कतिपयलाई हिस्टेरिया विवाहपश्चात् उत्पन्न हुन्छ । कतिपयमा त विवाहपश्चात् हिस्टेरिया झनै उग्र भएर आउँछ । बुझ्नुपर्ने कुरा विवाहले होइन तनावको निदानले नै हिस्टेरिया ठीक हुन्छ । हिस्टेरियाको उपचार आवश्यक छ ।
हिस्टोरिया ग्रिक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । करिब दुई हजार वर्ष अगाडि हिप्पोक्रेटस भन्ने ग्रिकी चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अंग पाठेघरसँग सम्बन्धित ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामकरण गरे । वर्षौं सम्मयो समस्यालाई यसैगरी हेरियो । तर, अनुसन्धानहरूले यो समस्याको यौनसँग कुनै सिधा सम्बन्ध नभएको र तनावसँग सम्बन्धित भएको देखाए ।
किन हुन्छ हिस्टेरिया ?
– अनुसन्धानका अनुसार तनावका कारण हुन्छ ।
– तनावको प्रकार जस्तो पनि हुन सक्छ ।
– पढाइ–लेखाइको तनाव ।
– पारिवारिक तनाव ।
– नाता–सम्बन्धको तनाव ।
– आर्थिक तथा सामाजिक तनाव ।
– प्रतिस्पर्धाको तनाव ।
– कामनापूर्ति नहँदाको तनाव ।
– इज्जत प्रतिष्ठाको तनाव ।
– यौनसम्बन्धी समस्याहरूले तनाव ।
– संकीर्ण समाजमा यौनसम्बन्धी समस्याको तनाव निकै हुने गर्छ ।
अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन भई आजकल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनु जस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।
लक्षण
– हिस्टेरिया भयो भने बेहोस हुने ।
– अदृश्य शक्तिले छोपेको अनुभव हुने ।
– हात खुट्टा झमझमाउने र लाटो हुने ।
– घाँटीमा डल्लो अड्केको महसुस हुने ।
– वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने ।
– छिटोछिटो सास चल्ने ।
– हातखुट्टा नचल्ने ।
– आवाज बन्द हुने ।
– आँखा नदेख्ने ।
– रुने, चिच्याउने, काम्ने ।
– उत्तेजित हुने ।
– कुटपिट गर्ने, कपडा च्यात्ने ।
– सम्झना शक्ति हराउने आदि ।
कतिपय बिरामीले आफूलाई देवीदेवताको रूप र अवतारसम्म पनि भन्ने गरेको पाइन्छ । हिस्टेरियाका लक्षणहरूलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । लक्षणहरू पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरू बीच फरक हुनसक्छन् ।
कारण
हिस्टेरियाका लक्षण देखिने व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्व दिएको देखिन्छ । यो बुझाइ गलत हो । हिस्टेरिया अनेक कारणहरूको परिणाम हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणले साथी तथा परिवारजन सामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ ।
साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरू सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरूले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् । मानसिक द्वन्द्वको कारण पत्ता लगाउन मनोविशेषज्ञले विभिन्न प्राविधिक उपायहरू पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरूले हुन सक्छ ।
महिलालाई किन बढी ?
– महिलाले पुरुष जस्तो मनका कुरा व्यक्त गर्न सक्दैनन् ।
– उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ ।
– जहाँ पीडा गुम्सिन्छ त्यहाँ समस्या बढी हुन्छ ।
– किशोरीमा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तन पनि कारण हो ।
– किशोरीहरू परिवार र समाजबाट बढी नियन्त्रण हुनु ।
– महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यता ।
– महिला बढी अन्तरमुखी बन्न बाध्य हुनु ।
– पढ्ने, जीवनसाथी रोज्ने र आफ्ना समस्याहरूलाई नडराइ, नलजाइ भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम छ ।
हिस्टेरिया र अन्य मनोरोग
हिस्टेरियाको अन्य मानसिक रोगसँग गहिरो सम्बन्ध छ । केही व्यक्तिहरूमा पहिले नै मानसिक रोगहरू भएको अवस्थामा हिस्टेरिया उत्पन्न हुन सक्छ ।
केही मानसिक रोगहरूले व्यक्तिको तनाव बहन गर्न सक्ने क्षमतामा ह्रास उत्पन्न गराएर हिस्टेरिया हुन सक्ने सम्भावना बढाइदिन्छन् । हिस्टेरियाको समयमै उपचार भएन भने अन्य मानसिक रोग उत्पन्न हुन सक्छन् । आफैं तनावको पहिचान गर्न त्यति सजिलो नहुने हुनाले हिस्टेरिया अन्य कुनै व्यक्तिको सहायता बिना ठीक हुन मुस्किल हुन्छ ।
हिस्टेरियाको समयोचित समाधान नभएमा व्यक्तिमा हीनताबोध उत्पन्न हुनेदेखि विभिन्न प्रकारका मानसिक रोगहरू (डिप्रेसन, आत्तिनेरोग) उत्पन्न हुन सक्दछन् ।
अन्धविश्वास, कुरीति, चेतनाको कमी नै अविकसित देशमा हिस्टेरियाको कारण र उपचारमा ढिलाइ हुने मुख्य कारणमध्ये एक हो । देवीदेवता उत्रेको, नाग लागेको तथा विभिन्न किसिमका भूतप्रेत माथिको अन्धविश्वासले यो रोग लाग्न मात्र होइन यस रोगको राम्रोसँग उपचार गराउन पनि समस्या देखिएको छ ।
अहिले पनि नेपाली समाजमा अविवाहित महिलामा हिस्टेरियाको लक्षणहरू देखिएको खण्डमा विवाहले हिस्टेरिया ठीक गर्छ भन्ने गलत धारणा कायमै छ । विवाहले कसै कसैलाई तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले वातावरणको परिवर्तनले हिस्टेरिया ठीक पारेको हुन सक्छ । कतिपयलाई हिस्टेरिया विवाहपश्चात् उत्पन्न हुन्छ । कतिपयमा त विवाहपश्चात् हिस्टेरिया झनै उग्र भएर आउँछ । बुझ्नुपर्ने कुरा विवाहले होइन तनावको निदानले नै हिस्टेरिया ठीक हुन्छ । हिस्टेरियाको उपचार आवश्यक छ ।
उपचार
हिस्टेरिया पूर्णतया मनको खेल हो, अवचेतन मनको । यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरूद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरूप देखिएको मनको रोग हो । यो रोग म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो । यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसले संवेदनशील भएर बुझ्न खोज्नुपर्छ । तनावको पहिचान र उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो ।
यस रोगको अहिलेसम्म कुनै ट्याबलेट या इन्जेक्सन बनेको छैन । तर, औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त हुन्छन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिन्छन् । निदानको लागि तनावको पहिचान आवश्यक छ । विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ ।
हिस्टेरियाको सर्वोत्तम उपचार माइन्ड–बडी मेडिसिन हो, साइकोथेरापी हो । मास साइकोथेरापी, फैमिली साइकोथेरापी, कोग्निटिवबिहेवियर थैरपी (सीबीटी), इएफटी तथा योग, ध्यान, प्राणायाम जस्ता यौगिक क्रियाहरूद्वारा नै हिस्टेरियाको उपचार गर्नुपर्दछ ।
हिस्टेरिया रोग खास गरेर विवाह नभएका युवतीलाई धेरैजसो लाग्ने गर्दछ । विवाह गरिसकेका महिलालाई पनि यो रोगले सताउन सक्छ ।




