बागलुङ/ सिवाइसी नेपालले स्थापना दिवसको अबसर पारेर पदाधिकारी, सल्लाहकार र सदस्यको स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ । सिवाइसी नेपालद्वारा संचालित लघुवित्त कार्यक्रम र सिवाईसी सहकारीलाई व्यवस्थित बनाउन उक्त कार्यक्रम गरिएको अध्यक्ष चण्डीप्रसाद शर्माले जानकारी दिए ।
कार्यक्रममा सहकारी र लघुवित्त कार्यक्रमलाई अब्बल बनाउन सबै प्रकारका प्रयास गरिने बताइएको छ । ‘पछिल्लो समय लघुवित्तलाई हेर्ने दृष्टिकोण नकारात्मक बनेकोले जनताको हितमा काम गरेर देखाउने बेला आएको छ’ शर्माले भने, ‘जनताको सुखदुःखमा काम गर्ने, उद्यमशिलता र रोजगार सिर्जना गर्न साथ दिऔं ।’
कार्यक्रममा लघुवित्त कार्यक्रमका प्रमुख डोलेन्द्र शर्माले आइपिओमा गइसकेपछि सिवाइसी संचालकको मात्र हातमा नरहेको भन्दै अहिलेसम्म जुन समृद्धिमा लैजाने काम भयो, भोलीका दिनमा पनि सोही अवस्थामा राख्न संस्थापक र पदाधिकारीले लगानी बढाउनु पर्ने धारणा राखे ।
उक्त अवसरमा संस्थापकहरुको तर्फबाट गोपाल कुमार शर्मा, गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, देवहादुर श्रेष्ठ, बिमला गुरुङ, लक्ष्मण खड्का, पत्रकार मुकेश राजभण्डारी, किरण आचार्यलगायतले बोलेका थिए ।
सिवाइसी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षता, वीरबहादुर किसानको संचालन र लक्ष्मण खड्काको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । स्नेह मिलन कार्यक्रमले सिवाइसी समूहको दीर्घकालीन योजना बनाएर जिल्लामा अब्बल संस्था बन्ने निष्कर्ष निकालेको छ ।





