पोखरा / आउँदो फागुनको ६ गते पोखरामा १७ औैँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति निर्माणसँगै म्याराथनको तयारी थालेको छ ।
सफल दूधको मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मन्च नेपालको आयोजनामा हुन लागेको सफल पोखरा अन्र्तर्राष्ट्रिय म्याराथनको मुल नारा ‘स्वास्थ्यको लागि, पोखराको लागि’ रहेको छ । मोफसलमा हुने सबैभन्दा ठूलो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै आइरहेको छ ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले यसै वर्ष म्याराथनको अन्तर्राष्ट्रिय छाता संगठन एसोसियसन अफ इन्टरन्यासनल म्याराथन एण्ड डिष्टेन्स रेर्सस्मा दर्ता भई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनका रुट समेत एम्सबाट प्रमाणीकरण भएको छ । यसपालि म्याराथनलाई विशेष बनाउनका लागि म्याराथन र महिला हाफ म्याराथनका सहभागीहरुलाई चिप्सको प्रयोग गरिने आयोजकले जानकारी दिएको छ ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले प्रथम बिजेतालाई ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख र चौथोलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ । गण्डकी प्रदेशको खेलाडीहरुलाई प्रोत्साहन स्वरुप छुट्टै पुरस्कारको व्यवस्था पनि गरेको छ ।
यसपटक महिला हाफ म्याराथन, १० किमी पुरुष तथा महिला, ५ किमी छात्र/छात्रा, ह्विल चियर तथा दृष्टिविहीनतर्फका पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको मुख्य प्रायोजक सफल दूधको उत्पादक सुजल डेरी प्रालिले म्याराथनले स्वास्थ्यप्रति आम नागरिकको चासो बढाउने अपेक्षा राखेको छ । म्याराथनलाई निरन्तर प्रायोजन गर्दै आइरहेको सफल दूधले उपभोक्ताको स्वास्थ्यप्रतिको विश्वासलाई कायम गर्नुको साथै पोखरावासीको मन जित्न सफल म्याराथनको हिस्सेदार भएकोमा गौरवान्वित भएको जनाएको छ ।
सुजलले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन पोखरावासीसँग आग्रह पनि गरेको छ ।





