बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

के हो आकस्मिक गर्भनिरोधक ? निसन्तानपनले सताउला है !

के हो आकस्मिक गर्भनिरोधक ? निसन्तानपनले सताउला है !


  • कृष्ण कुमार सैजु
  • पुष १६ २०७९, शनिबार

असुरक्षित यौन सम्बन्धपछि गर्भ रहन नदिन आकस्मिक गर्भनिरोधक औषधीको प्रयोग गरिन्छ । आकस्मिक गर्भनिरोधकको प्रयोग शारीरिक सम्पर्क भएको पाँच दिनसम्म गर्न सकिन्छ, तर जति छिटो प्रयोगमा ल्याइयो, त्यति नै प्रभावकारी हुन्छ ।

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले आकस्मिक गर्भनिरोधक औषधिका रूपमा लिभोनोरजेस्ट्रेल र युलिप्रिस्टललाई मान्यता दिएको छ । यो हर्मोनयुक्त खाने चक्की हो । यो चक्की असुरक्षित यौन सम्बन्धको पाँच दिन अर्थात् एक सय २० घन्टाभित्र लिभोनोरजेस्ट्रेल भए १.५ मिलिग्रामको एक मात्रा बराबर र युलिप्रिस्टल भए ३० मिलिग्राम लिनुपर्ने डब्लुएचओले बताएको छ । लिभोनोरजेस्ट्रेल भए यसलाई०.७५ मिलिग्रामको दुई चक्की १२ घण्टाको फरकमा पनि खान सकिने डब्लुएचओले बताएको छ ।

आकस्मिक गर्भनिरोधक चक्की उपयोग गर्दा शतप्रतिशत गर्भ रोक्ने ग्यारेन्टी भने हुँदैन । डब्लुएचओले बताएअनुसार यस्ता इसीपीको प्रभावकारिता ५२ देखि ९६ प्रतिशतसम्म मात्रै हो । असुरक्षित यौन सम्पर्कपछि जति छिटो यस औषधि प्रयोग गर्यो, यसको प्रभावकारिता त्यति नै बढी हुने बताइएको छ । मुख्यतः ७२ घण्टासम्म यसले राम्रोसँग काम गर्ने तर त्यसपछि यसै भन्न नसकिने विश्व स्वास्थ्य संगठनले बताएको छ ।

कसरी काम गर्छ औषधिले ?

आकस्मिक गर्भनिरोधक चक्कीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक एउटा हर्मोन हुन्छ, जसले गर्भ बस्न दिँदैन । गर्भ बस्न आवश्यक हर्मोनलाई यसले नष्ट गरिदिन्छ र गर्भ बस्न दिँदैन । यो हर्मोनले पुरुष हर्मोन र महिला हर्मोनको बीचमा द्वन्द्व गरेर गर्भ बस्न दिँदैन, जसकारण अनिच्छामा गर्भ बस्न सक्दैन भन्ने मान्यता हो । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदि डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भु्रण बन्न नदिने र यदि भु्रणसमेत बनिसकेको छ भने पाठेघरमा टाँसिन दिँदैन । सेचन भइसकेको भए पनि भु्रण बन्न ७२ घण्टा लाग्ने भएकाले यसलाई ७२ घण्टे चक्की भनिएको हो ।

स्वास्थ्यमा के प्रभाव पर्छ ?

गर्भ रहनबाट रोक्नका लागि यो चक्की प्रभावकारी माध्यम हो । असुरक्षित यौनसम्पर्क भएको ७२ घन्टाभित्र आकस्मिक गर्भनिरोधक चक्की को प्रयोग गरेमा गर्भ रहने सम्भावना न्यून हुन्छ । तर, १२ देखि २४ घन्टाभित्र प्रयोग गरेमा बढी प्रभावकारी मानिन्छ । आकस्मिक गर्भनिरोधकको प्रयोग अत्यधिक गर्नुहुँदैन । छोटो समयमै धेरै चक्कीको प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । यसको प्रयोगले वाकवाकी लाग्ने, बान्ता हुने, रिंगटा लाग्ने, टाउको दुख्ने, थकान महसुस हुने, स्तन भारी महसुस हुने जस्ता स्वास्थ्य समस्या पनि देखिन सक्छन् । यस्ता स्वास्थ्य समस्या केही समयमै आफैँ हराएर जान्छन् ।

के यो सुरक्षित छ त ?

आकस्मिक गर्भनिरोधक चक्की स्वास्थ्यका दृष्टिकोणले सुरक्षित भन्न सकिने अवस्था छैन । आकस्मिक घटनामा एकदुई पटक प्रयोग गर्नाले यसले खासै फरक पार्दैन । तर यसलाई अन्य पिल्सहरू सरह नियमित प्रयोग गर्ने गरियो भने यसलाई गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । त्यति मात्रै होइन, यो पिल्स गर्भरोक्नमा शतप्रतिशत सक्षम छैन । कतिपय अवस्थामा यो औषधि प्रयोग गरे पनि गर्भ रहन सक्छ ।

असर हर्मोनमा गडबडी

महिलाले प्रयोग गर्ने यस्ता औषधिमा शरीरमा हुनेभन्दा फरक हर्मोन हुन्छ । यो हर्मोनले अर्को हर्मोनसँग संघर्ष गरेर गर्भ बस्न दिँदैन । तर, यस्तो औषधि प्रयोगपछि यस्ता हर्मोन पनि महिलाको शरीरमा रहन सक्छ । जसकारण शरीरमा अनावश्यक हर्मोन प्रवेश भई विभिन्न शारीरिक समस्या ल्याउन सक्छ ।

पाठेघरको नली फुट्ने खतरा

यस्ता चक्की प्रयोगले पाठेघरको नलीसमेत फुटाउन पनि सक्छ । महिलाको पाठेघर अत्यन्तै संवेदनशील अंग भएकाले यस्ता औषधि प्रयोगले नलीमा विकास भएको वा हुन लागेको भु्रणलाई असर गर्छ । जसकारण पाठेघरको नली फुट्न सक्ने खतरासमेत हुन्छ ।

अत्यधिक रक्तश्रावको खतरा

आकस्मिक गर्भनिरोधक चक्की सेवनले धेरै रक्तश्राव हुनसक्छ । भु्रण बनिसकेको भए यस्ता चक्कीले त्यो भु्रण तुहाउँछ । यस्तो अवस्थामा यस्ता औषधि लिने महिलालाई अत्यधिक रक्तश्राव हुन्छ ।

बाँझोपनको खतरा

आकस्मिक गर्भनिरोधक चक्की अत्यधिक प्रयोग गर्नाले महिलामा बाँझोपनको समस्या आउन सक्छ । यी औषधि लगातार प्रयोग गर्नाले प्रोजेस्टेरोन हर्मोन उत्पादन नै बन्द हुन सक्ने खतरा छ । जसकारण पछि गर्भ नै नबस्ने खतरा हुन्छ । प्रोजेस्टेरोन एउटा त्यस्तो महिला हर्मोन हो, जसले डिम्ब निष्कासन तथा गर्भधारण प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छ ।

यौनरोगको जोखिम उस्तै

अहिले इमर्जेन्सी कन्ट्रासेप्टी पिल्स अर्थात् एसीपीको प्रयोग गरेपछि गर्भ रहँदैन भन्दै युवायुवतीले यसको प्रयोगलाई व्यापकता दिएका छन् । तर, गर्भ रोक्ने औषधि छँदै छ नि भन्दै उनीहरूले कन्डम प्रयोगमा अनिच्छा देखाउँदा यसले यौनरोगको खतरा भने उच्च हुन्छ । औषधि प्रयोगले यौनरोग सर्नबाट रोक्न सक्दैन । जसकारण एस. टि. डि., एचआइभी एड्स जस्ता भयानक रोगको खतरा बढ्छ ।

महिनावारी गडबड

यो औषधिमा हर्मोन हुने र महिलाको शरीरमा हुने हर्मोनसँग द्वन्द्व हुने भएकाले यसले महिलाको मासिक चक्रमा असर गर्न सक्छ । कतिपयलाई यो औषधि प्रयोग गरेलगत्तै रक्तश्राव पनि हुन सक्छ । जसकारण महिनावारीमा गडबडी ल्याउने काम गर्छ । यस्ता औषधिका कारण कहिले समयभन्दा अगाडि र कहिले महिना पुगेको लामो समयपछि मात्रै महिनावारी हुन्छ ।

प्रयोग गर्ने अधिकांश अविवाहित

यस्ता औषधि प्रयोग गर्ने अधिकांश किशोरी वा युवती अविवाहित हुने गरेको एक शोधले पत्ता लागेको छ । ‘यस्ता औषधि किन्न आउने धेरैजसो १८ देखि २५ वर्ष उमेर समूहका छन्,’ फार्मासिस्ट बताउँछन् । प्रायः ‘विवाहितले तीनमहिने सुई, पिल्स, कपर–टी जस्ता साधन प्रयोग गर्ने भएकाले उनीहरूलाई यस्ता औषधिको खासै आवश्यकता नै पर्दैन । तर, बिहे नगरेका वा आफ्ना सेक्स पार्टनरसँग रिलेसनसिपमा रहेकाले यस्ता औषधि बढी प्रयोग गर्ने गरेको पाइन्छ ।

बजारमा पाईने औषधिहरू

औषधिको जेनेरिक नेम लिभोनोरजेस्ट्रेल र युलिप्रिस्टल नै भए पनि नेपाली बजारमा विभिन्न नाममा यस्ता औषधि प्रयोग र बिक्री बितरण भइरहेको छ । नेपाली बजारमा अनवान्टेड ७२, आइपिल, इ–७२ म्याक्स, इकोन, ओके, एमटीपी प्रिग्नो, एमटी पिल्स जस्ता नाममा यसको बिक्री र प्रयोग भइरहेको छ ।

आकस्मिक गर्भनिरोधक औषधि आकस्मिक अवस्थाका लागि मात्रै हो । अनिच्छामा गर्भ बसेर पछि गर्भपतन गराउनुभन्दा यसको प्रयोग उत्तम हो भन्न सकिन्छ । तर, यसलाई अन्य पिल्ससरह नियमित सेवन गर्नु वा अत्याधिक प्रयोग गर्नु कत्ति पनि राम्रो हुँदैन र होइन पनि । बरु जनचेतना बढाएर कन्डमको प्रयोगलाई बढाउनुपर्छ । पानीपुरी रचटपटे किनेर खाएझैं प्रयोग गर्दा यसले भविष्यमा गम्भीर स्वास्थ्य समस्या ल्याउने निश्चित छ ।

स्वास्थ्यामा जोखिम

आजका युवायुवतीहरू यौनका मामिलामा निःसन्देह खुल्ला छ । तर, यसमा ऊ कत्तिको ज्ञान राख्छ भन्ने कुरामा सन्देह गर्न पर्ने अवस्था आएको छ । किनभने, आकस्मिक गर्भनिरोधक चक्की र गर्भपतनसम्बन्धी उनीहरूको बुझाइ अधुरो देखिन्छ । असुरक्षित यौन सम्पर्क गरेको ७२ घण्टाभित्र ‘इमर्जेन्सी पिल’ खाएमा गर्भ बस्दैन भन्ने आम मान्यता बनेको छ । यो एउटा सामाजिक प्रचलन नै भइसकेको छ । यस्ता पिल्स जथाभावी सेवन गर्दा युवती र किशोरीहरूको महिनावारी गडबड हुनुको साथै प्रजनन क्षमता नै कमजोर हुन सक्छ । यसैले गर्दा निसन्तानपनको सिकार हुर्ने हुन सक्छ । आकस्मिक गर्भनिरोधक चक्कीलाई चना चटपटे खाएजस्तै साधारण ठानेर प्रयोग गर्ने डरलाग्दो ‘ट्रेन्ड’ नेपाली समाजको ताजा र बिकराल समस्या हो ।

आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नुअघि स्वास्थ्य अवस्थाबारे जानकारी लिन जरुरी छ । लगातार यसको प्रयोगले पछि स्वास्थ्यमा जोखिम बढाउँछ । हर्मोनसंग सम्बन्धित औषधि भएकाले हर्मोनमा गडबड ल्याउन सक्छ । यो बगिरहेको खोलामा बाँध हाले जस्तै हो । एकचोटिका लागि रोकिन सक्छ तर नियमित यसैगरी रोक्न थाल्यो भने बाँध पनि भत्किन्छ । सामान्य शारीरिक प्रक्रियालाई यो औषधिले अनियमित बनाएर गर्भपतन गराउने भएकाले स्वास्थ्यमा जोखिम हुन सक्छ । पटकपटक शरीरका नियमित प्रणालीमा बाह्य अवरोध सिर्जना गरिदिँदा मानसिकदेखि शारीरिक स्वास्थ्यसम्म जोखिम आइपर्ने सक्छ ।

यसको प्रयोगकर्ता युवतीमा मुटुरोग भएमा वा मुटुरोग भएर भल्भ फेरेको भएमा ज्यान नै जोखिममा पर्ने सम्भावना हुन्छ । त्यसैगरी अल्सर, प्रेसर भएमा यसले बढाउने र माइग्रेन समस्या निम्त्याउन सक्ने सम्भाबना हुन्छ ।

यदी यो अवस्थामा भुलवस यस्तो कुनै पनि औषधी सेवन गर्नुभएको छ भने विचार पुर्याउनुस् है, यस्तै औषधीको कारणले रोगप्रतिरोधक क्षमतामा ह्रास ल्याउँछ र हानिकारक तथा प्राणघातक रोगको जिवाणुसंग प्रतिरोध गर्ने क्षमता घट्छ र महामारीको चपेटामा परी अकालमै ज्यान जान सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->