पोखरा उद्योग वाणिज्य संघले गरेको उद्योगी व्यवसायीको प्रवद्र्धनका लागि खरिदकर्ता र बिक्रीकर्तालाई एकै थलोमा उभ्याएर आ–आफ्नो व्यवसायको प्रवद्र्धन गर्ने कार्यक्रम हो ।
मेलाको पाँचौ दिन जारी छ दर्शकको सहभागिता कस्तो छ ?
दर्शकको उपस्थिति राम्रो छ । आजसम्म करिब २५ हजार दर्शकले मेला अवलोकन गरिसकेका छन् । यो हाम्रो लागि एकदमै ठूलो कुरा हो । एकदमै छोटो समयमा गरेको मेला हो त्यसैले यतिसम्म हुनु भनेको निकै राम्रो हो । हामीलाई पोखरेलीहरुले साथ दिइरहेका छन् । अन्तिमसम्म पक्कै पनि हामी सफल हुन्छौँ भन्ने लाग्छ, मलाई ।
पछिल्ला वर्षमा औद्योगिक व्यापार मेलाको रौनकता घटेको देखिन्छ नि ?
कोरोना पश्चात हाम्रा व्यवसायी आहत भएको अवस्था हो । यो बीचमा व्यवसायीहरु चलायमान भएको अवस्था छैन् । किनभने, कोरोना महामारी पश्चात यो बैंकको ब्याजवृद्धिका कारणले भएको हो । यो समयमा उद्योगी व्यवसायीहरु सहज रुपमा लाग्न सकिरहेका छैनन् र खरिदकर्ताहरुले पनि खरिद गर्न सकिरहेको अवस्था छैन् । त्यो कारणले यो मेलाको रौनकता अलि कम भएको हो कि भन्ने लागेको हो । तर, त्यस्तो छैन् । अब सधैँ सुस्ताएर बसेर हुँदैन । बजारलाई चलायमान बनाउनुपर्छ भन्ने ठानेर नै मेला संचालन गरेको हो । र अहिलेको यो मेला भनेको मेला वा मनोरञ्जन मात्रै होइन् । यो स्वरोजगारका लागि आत्मनिर्भर बन्ने थलो पनि हो । अहिले नै हेर्न सक्नुहुन्छ– २० जनाले मेलामै निःशुल्क तालिम लिइरहनु भएको छ । यहाँबाट तालिम सिकेर गएपछि उहाँहरु आफै आत्मनिर्भर बन्न सक्नुहुन्छ । यत्रो हजारौँको संख्यामा आउनेमध्ये कम्तिमा पनि ५० जनाले नै प्रशिक्षण लिएर आत्मनिर्भर बन्न सके राम्रो नै हुन्छ भनेर भनेर प्रशिक्षण पनि दिइरहेका छौं ।
मेलामा नयाँ पनि छ भन्नुभएको ?
हो । यो अहिलेसम्मकै पहिलो पटक हो । मेला भित्र नै लाइभ तालिम दिनु भनेको सामान्य कुरा नै होइन् । कति वर्षांैदेखि मेला महोत्सवहरु चल्दै आएका छन् तर, यसरी प्रशिक्षण नै दिने कहीँ पनि भएन हामीले त्यो सुरुवात गरेका छौँ । यो विशेष हो । अर्को भनेको हाम्रो त्यहाँ स्टल पनि छ । जहाँ रोजगारी खोज्नेहरुका लागि उसको योग्यता अनुसारको रोजगार तथा प्रशिक्षणका लागि नाम दर्ता समेत गराएका छौं । त्यहाँ नाम दिनेहरु पनि आइराख्नुभएको छ । जागिर लिने र दिने दुवैजना त्यहाँ हुनुहुन्छ । त्यहि स्टलबाट करिब २० जनाले जागिर पाइसके । जागिर खोज्ने र यहि जागिर दिने साय इतिहासमा यो पहिलो होला जस्तो लाग्छ मलाई ।
यहाँ मनोरञ्जन मात्रै होइन सीप र जागिर पनि पाइन्छ ?
हो यहाँ मेला पनि हेर्न पाइयो । यहाँ भएका उत्पादन के कस्ता छन् त्यो पनि बुझ्न पाइयो । त्यसपछि तपाईं भोलि सीप विकासका लागि आफ्नो स्वइच्छा अनुसार तालिम लिन पनि सक्नुहुन्छ । होइन म सीप सिक्दिन जागिर खान्छु भन्नुहुन्छ भनेपनि त्यहाँ विभिन्न क्षेत्रमा रोजगारी खुलेका छन् तीमध्ये कुनैमा पनि जागिर खान पाइयो । तपाईँ पढिरहनु भएको छ शैक्षिक योग्यता हुँदाहुँदैपनि रोजगार पाउनुभएको छैन भने त्यहाँ आउनुस पाउन सक्नुहुन्छ । हामीले गरेको मेला खालि रमाइलोका लागि मात्रै होइन् । मेलाभित्र आइसकेपछि रमाइलो भन्ने हुन्छ तर हामीले रमाइलोका साथै भविष्यका बारेमा समेत सोचेर अघि बढेका छौं । पोखरा उद्योग वाणिज्य संघले व्यवसायीका लागि मात्रै होइन की उद्योगी बन्न चाहेनहरु उद्योगी बनोस्, व्यवसायी बनोस्, स्वरोजगार बनोस्, आफ्नो खुट्टामा आफै उभिन सक्ने किसिमको वातावरण बनोस् भनेर हामीले काम गरेका छौं ।
स्वरोजगार तथा सीप विकासको तालिमका लागि कसरी सम्पर्क गर्न सक्छन्, कस्ता कस्ता तालिम पाउँछन ?
हामीले सिटिइभिटीसँग समन्वय गरेर यो योजना अघि बढाएका हौं । यहाँ आएर तपाईंले नाम लेखाउन सक्नुहुन्छ । तपाईंले कुन खालको तालिम लिने हो त्यो अनुसारको फारम भर्न सक्नुहुन्छ । यहाँ सय डेढसय किसिमका तालिमहरु छन् त्यसमा जुन लिए पनि हुन्छ । उहाँहरुले आफ्नो सम्पर्क छाडेर जानुहुन्छ र एकपैसा पनि नतिरिकन विना लगानीको तालिम पाउनुहुन्छ । यसका लागि हामीले क्युआर कोड राखेका छौं । क्युआर कोडमा हेर्नेवित्तिकै कुन स्टलमा के छ र कुन स्टल कहाँ छ भन्ने सबै थाहा हुन्छ । त्यो सम्भव नभए मेलामा छिर्ने वित्तिकै सचिवालय छ त्यहाँ गएर जानकारी लिन पनि सक्नुहुन्छ ।
शैक्षिक योग्यता पनि त चाहिने होला नि ?
त्यसको सन्दर्भमा त जसको जस्तो योग्यता छ सोही अनुरुपको जागिर वा प्रशिक्षण लिन सक्नुहुन्छ । प्रशिक्षणका लागि त्यतिधेरै शैक्षिक योग्यतापनि नपर्ला तर रोजगारका लागि भने योग्यता अनुसार नै हुन्छ । पढ्दै नपढेकाले नपाउने पढेकाले पाउने भन्ने होइन शारीरिक रुपमा गर्न सक्नेले पाउनेछन् ।
मेलामा अन्य आकर्षण के छन् ?
हामीले यसपटक आयातित बस्तुलाई भन्दा पनि स्थानीय उत्पादनलाई जोड दिएका छौं । यहाँ रहेका स्टलको आधाभन्दा बढीमा यहीँको उत्पादन राखिएको छ । कृषि, हातले नै बनाएका विभिन्न कपडाहरु लगायत स्थानीय उत्पादन नै छन् । हामीले ७५ प्रतिशत स्टलमा स्वदेशी उत्पादनलाई राखेका छौं ।
मेला चलिरहँदा आइतबार भएको दुर्घटनालाई कसरी हेर्नुहुन्छ ?
दुःखद् घटना घट्यो । हामीले नसोचेको घटना भयो । हामीले सबैकुरा सुरक्षित तरिकाले गर्न खोज्दा खोज्दै कहिलेकाहिँ कमी कमजोरी रहन्छ नै । अब मेसिनरी सामान हो । समस्या आउने नै भयो । त्यहाँ यस्को गल्ति भन्ने भएन । दुर्घटनाका घाइतेले उपचार पाउनैपर्छ र उपचार भइरहेको छ । यहाँ जे भयो र त्यो बाट घाइते हुनुभएको बहिनीको स्वास्थ्य लाभको पनि कामना गर्दछु । अरु सबै सकुशल हुनुहुन्छ । हामीले उपचारका लागि पनि एउटा टिम नै लगाएका छौँ ।
उहाँको उपचार व्यक्तिगत खर्चमा भएको छ या मेला आयोजकले गरेको छ ?
मेलामा जुन पिङ राख्नुभएको छ । उहाँहरुले नै हो उपचार गराउने । उहाँहरुले नै खर्च गरिरहनुभएको छ र बीमा पनि गरिएको त्यसका लागि हामीले सबै प्रक्रिया अघि बढाएका छौँं । मेलामा स्टलको, बालउद्यान सबैको बीमा छ । हामीले हाम्रो तर्फबाट गर्नुपर्ने गरेका छौं ।
मेलामा पाइने सामान बाहिरभन्दा महंगो छ भन्छन् सत्य हो ?
होइन् । एकादुई त्यस्तो पर्न सक्यो होला नत्र बारिह २५ सय पर्ने ज्याकेट यहाँ १२ सयमा पाएको छ । बाहिरभन्दा यहाँ अलिक सस्तो छ । मेलमा खासमा आफ्ना व्यवसाय, उत्पादन, उद्योग संघ संस्थाको प्रवद्र्धन गर्ने हो । त्यसले गर्दापनि यहाँ सस्तो हुन्छ । मेलामा मात्रै बेच्ने भन्ने हुँदैन । यहाँ त विशेष छुट दिएर मेरो व्यवसाय यहाँ छ भनेर ग्राहक तान्ने काम हुन्छ । प्रचार गर्ने हो यहाँबाट ।
नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ अब कसरी अघि बढ्नुहुन्छ ?
व्यवसायीको हकहित भनेको सर्वप्रथम त आर्थिक क्षेत्रबाटै हुन्छ । यहाँ उत्पादन, आयात, निर्यातका कुरा आउँछन् । जस्तै ः हामी आयातमा भन्दा निर्यात हुनका लागि यहाँ उत्पादन हुन प¥यो । उत्पादनका लागि अर्थ चाहियो । अब त्यसका लागि ऋण लिनुपर्ने होला । अहिले बैंकिङ सेक्टरबाट लोन प्रवाह नभएको अवस्था छ । यो अवस्थामा उद्योगी तथा व्यवसायी बन्न सक्दैनन् । अब बैंकलाई नै १४÷१५ प्रतिशत ब्याज लिन्छ भने कसरी व्यवसायमा नाफा हुन्छ ? बैकमै पैसा राखे भयो । अबका दिन उद्योगी वा व्यवसायी बनाउनका लागि हामी राम्रो मध्यस्तकर्ता बन्छाँै । पोखरा उद्योग वाणिज्य संघले त्यो काम गर्छ । हामी आएको भरखरै दुई महिना भयो त्यो बीचमा दशैं, तिहार, चुनावले गर्दा हामीले काम गर्न नै पाएनौं । कुनै व्यवसायीसंग भेटघाट गर्ने मौका नै पाएका छैनौं ।
अन्त्यमा आम दर्शक, उद्योगी तथा व्यवसायीलाई के भन्न चाहानुहुन्छ ?
पोखरा उद्योग वाणिज्य संघ सद्यैँ उद्योगी, व्यवसायीको हकहितमा आवाज उठाउने संस्था हो । अहिले हामीले गरेको मेलाप नि उद्योग व्यवसायीको हकहितकै लागि हो । यो मेला सम्पूर्ण व्यवसायी, उद्योगी तथा दर्शकले अवलोकन गरि लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछु । यहाँ हामीले मनोरञ्जन मात्रै होइन सूचना समेत प्रवाह गरेका छौं त्यसको पनि फाइदा लिनुहुन अनुरोध गर्दछु ।





