बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिजो अलपत्र परेका योजनालाई नै प्राथमिकता दिन्छौं : अर्थमन्त्री सुन्दास

हिजो अलपत्र परेका योजनालाई नै प्राथमिकता दिन्छौं : अर्थमन्त्री सुन्दास


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ४ २०७९, बिहिबार

गण्डकी प्रदेश सरकारले पाँचौ वर्ष पूरा गर्दै छैटौं वर्षमा प्रवेश गरेको छ । देश संघीयतामा गएपछिको दोस्रो निर्वाचनले अहिले नयाँ नेतृत्व खडा गरेको छ । गण्डकी प्रदेशमा पनि नयाँ नेतृत्व आएको छ । गण्डकी प्रदेशको स्थापना दिवस, प्रदेशका योजना, महिला, दलित तथा विविध विषयमा गण्डकी प्रदेश अर्थमन्त्रालयका अर्थमन्त्री सीता कुमारी सुन्दाससँग गरिएको कुराकानीको सम्पादित अंश (सं.)

मन्त्रालय सम्हालेको डेढ महिना भयो कस्तो अनुभव भएको छ ?

धन्यवाद । यो महत्वपूर्ण मन्त्रालय हो । हुन त सबै मन्त्रालय महत्वपूर्ण हुन्छन नै । यहाँ जिम्मेवारी पाइरहँदा खुसीको अनुभुति भइरहेको छ र काम गर्न पर्छ भन्ने हिसाबले जिम्मेवारी बोध भएको महसुस गरेको छु ।

कोभिडको असर अहिले देखिरहेको छ तपाईँको नेतृत्वमा नीजि क्षेत्रलाई सम्बोधन गर्ने वा नयाँ केही योजना आउँछन त ?

पहिलो कुरा हामी अर्थमन्त्रालय भित्रको जुन अवस्था छ त्यसको बारेमा बुझ्दै छु । कोभिडपछि आर्थिक मन्दी विश्वव्यापी रुपमा भयो । अब नेपालमा पनि त्यसको छायाँ परेकै छ । हामीले आर्थिक रुपबाट प्रदेशलाई समृद्ध बनाउनका लागि हामीले केके काम गर्नुपर्छ भनेर सुरुवात गरेका छौं । पहिला त हामीबाटै खर्च कटौति कसरी गर्न सकिन्छ भनेर लागि परेका छौं । हिजो स्थापनामा सात मन्त्रालय थियो । बीचमा १२ मन्त्रालय बनाउन ठुलो पहल ग¥यौ । माननीय मुख्यमन्त्री ज्युले यसको पहल प्रयत्न गर्नुभयो । सात मन्त्रालय हुनेवित्तिकै खर्च कटौति पनि भयो ।त्यो बाहेक हामीले आन्तरिक रुपमा पनि केही व्यवस्थापन गर्नुपर्ने विषयमा पनि छलफल गर्दैछौं ।

दोस्रो निजी क्षेत्रमा लगानी गर्ने सन्दर्भमा हिजोको ट्रेण्ड के छ त्यो हामी बुझ्दै छौं । राष्ट्रलाई समृद्ध बनाउनका लागि संघ र प्रदेश सरकारले र भोलि स्थानीय पालिकाले पनि केही गर्नुपर्ने देखिएको छ । अर्को कुरा हामीले गण्डकी प्रदेशलाई समृद्ध प्रदेश बनाउका लागि करको दायरालाई कसरी फराकिलो बनाउने भन्ने विषयमा पनि सोच बनाएका छौं । नयाँ क्षेत्रको पनि खोजी गर्दैछौं । गण्डकी प्रदेश प्राकृतिक स्रोतले भरिपूर्ण प्रदेश हो । अन्य प्रदेशको भन्दा विशिष्ट परिवेश, परिस्थितमा अवस्थित हाम्रो प्रदेश छ । जो हिमालदेखी तराइसम्म छ ।

हिजो उज्याले गण्डकी प्रदेश बनाउने, समृद्ध गण्डकी प्रदेश सुखी गण्डकीवासी बनाउने जुन हिजोको सरकारले घोषणा गरेका छन् त्यसलाई टेकेर । हिजोका क्रमागत योजनाहरुको विकास गरेर त्यसलाई निरन्तरता दिएर काम सम्पन्न गर्ने अनि थप नयाँ गौरवका योजनाका सन्दर्भमा पनि हामी परामर्श गर्ने सोच बनाएका छौं । अहिले भौतिक पूर्वाधारमा विषयमा बाटोको स्तरोन्नति गर्नुपर्नेछ । हरेक पालिकालाई राजधानीसँग जोड्नुपर्ने छ । अर्को भनेको उज्यालो गण्डकी प्रदेशअन्गर्तत सम्भव हुने ठाउँसम्म जलविद्युत व्यवस्थापन गर्ने र नभएपनि बैकल्पिक रुपमा सौर्य उर्जालाई अघि बढाउँदै आवश्यक कहाँ हो त्यो विस्तार गर्ने भन्ने छ । यी भए भौतिक विकास अर्को भनेको हामीले सामाजिक विकासका लागि केहि नयाँ योजना थप गर्नेछौं ।

बजेटको छलफल सुरु भयो अब आउने बजेटमा कस्ता विषयलाई प्राथमिकता दिनुहुन्छ ?

मैले भने नि पहिलो कुरा त क्रमागत योजना जुन हिजो अलपत्र परेका छन्, त्यसलाई सम्पन्न गर्ने । दोस्रो थप गौरवका योजनाहरु के गर्न सक्छांै छलफलमा छौ । भौतिक पूर्वाधारसँगै हामीले मानवीय विकासका लागि पनि क्षेत्र छु्टयाएर काम गर्ने र गण्डकी प्रदेशलाई प्रविधि मैत्री गण्डकी प्रदेश विज्ञान प्रविधिसँग पनि जोडेर जाने योजना छ । कृषि क्षेत्रमा हिजो जति लगानी भएको छ, त्यो लगानीको सदुपयोग भयो कि भएन त्यसको पुनः मुल्याङ्कन गरेर कृषि क्षेत्रमा पनि बढवा दिनपर्छ । युवा स्वरोजगारमा पनि हिजो सरकारले घोषणा गरेका कुराहरुलाई व्यवस्थापन गर्न अहिलेको सरकारले काम गर्नुपर्नेछ । अहिले हामीले नयाँ ढंगले सोचेर गण्डकीलाई समृद्ध प्रदेशको रुपमा लैजानुपर्नेछ ।

अघिल्लो वर्षको तुलनामा चालु वर्षमा करिब करिब १५ प्रतिशले बजेट बढेको छ यसलाई कार्यान्वयनमा कसरी लैजाने सोच्नुभएको छ ?

हामीले आज मन्त्रालय मर्ज गरिसकेपछि जुन रकमान्तर गरेर, विनियोजन ऐन संशोधन गरेर संसदले पास गरिसकेको छ । त्यो ऐन राजपत्रमा प्रकाशित भइसकेपछि मैले अघि भनेझै क्रमागत योजनलाई व्यवस्थित गर्ने र मुख्य ठाउँको के हो त ? परिस्थिति बुझेर विकासका कामहरु गर्ने र पुजीँगत खर्च वृद्धि गर्नका लािग । फेरि त्यो सहि सदुपयोग हुँदै काम गर्ने योजना राखेका छाँै ।

पहिला चैत अघि रकमान्तरण गरिन्थ्यो अहिले निकै अघि भयो नी ?

हो अहिले हामीले त्यो संशोधन गरेका छौं । त्यसलाई चैत होइन फागुनभित्र नै संशोधन गरेर अघि लैजाने भन्ने हिसाबले त्यो आएको हो ।

त्यसले अघिका क्रमागत र कुनै योजनालाई प्रभाव पार्दैन नी ?

गर्नै पर्ने कामलाई कुनै प्रभाव पार्दैन ।

सात महिनामा १७ प्रतिशतमात्रै खर्च भएको देखिन्छ तपाईँको कार्यकालमा कति बढाउछु भन्ने छ ?

हिजोको ट्रेण्डले एउटा देखाएको छ । हिजो ७३ प्रतिशत थियो आज १७ प्रतिशत देखाएको छ । हाम्रो लगभग विनियोजन ऐन संशोधन भइसकेको छ र यो ऐन पूर्णता भएर आइसकेपछि पुर्णता भनेको यो राजपत्रमा आइसकेपछि हामीले कार्याविधि पनि बनाएका छौ, कसरी जाने भनेर । हामीले टुक्रे योजनाहरु नगरिकन सकेसम्म ठूलो योजनालाई प्राथमिकतामा राखेर काम गर्ने भन्ने हिसाबले परामर्श गरेका छौं ।

टुक्रे योजना भनेर कतिसम्मका योजनालाई भन्ने गरिन्छ ?

अहिले हामीले यतिलाख उति लाख भन्ने छैन् । आवश्यकता अनुसारको पहिचान गरेर भन्छौं ।

१२ बाट ७ मा झार्दा खर्च कटौतिसँगै विकास निमार्णमा यसले कस्तो प्रभाव पार्ला ?

असाध्यै राम्रो प्रभाव पारेको छ । यसमा कुनै द्धिविधा नै भएन नि । सबैले प्रसंशा गरेको विषय हो यो ।

अघिल्लो अर्थमन्त्रीले आर्थिक स्रोत वृद्धि गर्ने भनेर घरजग्गा, सवारी करमा शुल्क वृद्धि गर्दा निकै आलोचित हुनुभयो, अहिले तपाईँले कराको दायरा बढाउँछु भन्नुभएको छ दरमा हेरफेर अवथा पहिलाकै हुन्छ ?

यो विषयमा हामी छलफल गरिरहेका छौं । हामीले करको दायरा बढाउने भनेका छौं । लगाइराखेको कर बढाउने भनेका होइनौं । त्यसरी बुझ्नुप¥यो । कतै लुकेको त्यस्तो ठाउँ छ भनेपनि हामी खोजेर करको दायरामा ल्याउँछौं ।

प्रदेशको सुशासन, पारदर्शीता र जवाफदेहीतामा प्रश्न उठेको छ, यसलाई नियन्त्रण गर्न कस्ता योजना बनाउँदै हुनुहुन्छ ?

हामीले त हाम्रो मन्त्रालयदेखि नै सार्वजानिक खर्च कटौति कसरी गर्न सकिन्छ होला भनेर हामी मितव्ययी ढंगले कसरी जान सकिन्छ होला भनेर सुरु गरेका छौं । सकेसम्म हामीले पानी मिनरल बोतल नभइ जारको पानी प्रयोग गर्ने सोचिरहेका छौं । त्यो हेर्दा सामान्य कुरा हो । सकिन्छ,त्यसरी जाने सोच बनाएका छौं । हामीले कतिपय कुरा व्यवहारमा लागु गर्नुपर्ने रहेछ । त्यसैले मितव्ययी, सुशासनको विषयमा अनुशासनका साथ काम गर्ने प्रतिबद्धताका साथ आएका छौं ।

अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशलाई कसरी हेर्नुहुन्छ ?

सबै प्रदेशको आफ्नै विशेषता छन् । हाम्रो गण्डकीको विशेषता भनेको हिमाल देखी तराईसम्म जोडिएका छौं । त्यो भन्दापनि दुई राष्ट्रसँग हामी जोडिएका छौं । प्राकृतिक रुपले त हामी यति सम्पन्न छौं कि पर्यटकलाई मात्रै आकर्षण गर्न सक्ने हो भनेपनि हाम्रो आर्थिक उन्नतिले आकाश छुन्छ । यसलाई विश्व मानचित्रमा गण्डकी प्रदेशलाई चिनाउन सक्ने चिनारीको रुपमा केही कामहरु थलानी गर्नुपर्छ जुन यही छ ।

तपाईँ महिला, दलित पनि हुनुहुन्छ । त्यस क्षेत्रलाई कसरी समेट्नु हुन्छ ?

म महिला पनि दलित पनि हुँ । महिला र दलित भएरभन्दा पनि राजनीतिक रुपबाट म हिजो पार्टी प्रवेश गर्दैगर्दा समाजमा देखिएको हुँदा खाने र हुनेखाने बीचको विभेद, महिला पुरुषबीचको विभेद र दलित हुँदाको विभेद । मैले तिन चारवटा विभेदको बारेमा आवाज उठाउँदै आएको हुँ । ती नै आवाज उठाउँदै राजनितिमा प्रवेश गरेको हुँ । यो सन्दर्भमा कम्तिमा पनि यी समुदायको पृष्ठपोषण हुनेगरी काम गर्नेछु । हामीले कसरी सम्बोधन गर्न सकिन्छ भनेर बढ्नुपर्छ दोस्रो कुरा भनेको म अर्थमन्त्रालयमा हुँदा जसको पनि आशा र अपेक्षा रहन्छ । हामीसँग सिमित स्रोत साधन छन् त्यसको सहि सदुपयोग गर्न, त्यसलाई विनियोजना गर्न नीति नियम, कार्यविधिका क्षेत्रहरुमा विशेष पहल भूमिका हुन्छ र थप काम गर्न हामी परामर्श गरेर जान्छौं । अब सरकार भएको अनुभूति दिलाउने छु । हाम्रो समाजमा दलित तथा महिला दिदी बहिनीको अवस्था निकै नाजुक पनि छ । अहिले खाए भोलि के खाने स्थिति छ । बच्चाहरुले पढ्न नपाएको, उपचार नपाएको, जातीय विभेद भएको घटनाहरु पनि छन् । त्यसका लागि उचित काम गर्नेछु । विशेष प्राथमिकतामा राखेर काम गर्नेछु । दलित र महिलाको सवालमा कुनै कन्जुसाई गर्ने छैन् ।

अन्त्यमा आज गण्डकी प्रदेश सरकारले स्थापना दिवस मनाउँदै छ आम प्रदेशवाशीलाई तपाईको सन्देश के छ ?

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि जीवन आहुति दिने शहिदहरलाई सम्झिन चाहन्छु । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्नका लागि लागिपर्ने सबैलाई एकदमै सकरात्मक सरसहयोग गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु । राष्ट्र संवृद्ध बनाउनका लागि सबैले हातेमालो गरौँ र यो छैटौं वर्ष प्रवेशको अवसरमा सबै गण्डकीवासीलाई हार्दिक धन्यवाद, बधाई भन्न चाहन्छु ।

प्रस्तुति : विजय नेपाली

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->