बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सडक निर्माण कम्पनी चाईना स्टेटद्वारा देवचुलीमा निशुल्क स्वास्थ्य शिविर

सडक निर्माण कम्पनी चाईना स्टेटद्वारा देवचुलीमा निशुल्क स्वास्थ्य शिविर


  • खगेन्द्र पराजुली
  • पुष १ २०७९, शुक्रबार

नवलपुर/नारायणगढ–बुटवल सडक स्तरोन्नतिको ठेकेदार कम्पनी चाईना स्टेट ईन्जीनियरिङ कर्पोरेसनले देवचुलीमा निशुल्क स्वास्थ्य शिविर जारी राखेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले देवचुली नगरपालिकासँगको सहकार्यमा शिविर चलाएको हो ।

सडक स्तरोन्नतिका दौरानमा पछिल्लो समय स्थानीय निकायको पहलमा कच्चा पदार्थको ब्यवस्थापनमा सहयोग प्राप्त हुँदा कामले समेत गति लिएकाले नगरपालिकाको सहयोगलाई सामाजिक कार्यमार्फत धन्यवाद दिन बिशेषज्ञ सहितको सेवा शिविर सञ्चालन गरिएको कम्पनी स्रोतको भनाई छ ।

१७ जना विशेषज्ञ डाक्टरको एक समूहले देवचुली नगरपालिकाको वडा नं. १६ को वडा कार्यालयमा बुधवारदेखि सञ्चालित शिविरमा अधिकांश देवचुली वडा नं. १६ र १७ का स्थानीयले सेवा लिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

दैनिक बिहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म बिशेषज्ञ टोलीले स्वास्थ्य परिक्षण, प्रयोगशाला परिक्षण र आवश्यक औषधि समेत निशुल्क रुपमा उपलब्ध गराएको स्वास्थ्य शाखाका सिअहेव अधिकृत शिव पराजुलीले जानकारी दिए ।

डाक्टरको समूहले दैनिक ७० जनाको परिक्षण गर्न सकिने जनाए पनि नगरपालिकाको अनुरोधमा बुधवार ७२ जना र बिहिवार १ सय जना गरी दुईदिनमा १ सय ७२ जनाले सेवा लिएको पराजुलीले बताए ।

पुरुषलाई १६ फरक फरक विशेषज्ञ चिकित्सकले र महिलालाई (पाठेघर र स्तन) सम्वन्धि स्त्रीरोग सम्वन्धि थप १ गरी १७ जनाले चेकजाँच गरेकाले संख्यात्मक रुपमा लाभग्राही कम देखिए पनि प्रभावकारी सेवा प्रवाह भएको पराजुलीले बताए ।

शिविर तीन दिनसम्म चलाउने भनिए पनि सेवा लिन आउनेहरुको संख्या धेरै भएकाले परिक्षणको समय बढाउने वा दिन थप्ने भन्ने सन्दर्भमा चाईना स्टेट कम्पनी मार्फत डाक्टरको समूहसँग छलफल भएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

नगरपालिकाले सेवा लिन आउनेलाई निरुत्साहित नपार्ने ध्येयका साथ सकभर सेवा लिन आएर पालो नपाएर फर्कनु नपरोस् भनेर सम्वन्धित कम्पनीसँग समय थप गर्न आग्रह गरिएको छ । डाक्टरहरुको तालिकाको बारेमा बुझेर सकेसम्म सेवा लिन आउनुभएकाहरुलाई शिविरको मौका दिने प्रयत्नमा छौं । नगर प्रमुख न्यौपानेले बताए ।

शिविरमा स्त्रीरोग, नाक, कान, घाँटी रोग, मुख तथा दन्तरोग, सामान्य चिकित्सा, हाडजोर्नी तथा नशारोग, छातीरोग, पराम्परागत चाइनिज उपचार, ई.सि.जि. भिडियो एक्सरे, प्रयोगशाला परिक्षण र औषधि सेवा रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->