सामान्यतया रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई चाहिं मधुमेह अर्थात् चिनीरोग भएको भनिन्छ । हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ ।
यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसंग काम गर्ने सक्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा बढेपछि यसलाई हामी मधुमेह रोग लागेको भन्दछौँ । यसको समयमा सही उपचार हुन सकेन भने बिभिन्न जटिलताहरु निम्त्याउन सक्छ । विश्वमा करिब ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको अनुमान छ ।नेपालमा पनि मधुमेहबाट प्रभावितहरुको संख्या त्यही बराबर रहेको अनुमान छ ।
मधुमेह रोग लागेको थाह पाउने मापदण्ड के ?
सामान्यतया स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम या कुनै पनि बेला वा रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ ।
मधुमेह रोग लाग्यो भन्नलाई खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्नुपर्छ । योबीचको लेभल अर्थात् खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खाना पछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रिडायबिटिजको अवस्था अर्थात् मधुमेह हुने सम्भावना भएको अवस्था भनेर बुझ्नु पर्छ । मधुमेह रोग बालक, वृद्ध र बयस्क जुनसुकै उमेरमा लाग्न सक्छ
मधुमेह दुई किसिमको हुन्छ । टाइप वान (प्रकार एक) र टाइप टू (प्रकार दुई) । प्रकार एक वाला मधुमेह बच्चाहरुमा देखिन्छ । यो प्रकारको मधुमेहमा शरीरमा इन्सुलिनको उत्पादन बन्द नै हुन्छ । अर्थात् बाँच्नका लागि इन्सुलिन दिनैपर्छ । औषधिले काम गर्दैन । यो जन्मजात भन्न मिल्दैन जन्मेको केही बर्षपछि बच्चाहरुमा यस्तो अवस्था देखिन्छ ।
प्रकार दुई वाला मधुमेह अलि उमेर भएपछि देखिन्छ । तर, हिजोआजको जीवनशैली र खानपानका कारण कम उमेरमै पनि यस्तो देखिएको छ । अहिले बच्चाहरुमै मोटोपन बढेकोले प्रकार दुईवाला मधुमेह देखिन थालेको बताइन्छ । नेपालमा पनि यसको प्रभाव धेरै ठाउँहरूमा देखिन थालिसकेको छ ।
मधुमेहको लक्षण सबैमा देखिदैन
मधुमेह रोग पहिल्यै लक्षण देखिएर लाग्न पनि सक्छ, लक्षण बिना नै लाग्न पनि सक्छ । विभिन्न अनुसन्धानले के देखाएको छ भने मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेरै थाह पाउन सक्दैनन् । किनभने लक्षण नै हुँदैन् कतिपयलाई ।
पिसाव लाग्ने, पानी प्यास लाग्ने, खान बढी मन लाग्ने जस्ता जुन प्रमुख लक्षण भन्छौँ आधा जसोमा त्यो लक्षण नै हुँदैन । त्यसैले जति मधुमेहका रोगी छन् आधालाई रोग भएको थाह छैन भन्ने अनुमान छ । मधुमेहले महिला पुरुष भनेर भेदभाव गर्दैन । धनी गरीब, न त जात धर्म बर्ण, न उमेर र लिंग सबैमा यो रोग देखिन्छ । यदी समयमै सतर्कता अपनाइएन भने ।
मधुमेह हो भनेर चिन्ने लक्षण के के हुन् ? कसरी थाह पाउने त ?
मधुमेह रोगको लक्षणहरु हुन पनि सक्छ नहुन पनि सक्छ । केही लक्षणहरु यस प्रकार छन् ।
–खाना रुचेर पनि तौल घटदै जाने ।
–पिसाब सामान्यभन्दा धेरै पटक लाग्ने ।
–मुख सुख्खा हुने, प्यास धेरै लाग्ने
–भोक बढी लाग्ने तर दुब्लाउदै जाने
–कमजोरी हुने र खुट्टाहरु झम्झमाउने
–खुट्टाहरु पोल्ने
–पिसाबमा कमिलाहरु देखिने
–घाउहरु छिटो निको नहुने
धेरै जना अन्यौलमा हुनसक्छ की धेरै पटक पिसाव भनेको कति पटक हो ? सामान्यभन्दा बढी अर्थात् दिनमा दुई तीन पटक पिसाब हुन्थ्यो भने अब चाहिँ ८–१० पटक लाग्न थाल्यो भने मधुमेहको शंका गर्नुपर्छ । रातीमा पनि दुईतीन पटक उठ्न प¥यो भने शंका गर्नुपर्छ ।
हरेक स्वस्थ मानिसले बर्षमा एक पटक मधुमेहको जाँच गराउनै पर्छ
लक्षणको आधारमा यसको पहिचान सहज हुने भयो तर लक्षण नदेखिकन रोग लाग्यो भने समस्या पर्छ । त्यसैले हरेक स्वस्थ मानिसले बर्षको एक पटक रुटिन टेष्ट गराउनुपर्छ । हरेक व्यक्तिले ३० बर्षको उमेर कटेपछि बर्षमा एक पटक मधुमेहको जाँच गराउनुपर्छ ।
मधुमेह नियन्त्रण भएन भने के हुन्छ ?
मधुमेह भएर नियन्त्रणमा राख्न सक्नुभएन भने यसले धेरै अंगलाई असर गर्न सक्छ । टाउकोदेखि खुट्टासम्म त्यममध्ये प्रायः देखिने एउटा असर भनेको आँखामा हुने गर्छ । आँखाको पर्दालाई असर गर्छ । त्यहाँ असर गरेर रगत जम्छ । त्यसपछि त्यो आँखा च्यातिने र अन्धोपनमा हुन जाने हुन्छ । नेपालमा मधुमेहका कारणले हुनसक्ने अन्धोपनको सम्भावना २५ गुना बढी हुन्छ ।
अर्को असर मिर्गौलामा असर गर्छ । मिर्गौलाबाट प्रोटिन लिक गराएर मिर्गौला फेल हुने सम्भावना पाँच गुनाले बढ्छ । मुटु हृदयघात, मस्तिस्कघात हुने सम्भावना दोब्बर हुन्छ । पक्षघाते सम्भावन पनि धेरै नै हुन्छ । त्यसपछि खुट्टाको नसालाई समेत असर गरेर खुट्टाको घाउन निको नहुने र खुटामा काटनुपर्ने सम्भावना २० गुना बढी हुन्छ । व्यक्तिको यौन जीवनलाई पनि प्रत्यक्ष असर पर्छ । यी मुख्य हुन तर अन्य छिटफुट असरहरु भई रहन्छ । यसले पिसाबमा इन्फेक्सन हुने सम्भावना बढाउँछ । पिसाव वा निमोनियाहरु भईरहन्छ ।
अन्य संक्रमणहरु
पेटको समस्या भइरहने, कसैलाई झाडापखला, कसैलाई कब्जियत भइरहने हुन्छ । कसैलाई उल्टी भरहने । कसैलाई डिप्रेसन पनि ल्याउन सक्छ ।
यसकै कारणले कतिपयमा यौनइच्छामा कमी आउने या यौन दुर्बलता बढाउने सम्भावना पनि बढी हुन्छ ।
के कारणले हुन्छ मधुमेह ?
प्रकार दुई मधुमेह मुख्यतः दुई प्रकारले हुन्छ । एउटा बंशजको आधार अर्थात् परिबारको एक सदस्यलाई भयो भने त्यो जिनको आधारमा सन्तानहरुमा देखिने । यस्तो सम्भावना ५० प्रतिशत रहन्छ ।
अर्को भनेको जीवनशैली नै हो । त्यो भनेको मोटोपन नियन्त्रण हुन नसक्ने, व्यायममा कमी, खानपानमा गडबढी नै हो । चिल्लो गुलियो र क्यालोरी भएको खानेकुरा प्रमुख दुम्मन हुन् ।
बंषाणुगत समस्या भएपनि जीवनशैली सुधार्नु भयो भने नरहने सम्भावना पनि हुन्छ । तर, मेरो बंशजमा छैन भनेर जीवनशैली सुधारेन भने हुने सम्भावना बढि हुन्छ ।
मधुमेहका बिरामीले कस्तो खाना खानु पर्दछ ?
–कार्बोहाइड्रेट वा चिल्लो कम भएको खानेकुरा खानु पर्दछ । किनभने एचडिएल कोलेस्टेरोल बढी भएका तर एलडिएल कोलेस्टेरोल भने विल्कुलै न्यून भएका खानेकुरा खानु पर्दछ ।
–रेसा बढी भएका हरिया तरकारी, सागपात तथा फलफूल आदि खानेकुरा खानु पर्छ ।
–सबैजसोः फलफूल तथा मौसम अनुसारका फलफूल खानु पर्दछ ।
–दूधबाट बनेका खानेकुरा जस्तैः दूध, दही, मही, पनिर खानु पर्दछ ।
–पेय पदार्थमा उमालेको वा राम्ररी फिल्टर गरेको पानी मात्र पिउनु पर्दछ ।
–पशुजन्य खानेकुरामा माछा, रातोमासु खान सकिन्छ ।
–सुख्खा फलफूलमा काजु, किसमिस, ओखर, बदाम, फर्सीका बियाँ खानु राम्रो हुन्छ ।
मधुमेहका बिरामीले कस्तो खाना खानु हुँदैन ?
–बजारमा पाइने फास्टफुड र तारेका खानेकुरा खानु हुँदैन ।
–पानीको सट्टा कुनै पनि पेय पदार्थ पिउनु हुँदैन ।
–अधिक मसलायुक्त, गरिष्ठ र सजिलै नपच्ने खानेकुरा खानु हुँदैन ।
–सूर्तिजन्य र लागूपदार्थ सेवन गर्नु हुँदैन ।
–अधिक र हानिकारक मद्यपान गर्नु हुँदैन ।
बच्ने उपायहरु
- शारीरिक रुपमा सक्रिय रहने । जस्तैः हरेक दिन कम्तीमा ४५ मिनेट जति हल्का पसिना आउने गरी हिँड्ने वा योगा गर्ने । कुनै न कुनै रुपमा शारीरिक श्रममा सक्रिय भए पनि हुन्छ ।
- उचाइ अनुसार तौल कायम राख्न ध्यान दिने ।
- प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने ।
- चुरोट, बिडी, तमाखु, खैनी, जर्दा आदि सूर्तीजन्य पदार्थहरुको सेवन नगर्ने ।
- ४० वर्ष नाघेका मानिसले नियमित स्वास्थ्य परीक्षण गर्ने ।
- बच्चालाई दुई वर्षको उमेरसम्म आमाको स्तनपान गराउने ।
शारीरिक व्यायाम
सामान्य खानपान खानु नै राम्रो हो । तर, त्यसमा बिचार पु¥याउनुपर्छ । क्यालोरी भएको चिज अर्थात् भात, मैदा, आलु, गुलियो चिल्लोफ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ।
मधुमेहका बिरामी शारीरिक रुपमा सक्रिय रहनुपर्छ । हरेक दिन कम्तीमा ३० मिनेटदेखि १ घण्टासम्म हल्का पसिना आउने गरी हिँड्ने, खेतबारीमा काम गर्ने, साइकल चलाउने, पौडी खेल्ने जस्ता खेलकुद गतिविधिमा सहभागी हुने क्रियाकलाप नियमित रुपमा गरेमा मधुमेह नियन्त्रण हुने मात्र नभई तौल, उच्च रक्तचाप र रगतमा चिल्लोपना नियन्त्रण गर्न मद्दत पुग्छ ।




